Logo
Logo

यसरी गरिँदैछ फूलको अपमान !



प्रकृतिको अनुपम उपहार हो, फूल । सौन्दर्यको पूर्ण बखान । कल्पनाको संसार । धर्मकर्मको पर्यायवाची । प्रेमालापको अर्थ । स्वागतको विराट रूप । भावनाको भकारी । शुभकार्यको सुरुवात । जिन्दगीका रंगीन सपना । प्रेमको कोमल र प्रीतिकर । सुखदुःखका कथाव्यथा । जिन्दगीको एक प्रेरणादायी वनस्पति । घर र वातावरणको सजावट ।

फूलसँग मान्छेको भावना जोडिन्छ । आत्मा जोडिन्छ । रस जोडिन्छ । शृँगार जोडिन्छ । त्यसैले त हरेकलाई फूलको जीवन बाँच्ने रहर हुन्छ । फूल बन्ने सपना हुन्छ । समग्रमा भन्नुपर्दा जिन्दगी हो, फूल । अर्थात् जीवनको प्रतिक ।

फूल, सबैको प्रिय । काँडैकाँडाका बीचमा मुस्कुराएर आनन्दित पार्ने । टिपेर शीरमा सजाउँ–सजाउँ लाग्ने । फूलजस्तै बन्न मन लाग्ने । मुस्कुराउन लाग्ने । फूलको जिन्दगी कति प्रिय ! साउने झरीले रुझेपनि, चैत्र–बैशाखको हुरीमा पनि फूलेकै छ । मुस्कान बाँडेकै छ । सुवास छरेकै छ । त्यसैले त उसलाई जोकोहीले मन पराउँछ । मन्दिरमा चढाएर सम्मान गर्छ ।

त्यसैले त हामी जहाँ पनि फूलको प्रयो गर्छैँ । न्वारानदेखि शवयात्रासम्म । श्रद्धादेखि श्रद्धाञ्जलीसम्म । स्वागतदेखि बिदाइसम्म । कामको सुरुवातमा फूल । सफलतामा फूल । विजयोत्सवमा फूल । इन्गेजमेन्टमा फूल । विवाहमा फूल । खुशी भएको देखाउन फूल । प्रेम प्रकट गर्न पनि फूलकै गुच्छा । देउतालाई खुसी पार्न पनि फूल नै ।

नेपालीमा एउटा उखान छ– चिनी पनि बढी खायो भने तीतो हुन्छ । अहिले त फूल पनि त्यस्तै हुन थाल्यो । ‘अपराधी’लाई समेत फूलले स्वागत गर्न थालेका छन् । देउतालाई चढाइने फूलको मालाले ‘अपराधी’को गाला भरिन थाल्यो । जेलबाट छुट्नेलाई फूलमाला लगाइदिने होडबाजी ! जसले गर्दा फूलकै अपमान हुन थालेको छ ।

जेलबाट छुट्नेको गलामा माला

पल शाह– बलात्कारको आरोप लागेका अभिनेता पल शाह गत १६ गते तनहुँ जिल्ला कारागारबाट रिहा भए । उनी रिहा हुँदा उनका समर्थकहरु हातभरि फूलका माला लिएर जेलको ढोकैमा पुगेका थिए । साथमा अबिर पनि । विजयोत्सव मनाएजस्तै अनुहारभरि अबिर पोतिदिए । गलाभरि फूलको माला । भव्य स्वागत भयो ।

सन्दीप लामिछाने– बलात्कारै आरोपमा जेल पुगेका क्रिकेटर सन्दीप लामिछाने गत पुस २९ गते २० लाख धरौटीमा रिहा भए । पाँच कडा सर्तसहित कारागार बाहिरै बसेर मुद्दा लड्ने गरी अदालतले उनलाई रिहा ग¥यो । सन्दीप विजयी भाव देखाउँदै खादामाला लगाउँदै केन्द्रीय कारागारबाट रिहा छुटे ।

अरुणकुमार चौधरी– आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी गत ७ गते रिहा भए । उनलाई पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरे । विजयोत्सव मनाए !

कृष्णबहादुर महरा– जबर्जस्ती करणी मुद्दामा जेल पुगेका पूर्वसभामुख कृष्णबहादुर महरा २०७६ फागुन ५ गते रिहा भए । महारा रिहा हुँदा डिल्लीबजार कारागार बाहिर उनलाई तत्कालीन नेकपाका कार्यकर्ता एवं शुभचिन्तकले माला, खादा र अबिर लगाएर भव्य स्वागत गरेका थिए ।

श्यामसुन्दर गुप्ता– पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले व्यापारी पवन सांघाईलाई अपहरण गरी रकम असुली गरेका थिए । गुप्ता तीन वर्ष जेल बसेर २०७२ साउन २ गते छुटे । त्यसबेला उनका कार्यकर्ता र शुभचिन्तको तामझामका साथ विजयोत्सव नै मनाएका थिए ।

बालकृष्ण ढुंगेल– ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेल २०७५ जेठ १५ गते रिहा भए । रिह हुँदा उनलाई फूलमाला र अबिरले स्वागत गरियो । तत्कालीन नेकपाका नेता देवेन्द्र पौडेलले पार्टी कार्यालय पेरिसडाँडामा लगेरै उनलाई स्वागत गरेका थिए । २०६१ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर भएका ढुङ्गेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । तर, सरकारले असल चालचलनको भएको भन्दै गणतन्त्र दिवसको अवसरमा कैद माफी दिएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार कारागारबाट रिहा हुँदा पनि उनी फूलमालामा नै सजिएका थिए । हालका गण्डकी प्रदेशमा सांसद दीपक मनाङ्गे पनि गुन्डागर्दी तथा सम्पत्ति शुद्धिकरणमा जेल परेका थिए ।

यी त भए केही प्रतिनिधिपात्र मात्रै । जेलमुक्त हुँदा सार्वजनिक बिदा दिने स्थानीय जनप्रतिनिधिहरू पनि छन् । र, पछिल्लो समय अपराध गरेर जेल जीवन बिताएपश्चात रिहा हुँदा सम्मान स्वरूप दिने प्रचलन बढ्दो छ ।

कानुनी राज्यमा कानुन सर्वोपरि हुनुपर्ने हो । तर, राजनीतिले गाँजेको हाम्रो मुलुकमा हरेक घटनालाई राजनीतिक ढंगले हेर्ने परिपाटीको विकास भएको छ । आफूलाई मन परेको मान्छेलाई भगवान बनाइन्छ । सही र गलत छुट्याउँदैनन् ।

अदालतमा चलिरहेको मुद्दाका दोषीलाई समेत एकपक्षीय रूपले मात्रै हेर्दै फूलमाला र अबिरले सम्मान गर्दै हौसला दिने परिपाटी छ । सुनपानी छर्किने चलन छ ।

सन्दीप धरौटीमा रिहाइ हुँदा लागेको भिड होस् या पल जेलमुक्त हुँदाका भिड नै किन नहोस्, जसले पीडकलाई समर्थन र पीडितलाई झनै पीडा दिइरहेका छन् । यसले समाजमा अपराध गर्नेलाई थप प्रोत्साहन मिलेको छ ।

कोही यस्ता अभियन्ता छन् । र, केही कार्यकर्ता । उनीहरु अपराधीलाई निर्दोष साबित गर्न तल्लीन छन् । र, पीडितलाई थप पीडामा पार्ने अभियान चलाइरहेका छन् । अभियन्ता र राजनीतिको आडमा कानुनको धज्जी उडाइरहेका छन् ।

अपराधी ठहरिएर जेलजीवन बिताएर निस्कँदा, बलात्कारको आरोपी जेलमुक्त हुँदा वाहवाहीका साथ फूलमालाले स्वागत गर्छन् । जसको गलामा फूलमाला देख्दा ती सुन्दर फूलहरूको अपमान भएको महसुस हुन्छ । अपमान मात्रै होइन, हत्या नै भएझैँ लाग्छ ।

कसैलाई फूल दिन् भनेको सम्मानका लागि हो । तर परम्पराको उल्टो अपराधी जेलबाट छुट्दा सम्मान दिइन थालिएको छ । त्यसैले फूलको अपमान त गरिरहेको छैनौँ ? बिना प्रायोजन र बिनायोगदान कसैलाई माला लगाइदिएर कृपया फूलको अपमान नगरौँ ।

प्रतिक्रिया दिनुहोस्