Logo
Logo

विराटनगरमा छठ पर्वको रौनक


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १५ कातिक । प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् ।
विराटनगरमा परापूर्वकालदेखि नै सिंघिया नदी र पिछडास्थित नहरमा हजारौँ संख्यामा भक्तालुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ ।
पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठ पूजाको विधि शुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ ।
छठ पूजाका लागि भक्तालुहरुले चाहिने सामग्री घ्यू, चिनी, नारिवल, उखु, पिठो, बाँसबाट बनेका कनिया, ढकिया खरीद गर्न व्यस्त देखिएका छन् । आज साँझमा भक्तालुहरुले खीर खाएर एकैपटक आइतबार उदाउँदो सूर्यको पूजा गरेर मात्र खाने परम्परा छ । विगतमा मधेशी समुदायले मात्र मान्ने छठ अहिले सबैले मान्ने गरेको स्थानीय युवा दिनेश साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्