Logo
Logo
रिपोर्ताज

डा अवनिभूषणले ल्याए ‘सुनको काइँयो’



विसं २०७९ फागुन २७ गते शनिबार । होटेल मेरियट, नक्साल । एक सभाकक्ष परिसरमा केही डाक्टर, साहित्यकारहरूको सलबल थियो ।

आयोजक इदा उपाध्याय, मातापिता शशीशङ्कर रिमाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको उपस्थिति अपराह्न १ बजे अगावै थियो ।

नन्दीकेशर बगैँचाका शशीशङ्करलाई होटेल त छिमेकी भइहाल्यो । त्यतैका साहित्यकार–कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, गीतकार तथा टाढाका अवकाशप्राप्त जर्नेल राजेन्द्र थापा अनि अलि टाढाका विमल भौकाजी, गगनदीप सर्व, पत्रकार–लेखक तीर्थ भट्टराई र अन्य मूलधारका मिडियाका समाचारदाता पनि आइपुगेका थिए ।

डा अरुण सायमी, डा प्रदीप यादवलगायत अन्य चिकित्सक राम्रै सङ्ख्यामा थिए । सभाकक्ष पुग्नुपूर्व यत्रतत्र ‘मुटुसँग सहयात्रा’ भन्ने ब्यानर झुन्ड्याइएको थियो । वातावरण डाक्टरमय थियो, पुस्तकमय थियो । पाहुनालाई चिया, कफी, बिस्कुटले सुरुमै स्वागत गरिएको थियो ।

अपराह्न १ बजे भनिएको ‘डा अवनिभूषण उपाध्यायद्वारा लिखित मुटुसँग सहयात्रा लोकार्पण समारोह’ डेढ बजेपछि मात्र सुरु भयो । टेलिभिजन प्रस्तोता आरती चटौत रहिछन् उद्घोषिका ।

उद्घोषक वा सञ्चारकर्मीले बढी फलाक्ने रोग उनमा पनि देखियो । उनले एक मुटुरोगका डाक्टरले गरेको चार दशकको सङ्घर्ष र उनले परिवर्तन ल्याउन गरेको योगदान कृतिमा समेटिएको पृष्ठभूमि दिइन् अनि मञ्चमा डा मृगेन्द्रराज पाण्डे, डा सुरेशराज शर्मा, पूर्वसचिव रामचन्द्रमान सिंह, नेपाल हार्ट फाउन्डेसनका पूर्वाध्यक्ष डा प्रचण्ड प्रधान, डा पुष्करराज रेग्मी, साहित्यकार दिनेश अधिकारी, कृति सम्पादक लक्ष्मण अधिकारी र प्रकाशक इदालाई मञ्चमा बोलाइन् र दोसल्ला ओढाएर सम्मान गर्न लगाइन् ।

चटौत भन्दै थिइन्, ‘डब्ल्युएचओले भर्खरै दिएको रिपोर्टअनुसार अब धेरै मानिसको मृत्यु नुनबाट हुन्छ ।’ अनि आयोजक तथा कवि एवं ‘हुलाकी’ लघुकथा सङ्ग्रहका सम्पादक इदा उभिन् जसले तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गरेर आउने पहिलो नेपाली चिकित्सक डा उपाध्यायसँग यही फागुन २५ गते मात्र विवाहको ४०औँ वर्षगाँठ मनाएकी थिइन्, कृतिले एक डाक्टरको व्यावसायिक जीवन मात्र नभएर नेपालको स्वास्थ्य अवस्थाको चित्रण पनि गर्छ ।

मुटुरोग नियन्त्रण गर्ने यस यात्रालाई जीवित राख्नुपर्छ । नयाँ पुस्तालाई ऊर्जा र प्रेरणा दिन नै कृति लेखिएको र प्रकाशन गरिएको हो ।

उनको पालो सकिएपछि फेरि उद्घोषिका बोल्न थालिन्, ‘नेपालमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने मुटुरोग उपचार पद्धति छ । नेपालमा हृदयाघात बढ्दो भए पनि उपचार राम्रो छ । समयमै उपचार गरेमा ८० प्रतिशत रोग रोकथाम गर्न सकिन्छ । यसमा निजी क्षेत्रले पनि योगदान गरेको छ । जसले राष्ट्रलाई ६० प्रतिशत कर तिर्छ । पहिले धनी र पुरुषलाई मात्र लाग्ने भनिएकामा अहिले सबैलाई यो रोग लाग्छ ।’

नेपालमा मुटुरोग उपचार सेवाको सुरुआतकर्ता डा पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा शर्माले पानसमा बत्ती बालेर विधिवत् समारोहको उद्घाटन गरे ।

अनि पालो आयो सम्पादक अधिकारीको । आफूले सम्पादन गरेको छैटौँ कृतिमध्ये जीवनीपरक कृतिमा यो पाँचौँ स्तरीय कृति भएको जिकिर गर्दै यसमा लेखकले आफ्नो जीवनयात्रा र नेपालको स्वास्थ्य पक्ष उजागर गरेको तथा विसङ्गतिहरू पनि औँल्याउँदै सुधारका बुँदा पस्केको बताए ।

जीवनी पुस्तकहरू इतिहासको केही हदसम्म स्रोत हुने बताउँदै उनले हरेक व्यक्तिले आत्मजीवनी लेख्नुपर्ने र त्यसमा इमान्दारी हुनुपर्नेमा जोड दिए ।

उद्घोषिकाले वीर अस्पताल मेडिकल विभाग र मुटुरोग एकाइका प्रमुख पनि रहेर काम गरिसक्नुभएका लेखकको २० वर्ष पहिले र अहिले पनि स्वभावमा परिवर्तन नआएको र फलेको वृक्ष झुकेसरी झुक्ने स्वभाव भएको बताइन् । अनि कृति लोकार्पण भयो डा पाण्डे र डा शर्माबाट ।

मूल्य रहेछ हार्ड कभरको रु १,१७५ र साधारणको रु ६७५ । ताली अलि पुगेन भन्दै अरू ताली पनि माग गरिन् उद्घोषिकाले ।

साहित्यकार दिनेशको पुस्तक समीक्षाको पालो आयो । उनले भने, ‘आज हामी अवनिउत्सव मनाउँदै छौँ ।’ कृति मुटुरोगको उपचारमा भएका महत्त्वपूर्ण उपलब्धिको अभिलेख भएको जनाउँदै उनले (जनकपुरमा) खुला पोष्टमर्टम गरिएको, मानिसलाई डस्ने सर्प बोकेर ल्याइएको, विसं २०५५ मा राजा वीरेन्द्रलाई भएको मुटुरोगको उपचार, राजपरिवारका अन्य सदस्यको उद्दण्ड स्वभाव, जनकपुरमा डाकाहरूसँगको सम्बन्धका विषयमा चर्चा गर्दै उदयपुरमा चितुवाको आक्रमणमा परेकाहरूको उपचार, एक मन्त्रीले अस्पतालको शय्या नै घर लगेको, ४६ सालको आन्दोलनमा भएको सहभागिताबारे चर्चा गरे ।

वीर अस्पतालमा मुटुरोग एकाइ स्थापना, ओपन हार्ट सर्जरी, हार्ट फाउन्डेसन, कार्डियाक हस्पिटल, गङ्गालाल हृदयरोग केन्द्र स्थापना गर्दा जग्गा प्राप्तिको सङ्घर्ष र अनेक तिकडम, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना जस्ता मुटुरोग उपचारको विकास र विस्तारमा आफैँ खटिएर डा उपाध्यायले योगदान गरे पनि वीर अस्पतालमा बढुवा नहुँदा राजीनामा गरेको कुरा कृतिमा उल्लेख भएको बताए ।

‘चिकित्सा पेसा जस्तो हाडे ओखरको कामबाट गुदी झिकेर लेखकले आउने पुस्तालाई दिएका छन्’, पूर्व स्वास्थ्यसचिव अधिकारीले भने । उनले पुस्तकमा भएका केही कमजोरी भने लेखकलाई आफूले छुट्टै सुनाउने बताए । सायद त्यो विषय केही तस्वीरसँग सम्बन्धित थियो ।

अधिकारीका अनुसार सन्् १९७८ मा रुसी नोबेल पुरस्कार विजेता तथा म्यास्निकोभ इन्स्टिच्युट अफ कार्डियोलोजी (पिजी) का गुरु इभगेनी चाजोभले रुसी राष्ट्रपति लियोनिद ब्रेजनेभसँग भेटाउँदै डा उपाध्यायलाई नेपालको चाजोभ बनाउने कुरा बताएका रहेछन् ।

उनकै प्रभावशाली व्यक्तित्वबाट स्थापना भई अहिले राम्रो सेवा प्रदान गरिरहेका संस्थामध्ये सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मेडिकेयर अस्पताल र नेपाल हार्ट फाउन्डेसन प्रमुख हुन् । केन्द्रको प्रतीकचिह्न बनाउने कलाकार पनि डा उपाध्याय पो रहेछन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका सदस्य डा प्रधान (कृतिका भूमिकाकार पनि हुन्ः ‘जीवनयात्राका महत्त्वपूर्ण झलकहरू’)ले जुद्धोदय पब्लिक हाइस्कुलका प्रधानाध्यापक अम्बिकाप्रसाद उपाध्यायले छोरा अवनिलाई सेन्ट जेभियर्स स्कुलमा भर्ना गराउन लग्दा त्यहाँका एक शिक्षकले अशुद्ध अङ्ग्रेजी बोलेकाले छोरालाई जेपीमै भर्ना गराएको जानकारी दिए ।

छयालीस सालमा गणेशमान सिंहको वक्तव्य बाहिर ल्याउन भूमिका खेलेका डा उपाध्यायले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी भारत भ्रमणमा जाँदा स्वास्थ्यका कारणले कतिपय विषयमा हस्तक्षेप गरेको उल्लेख गरे । उनलाई त पुस्तकको शीर्षक नै मीठो लाग्यो तथा लेखनशैली घतलाग्दो, ठट्यौलो र चाखलाग्दो भयो ।

उनले एक पटक एक बिरामीले इन्डोस्कोपी गर्दा चस्मा फुट्ने गरी डाक्टरलाई चड्कन हानेको र अर्का एक बिरामीले आफ्नो नाडी छाम्न नदिएको कुरा कृतिमा रहेको जानकारी पनि दिए ।

उनका अनुसार डा उपाध्याय बढ्दो मुटुरोगबाट मानिसलाई बचाउन सुरुदेखि लागेको तथा वीर अस्पतालको स्तरवृद्धि, विश्व मुटुरोग सङ्घको सदस्यका रूपमा नेपाल हृदयरोग प्रतिष्ठान स्थापना, मुटुरोग अस्पताल सञ्चालन जस्ता काम गरे पनि १७ वर्षसम्म आफ्नो बढुवा नहुँदा खिन्न भई राजीनामा गर्न बाध्य भएका थिए ।

अर्का पूर्वस्वास्थ्यसचिव तथा पुस्तकका भूमिकाकारमध्येका रामचन्द्रमान सिंह (‘अथक यात्रा–एक मुटुरोग विशेषज्ञको’)ले डा अवनिसँग बोल्दा नै आधारोग निको हुने जनाउँदै विमोचित कृति नेपालमा मुटुरोग उपचारको आधिकारिक दस्तावेज भएको बताए । उनका अनुसार सन् १९६२ (विसं २०२९ तिर) डा पाण्डेका पालामा पाटन अस्पताल, शान्त भवनमा ६ महिनामा एक मुटुरोगी उपचारका लागि आउने गरेकामा अहिले नेपालमा सयौँ आउने गरेका छन् ।

कृतिमा नेपालमा मुटुरोग उपचारको थालनी भएको ६ दशकको इतिहासमा चार दशकको अवधि समेटिएको र सरकारी–निजी क्षेत्रको सहकार्य र समन्वयबारे राम्रो सम्बोधन गरिएको, चिकित्सक र बिरामीको सम्बन्ध उजागर गरिएको, राजनीतिले स्वास्थ्य क्षेत्रलाई तौबा बनाएको उल्लेख हुनाका साथै जागरण र प्रेरणाका कुरा पनि आएको छ ।

उनले कृतिमा समाविष्ट तस्बिरमा सबैमा मिति नभएको, पारिवारिक विषय अलि कम आएको तथा पुनरुक्ति र क्रमसङ्गति तलमाथि भएको भनी टिप्पणी पनि गरे ।

अर्का भूमिकाकार डा प्रकाशराज रेग्मी (‘एक नेपाली डाक्टरको जीवनकथा’)ले कसैको चाकडी नगरेको र राजनीतिक दलको सदस्य नभएकाले उनलाई लाभको पदमा नियुक्ति नदिइएको जनाउँदै उनको मुटुदेखि अभिवादनका साथ खुलेर प्रशंसा गरे ।

उनले लेखकले तीन छोरी हुँदाहुँदै ५० वर्षदेखि गर्भमा राखेको वस्तु आज बल्ल बाहिर आएको र त्यो मोटोघाटो, सुन्दर र हृष्टपुष्ट भएको जनाए ।

धेरै वर्षअघि ‘मुटुको ढुकढुकी’ पत्रिका प्रकाशन गर्दा आफूले ज्वाला र डा उपाध्यायले अर्कै उपनामबाट लेख्ने गरेकामा उपाध्यायको लेखनमा निकै घोचपेच हुने गरेको स्मरण गराए ।

विसं २०४४ देखि मित्रता गरेका डा उपाध्यायको लेखन अत्यन्त इमान्दारीपूर्वक लेखिएको र त्यो सय प्रतिशत सत्य भएको जिकिर गरे । डा रेग्मीले भने, ‘मुटुरोगको उपचारमा डा उपाध्यायले ‘सुनको काइँयो’ उपलब्धिका रूपमा ल्याएका हुन् तर उनको आफ्नै कपाल भने छैन । कृतिको नयाँ पुस्ताले उपयोग गर्नुपर्छ । यसको अनुसरण र पालना गर्न सकेमा पुस्तक र डा अवनिको योगदान सफल भएको मानिन्छ । मुटुरोग क्षेत्रको बाँकी काम पुनःस्थापनाका लागि पनि मिलेर काम गरौँ ।’

तस्बिरहरूमा आफूले नै आफूलाई नचिनेको र एक समाजसेवीको पुस्तक मूल्य रु ६७५ महँगो भएको टिप्पणी पनि डा रेग्मीले गरे ।

पुस्तक विमोचक डा शर्माले केही महिनाअघि डा लोकविक्रम थापाको ‘मुटुको कथा’ लोकार्पणको स्मरण गर्दै अहिले दक्षिण एसियामा नै मुटु, आँखा र मिर्गाैला उपचारमा नेपालले राम्रो गरेको तथा कोभिडमा पनि हामीले धेरै क्षति भोग्नु नपरेको तथा सरकारी र निजी अस्पताल, मेडिकल कलेज, टिचिङ हस्पिटलमा नेपालले राम्रो गरेको र विदेशीसमेत उपचारका लागि नेपाल आउने गरेकामा सन्तोष व्यक्त गर्नुभयो । समारोहका विशिष्ट अतिथि डा शर्माले राजनीतिक दृष्टिकोणले मात्र आफूहरू छट्पटाएको र त्यो पनि राम्रै होला भनी आशा व्यक्त गरे ।

अर्का विशिष्ट अतिथि डा पाण्डे भने अनौपचारिक ढङ्गले नै बोल्न थाले । टोपी र चस्मा फुकालेर बोल्न थालेका उनको हातमा रहेको माइक नै अर्कातिर फर्केको हुन्थ्यो । कुराको सिलसिला नमिलेर हो कि श्रोतालाई उनको कुरो बुझ्न गाह्रो भयो । आफूहरूले काठमाडौँका छैमले र सुन्दरीजल तथा जुम्लासम्म पुगेर मुटुरोगको स्वास्थ्य शिविर चलाएको उनले स्मरण गराए ।

नब्बेको हाराहारीमा पुगेका उनले विसं २०५५ मा डा अवनिसँगसँगै तत्कालीन राजा वीरेन्द्रलाई हर्ट अट्याक हुँदा नागार्जुन दरबारमै गएर सात–आठ दिन उपचार गरेको र राजाकै सुझावमा बल्ल बेलायत लगिएको जानकारी गराए । गफै गफ गर्दै उनले मृगेन्द्र सम्झना गुठीबाट मुटुरोग उपचारका लागि रु ४० लाख प्रदान गरेको जानकारी दिएर भनाइ टुङ्ग्याए ।

विवाहकै जस्तो मालामा सजिएका लेखक डा उपाध्यायले उतारचढावपूर्ण र सङ्घर्षमय जीवनका अवरोध र कठिनाइका कथालाई श्रीमती र सन्तानहरूको ढाडसबाट पुस्तकका रूपमा उतारेको बताए । यसमा अस्पतालहरूको विकास र परिवर्तनका कुरा अझै नआएको हुन सक्ने पनि स्विकारे । फोटो सेसन र होटेलको गतिलै जलपानले ‘मुटुसँग सहयात्रा’ समारोह टुङ्गियो ।

प्रतिक्रिया दिनुहोस्