Logo

‘म स्वस्थ छु’


Published On : 5 November, 2019

– शम्भु श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनुहुन्छ, यो नौलो कुरा होइन । एघार वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति देश र जनताका लागि निरन्तर सक्रिय हुनु भनेको ठूलो कुरा हो । यसलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ । उच्च मनोबल र सकारात्मक सोचकै कारण शरीरमा रोग पालेर पनि दिनरात उहाँ देशकै काममा जुट्नुभएको छ र भन्नुहुन्छ– ‘म स्वस्थ्य छु ।’ सिंगापुरबाट फर्कँदा होस् वा टिचिङ अस्पतालको बेडबाट डिस्चार्ज हुँदा, जहिले पनि उहाँ पत्रकारसामु हँसिलो मुहारमा प्रस्तुत हुनुहुन्छ र भन्नुहुन्छ– ‘अब म ठिक भएँ ।’ उहाँको यही आत्मबल सबैका लागि प्रेरणाको स्रोत हो । मदन भण्डारीले भन्नुभएजस्तै ‘राजनीतिमा ओलीले कहिले पनि थकाई’ भन्ने शब्द प्रयोग गर्नु भएन । चौध वर्षको कठोर जेल जीवन, त्यसभन्दा अगाडिको भूमिगत जीवन र अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका ओलीले अहिले पनि महत्वपूर्ण काम गरिरहनुभएको छ । मन्त्रिपरिषद्को बैठक नियमित बसिरहेको छ । पार्टीको बैठक नियमित बसिरहेको छ । यो काम उपचारसँगसँगै हुनुलाई सबैले आश्चर्यका रुपमा हेरिरहेका छन् ।

शम्भु श्रेष्ठ

उहाँ उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा जन्डिस रोगबाट ग्रस्त हुनुभएको थियो । तै पनि उहाँले आराम लिनु भएन । पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्नुभयो । पोखरामा कार्यकर्ता भेला सकिएपछि उहाँले दिवाभोजको साटो मुला, काक्रो, गाँजरलगायतका फलफूल खानुभयो । त्यही खानामा भएको जीवाणु उहाँको मिर्गौलामा संक्रमण भयो । उहाँ आफैँ भन्नुहुन्छ– विज्ञानले उहाँलाई नयाँ जीवन दियो । उहाँसँग काम गरेर देखाउने समय छैन । त्यसैले भोलि गरौँला भन्ने शब्द उहाँलाई मन पर्दैन । एक्सन ओरियन्टेड नेता भएकोले होला, आफूले सोचेका काम आफ्नै जीवनमा गरेर देखाउन पाए सन्तुष्टि हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । हुन पनि भारतीय नाकाबन्दीमा मुर्छित नेपालीको सपनालाई ब्युँताउने काम उहाँले गर्नुभयो । माओवादीसँगको पार्टी एकता, दुईतिहाइको बहुमतको सरकार र चीनसँग भएका पछिल्ला सम्झौताले ‘सुखी नेपाली, समृद्ध नेपाल’को ढोका खोलेको छ ।

तर दुर्भाग्य, उहाँको रफ्तारमा उहाँका मन्त्रीहरु, सचिवहरु, कर्मचारी र सिंगो कार्यकर्तापंक्ति कुद्न सकेका छैनन् । कहिलेकाहीँ लाग्छ, उहाँ एक्लै कुदिरहनुभएको छ । उहाँका अगाडि पछाडि बस्नेहरु उहाँसँग कुदेको अभिनय मात्र गरिरहेका छन् । जसका कारण तथ्यांकले देश समृद्धितर्फ अगाडि बढेको देखिए पनि व्यवहारमा संकट झन् गहिरिँदै गएको अनुभूति जनताले गरिरहेका छन् । होला, विश्व बैंकले नेपालमा लगानीको सकारात्मक वातावरण बनेको रिपोर्ट दियो । हामी त्यसैमा दंग छौँ । तर, तीसौँ वर्षदेखि लगानी भएका क्षेत्रले अझै किन परिणाम दिनसकेको छैन भन्ने समीक्षा हामीले गरेका छैनौँ । विश्व बैंकले भन्दैमा नेपालमा लगानी ओइरिने होइन, लगानीका लागि हामीले कस्तो वातावरण तयार ग¥यौँ भन्ने प्रमुख कुरा हो । व्यवस्था फेरियो, अवस्था फेरियो, सरकार फेरियो, तर हाम्रो चिन्तन, सोच र व्यवहार जस्ताको तस्तै छ । त्यसैले प्रधानमन्त्री ओलीलाई तथ्यांकको घोडामा कुदाएर गन्तव्यमा पुगिँदैन । गन्तव्यमा पुग्न जननेता मदन भण्डारीले भनेझैँ कति कुद्यौ भन्ने कुरा पछाडि फर्किएर पनि हेर्नुपर्छ । अनि मात्र अगाडिको दूरी तय गर्न सकिन्छ ।

जहाँसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर चिन्ता गर्नेहरुले अब ओलीले के गर्लान् भन्ने प्रश्न छ, त्यसमा कोही पनि कुहिरोको काग बन्नु हुँदैन । ओलीले आफ्नो जीवनमा जे जति काम गर्नुभएको छ, त्यो सोच, विचार गरेरै गर्नुभएको छ । त्यसैले पार्टी एकता, नेतृत्व हस्तान्तरण जे जस्ता सहमति गरेर पार्टी र देशलाई उहाँले यो ठाउँसम्म पु¥याउनुभएको छ । त्यो भन्दा अगाडि पु¥याउन पनि उहाँ प्रतिबद्ध र इमान्दार हुुनुहुन्छ भन्ने मेरो बुझाई हो । त्यसमा कुनै शंका छैन । अहिलेलाई यति ।

प्रतिक्रिया दिनुहोस्