Logo
Logo

महासंघमा शेखर गोल्छाको बाटो खुल्यो


- दृष्टि न्युज/संवाददाता


नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्ने कि नगर्ने भन्ने भन्दा पनि संशोधित विधान कहिलेदेखि लागू गर्ने भन्ने विवाद चर्किएपछि विधान संशोधनका लागि कात्तिक २८ गते बोलाइएको बैठक अलपत्र परेको छ ।

विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गरिनुपर्ने एजेण्डामा सबैको सहमति भए पनि प्रत्यक्ष निर्वाचित अध्यक्षको निर्वाचन कहिलेदेखि लागू गर्ने भन्ने विवाद महासंघमा चुलिएको थियो । यस विषयमा सात जना पूर्वअध्यक्षहरुले आफ्नो धारणा राख्दै अहिले विधान पास भए पनि त्यो विधान तीन वर्षपछि मात्र लागू गर्ने अडान लिएका थिए । यसैबीच पूर्वअध्यक्ष पशुपति मुरारकाले विधान संशोधनको प्रक्रिया नमिलेको र प्रक्रियागत ढंगबाट मात्र विधान संशोधन गर्न आग्रह गरेपछि विधान संशोधन समितिका संयोजक चण्डीराज ढकाल पछाडि हटेका छन् ।

महासंघ स्रोतका अनुसार, अहिले विधान संशोधन गर्ने र त्यही विधानअन्तर्गत आगामी चैतमा महासंघको अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने कुरामा महासंघका पदाधिकारीहरुबीच सहमति भए पनि पछिल्लो समय अध्यक्ष भवानी राणासमेत यसको विपक्षमा उभिएपछि ढकालको रणनीतिले हावा खाएको छ ।

चण्डीराज ढकालका अनुसार अब विधान संशोधन समितिको बैठक बस्न पनि समय छैन । किनभने, संशोधित विधान प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्को बैठकले पास गर्नुपर्ने हुन्छ । विधान समितिको बैठक नै अनिश्चित भएपछि के को विधान संशोधन गर्ने ? ढकाल प्रतिप्रश्न गर्छन् । यस्तो अवस्था किन सिर्जना भयो भन्ने दृष्टिको प्रश्नमा ढकाल भन्छन्– पहिला सबैले हुन्छ भने र मेरो संयोजकत्वमा विधान संशोधन समिति बनाइयो, अहिले सबैले धोका दिए । अब विधान संशोधन कहिले हुन्छ त भन्ने अर्को एक प्रश्नको उत्तरमा ढकाल भन्छन्– के एउटा व्यक्तिलाई अध्यक्ष बनाउन र नबनाउन विधान संशोधन गर्ने हो र ? त्यो त संगठनको आवश्यकताअनुसार योग्यता, क्षमता हेरेर प्रतिस्पर्धाको माध्यमबाट अध्यक्ष बनाउन पो विधान संशोधनको कुरा उठेको हो । ढकाल भन्छन्– अब त विधान संशोधन गर्छु भनेर भन्यो भने पनि मैले मान्दिनँँ ।

महासंघभित्र विधानको विषयलाई लिएर विवाद चर्किएपछि आगामी चैत २८–२९ गते हुने साधारणसभालाई अहिलेकै विधानले निरन्तरता दिनेछ । अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्नेछन् । तीन वर्ष अगाडि ढकालकै पहलमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउन विधान संशोधन गरिएको थियो । सोही विधानबमोजिम भवानी राणा अध्यक्षमा चुनिएकी थिइन् । तर, तीन वर्षपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई नेतृत्वमा आउन नदिने नियतले विधान संशोधनको मुद्दा उठाइएपछि त्यसका विरुद्ध पूर्वअध्यक्षहरु पद्म ज्योति, महेशलाल प्रधान, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपकुमार श्रेष्ठ र सुरज वैद्य त्यसको विपक्षमा उभिएका थिए । महासंघको इतिहासमा पूर्वअध्यक्षहरुले निर्णायक भूमिका खेल्ने गरेको इतिहास छ । महासंघको सम्पत्ति र गौरवमय इतिहास भनेको पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्