Logo
Logo

मुटुरोगीलाई निःशुल्क उपचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक । विश्वका दुई सयभन्दा बढी देशमा सञ्जाल फैलाएको रोटरी इन्टरनेशनलको अध्यक्षमा सन् २०२१–२०२२ को कार्यकालको लागि रोटरी क्लब, कोलकोताका शेखर मेहता मनोनयन भएका छन् ।

शेखर मेहता कोलकोतामा आफैँले स्थापना गरेको रियल स्टेट कम्पनीका अध्यक्ष पनि हुन् । उनी अप्रेशन आईसाइट युनिभर्सल (भारत) क्यानाडाका डाइरेक्टर पनि हुन् । उनले सन् २००४ मा भारतमा सुनामी जाँदा घरबारविहीन ५०० परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गर्न सहयोग गरेका थिए । मेहताले दक्षिण एशियामा १५ सय मुटुरोगीको सर्जरीमा सहयोग गरेर मानिसको अमूल्य जीवन बचाउन सहयोग गरेका छन् ।

हालै उनी नेपालको रोटरी क्लब डिष्ट्रिक ३२९२ को गभर्नर किरणलाल श्रेष्ठको निम्तोमा काठमाडौं भ्रमणमा आएका थिए । उनले द्वारिकाज होटलमा पत्रकारसँगको भेटमा १४ वर्षमुनिका मुटुरोगीहरुलाई भारतमा निःशुल्क उपचार गरेको बताए । उनले भारतमा रोटरीको सहयोगमा ‘हर्ट सर्जरी’ गरिएकोले धेरै विपन्न र गरिब परिवारका बालबालिकाको पुनःजन्म भएको बताए । उनले भने– जतिसुकै रकम खर्च भए पनि १४ वर्षमुनिका बालबालिकालाई मुटु उपचारमा सहयोग गरेका छौँ । नेपालमा पनि विपन्न, गरिब परिवारका बालबालिकालाई निःशुल्क मुटुको उपचार गरिदिने घोषणा गरे ।

यसका साथै उनले आगामी वर्ष नेपालमा बाल कुपोषण, साक्षरता, मातृत्व संरक्षण गरिबी निवारणको परियोजनाहरुका लागि एक अर्बभन्दा बढी सहयोग हुने कुरा बताए । मेहता दम्पतीलाई रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर श्रेष्ठको नेतृत्वमा हायात होटलमा रथारोहणसहित भव्य स्वागत र सम्मान गरेको थियो । नेपाललाई माया गर्ने मेहता विश्वको आधा देशभन्दा बढी भ्रमण गरेका छन् । तर, उनलाई नेपालीको आत्मीयता र प्राकृतिक सौन्दर्यले जहिल्यै पनि लोभ्याउने गरेको छ । उनी भन्छन्– ‘पोखराजस्तो मनमोहक ठाउँ विश्वमा कहीँ पनि देखिनँ । नेपालीजस्तो मेहेनती र हँसिलो मुहार कहीँ पनि भेटिनँ ।’ आशा गरौँ, उनको कार्यकालमा रोटरी इन्टरनेशनलबाट नेपालले धेरै फाइदा लिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्