Logo
Logo

उच्च मनोबलका साथ ओली


- दीपेश केसी


  • दीपेश केसी

सायद चिकित्सा क्षेत्रमा यो अध्ययनको विषय पनि हुनसक्छ, केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १२ वर्ष बितिसक्दा पनि देशको प्रधानमन्त्रीका रुपमा सक्रियतापूर्वक काम गरिरहेका छन् । त्यो पनि उमेरले ६७ वर्ष कटिसकेपछि । बेला बेलामा स्वास्थ्योपचारका लागि अस्पताल पुगेपनि ठमठम हिंड्दै फर्किएको देखापर्छन् । उनको स्वास्थ्यका बारेमा अनेकन टिकाटिप्पणी हुन्छ । उनी सबैलाई छक्क पार्दै अस्पतालबाट मुस्कुराउँदै र हात हल्लाउँदै निस्कन्छन् । यसरी नै ओली सक्रिय छन् र कहिलेसम्म हुन्छन् भन्ने चासोको विषय बन्न थालेको छ ।

सामान्य परिवारमा जन्मिएका ओलीको जीवन जति संघर्षले भरियो राजनीतिक यात्रा उत्तिनै कठिन रहँदै आएको छ । जस्तोसुकै कठिनाईका बाबजुद उनले हरेस खाएनन् बरु संघर्षलाई रोजे । संघर्षसँग नडराउने स्वभाव र बलियो आत्मबलका कारण ओलीले आजसम्मको उचाई हासिल गरेका हुन् । उनीसँग रहेको उच्च मनोबल र दुरदर्शी बोलीलाई पंक्तिकारले बेला बेलामा नजिकबाट नियाल्ने मौका पाएको थियो । यसमध्ये दुईवटा घटना यहाँ प्रस्तुत गर्न सान्दर्भिक रहला ।

ओली काममा सक्रिय हुनसक्नुमा आत्मबल मुख्य कारण देखिएको छ । चिकित्सकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबलमा धेरै भर पर्ने बताएका छन् । उनले भनेका छन्, प्रधानमन्त्रीजीलाई प्रेसर दिने र मोरलडाउन गराउने काम गर्न हुँदैन ।

ओली अहिले रोगसँग लडिरहेका भन्दा पनि जीवनको महत्वपूर्ण समयको सदुपयोग गर्न प्रयासरत छन् । उनलाई रोगी भनेर पद त्यागको दबाब दिनेहरु नभएका होइनन् । मिर्गौला प्रत्यारोपणपछि नियमित उपचार गर्दै आएका उनी पछिल्लो समय हप्तैपिच्छे डायलसिस गर्नुपर्ने अवस्थामा छन् । यसबारे अनेकन टिकाटिप्पणी हुँदै आएको छ । ओलीले मिर्गौला प्रत्यारोपणपछि नेकपा एमालेको अध्यक्ष चलाए, त्यसपछि पनि नेकपाको अध्यक्ष चलाइरहेका छन् । दुईपटक देशको प्रधानमन्त्री भइसके । त्यसैले ओलीप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जिम्मेवार नेताहरुले पनि स्वास्थ्यका मामलामा सकारात्मक सद्भाव देखाइरहेका छन् ।

२०६० सालमा फूर्तिला ओलीसँग साप्ताहिक विमर्शका लागि अन्तवार्ता लिन बालकोटस्थित निवासमा पुग्दा आँगन चकमन्नै थियो । तत्कालिन नेकपा एमालेभित्र प्रतिपक्षी जस्तै अवस्थामा रहेका ओलीको निवास धेरैका लागि टाढा बनेको थियो । उनका अति निकटस्थबाहेक सायदै कोही आवतजावत् गर्दथ्यो । त्यसैले ओलीले फुर्सदिलो भएर अन्तवार्ता दिएका थिए । संस्थापन पक्षबाट पेलिएका ओलीमा कत्ती पनि निराशा थिएन बरु इख र उत्साह भरिएको देखिन्थ्यो । उनले अन्तवार्तापछि अनौपचारिक कुराकानीमा त्यही इखालु भाव व्यक्त गरेका थिए । ओलीमा इख र आत्मबल गजबकै रहेछ भन्ने घटनाक्रमले देखाएको छ । उनले सबैभन्दा बढी आलोचना गर्ने गरेको माओवादीलाई काबूमा ल्याउन सके । गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याए, ओलीले तिनलाई लगाम लगाएर काबूमा राखे भन्दा अतियुक्ति नहोला । दुईपटक प्रधानमन्त्री बन्ने भन्दा पनि माओवादीलाई काबूमा राख्न सक्नु ओलीको जीवनमा सबैभन्दा ठूलो राजनीतिक सफलता बन्नेछ । यसको मूल्यांकन इतिहासले पक्कै गर्ला । यसमा पनि ओलीको उच्च मनोबलले काम गरेको छ ।

मधेश आन्दोलन चर्किइरहेको थियो । आठ वर्ष अधि तत्कालिन नकेपा एमालेका नेता केपी शर्मा ओली दिल्ली पुगेका थिए । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा उनको बोल्ने कार्यक्रम थियो । ओलीले केही प्रश्नहरुको उत्तर दिने क्रममा जातीय र क्षेत्रीयताको राजनीतिको खरो शब्दमा आलोचना गरे । तिनको उपयोगितामाथि प्रश्न समेत गरे । ओली दुरदर्शी छैनन् र त्यस्तो बोल्छन् भन्नेमा केही नेपाली साथीहरु पनि थिए । तर, ओली ठिक रहेछन् र दुरदर्शी रहेछन् भन्ने आजको राजनीतिक अवस्थाले पुष्टि गरेको छ । ओली नेपाली राजनीतिका त्यस्ता पात्र हुन् जो गिरिजाप्रसाद कोइराला जस्तै गाली र ताली दुवै पाउँछन् । कमी कमजोरी देखाउलान् तर उग्रवादी शैलीभन्दा समन्वयकारी र व्यवस्थापकीय क्षमता देखाउँछन् ।

रोगसँग जुध्दै ओली

ओली अहिले रोगसँग लडिरहेका भन्दा पनि जीवनको महत्वपूर्ण समयको सदुपयोग गर्न प्रयासरत छन् । उनलाई रोगी भनेर पद त्यागको दबाब दिनेहरु नभएका होइनन् । मिर्गौला प्रत्यारोपणपछि नियमित उपचार गर्दै आएका उनी पछिल्लो समय हप्तैपिच्छे डायलसिस गर्नुपर्ने अवस्थामा छन् । यसबारे अनेकन टिकाटिप्पणी हुँदै आएको छ । ओलीले मिर्गौला प्रत्यारोपणपछि नेकपा एमालेको अध्यक्ष चलाए, त्यसपछि पनि नेकपाको अध्यक्ष चलाइरहेका छन् । दुईपटक देशको प्रधानमन्त्री भइसके । त्यसैले ओलीप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जिम्मेवार नेताहरुले पनि स्वास्थ्यका मामलामा सकारात्मक सद्भाव देखाइरहेका छन् । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चिकित्सक डा. शेखर कोइरालाले ओलीलाई पद छाड्न प्रेसर दिन नहुने बताएका छन् । उनले ओलीले डायसलिस गरेर पनि काम गर्नसक्ने बताइसके । अर्का काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द रिजालले देशलाई ओलीको योगदान अझै खाँचो रहेको फेसबुकमा लेखेर शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओली नेपालको इतिहासमा खरा रसिला प्रधानमन्त्रीमध्येमा पर्छन् । सक्रिय प्रधानमन्त्रीका रुपमा पनि चिनिन्छन् । ओलीको बोली र सक्रियताले उनी मिर्गौला प्रत्यारोपण गरिएको जस्तो लाग्दैनन् । बेला बेलामा उनको स्वास्थ्यबारे चासो र विभिन्न हल्ला चल्छ । त्यस्तै भयो गत हप्ता । उनी एक रात ग्रान्डी अस्पताल बसे । उपचार र प्रधानमन्त्रीको स्वास्थयबारे चासो बढिरहँदा उनी अस्पतालबाट हसिलो मुद्रामा हात हल्लाउँदै बालुवाटार फर्किए । ओलीको स्वास्थयमा कुनै समस्या नभएको भने होइन । उनी मिर्गौलाको डायलसिस गर्दै आएका छन् । उनको उपचारमा संलग्न डा. चक्रराज पाण्डेले भनेका छन्, प्रधानमन्त्रीज्यू स्वस्थ हुनुहुन्छ । ओली सक्रियताका साथ काम गर्नसक्ने पाण्डेको भनाई छ । ओली उपचारले मात्र काम गर्न सक्ने भएका होइनन् । उनमा चाहिने अनुशासन छ । विशेषगरी उनको खाना बार्ने बानी रहेको डा. पाण्डेले भनेका छन् । उनले ऋषि धमलासँगको अन्तवार्तामा भनेका छन्, उहाँले खानामा ध्यान दिनुभएकाले पनि एकदमै स्वस्थ बनाएको देखिन्छ ।

ओली काममा सक्रिय हुनसक्नुमा आत्मबल मुख्य कारण देखिएको छ । चिकित्सक समेत रहेका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबलमा धेरै भर पर्ने बताएका छन् । उनले भनेका छन्, प्रधानमन्त्रीजीलाई प्रेसर दिने र मोरल डाउन गराउने काम गर्न हुँदैन । मिर्गौला प्रत्यारोपण गर्दा १२ वर्ष अगाडि आफूले ओलीलाई भारतमा भेटेको स्मरण गर्दै डा. कोइरालाले अझै काम गर्न सक्ने बताए । उनले एक टिभी अन्तर्वार्तामा भने, रेगुलर डायलसिस गराएर पनि प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।

ओली अस्वस्थ भएको भन्दै नाम चलेका नेताहरुले पनि पद त्यागेर आराम गर्न आग्रह गरेका छन् । त्यसमध्ये चर्चित नेता गगन थापा पनि छन् । तर, काँग्रेस नेता डा. कोइरालाको धारणा फरक छ । उनी भन्छन्, उहाँ आफै अशक्त महशुश गरेर स्वेच्छाले छोड्नुहुन्छ भने केही भन्नुछैन । जनता र पार्टीका साथीहरुले प्रेसर दिएर छोडाउने काम गर्नुहुँदैन, त्यसले मोरल डाउन हुन्छ । डा. पाण्डे पनि मनोबलमा जोड दिन्छन् । ओलीमा मानसिक र शारीरिक शक्ति देखेको बताए । उनले भनेका छन्, उहाँलाई मनोबल बढ्ने खालको वातावरण तयार गर्न सक्नुपर्छ । मनोबलका कारण ओलीले देशलाई जसरी नेतृत्व दिइरहेका छन् त्यसरी दिइरहन सक्ने आशा व्यक्त गर्छन् ।

ओलीको योगदानको देशलाई अझै खाँचो रहेको ठान्ने कोइराला फेरि पनि आत्मबलमा जोड दिन्छन् । जयप्रकाश नारायणले पनि मिर्गौला डायलसिस गर्दै राजनीतिमा सक्रियता देखाउन सकेको स्मरण गराउँछन् कोइराला । उनले भनेका छन्, देशकै राष्ट्रप्रमुख हुँदा पनि गिरिजाबाबु अस्वस्थ हुनुहुन्थ्यो, उहाँले त चलाउनुभयो नि । अक्सिजन लिई लिई हिंडेर काम गर्नुभयो । डायलसिस गरेर पनि प्रधानमन्त्री ओलीले काम गर्न सक्ने डा. कोइरालाको भनाई छ । अरु देशका उच्च ओहदाका व्यक्तिहरुले डायलसिस गरेर काम गर्न सकेको बताए । हप्ताको तीन दिन डायलसिस गरेर काम गर्न सकिने उनको भनाई छ । ओलीको उपचारमा संलग्न डा. चक्रराज पाण्डे डायलसिस भनेको हामीले दिसापिसाब गरेजस्तै एउटा नियमित प्रक्रियामा सहयोग हो भन्छन् । उनी भन्छन्, डायलसिस गर्दै काम गरेको आधारमा उहाँलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

चिकित्सकको पेशा भनेको रोगको निदान गर्ने र उपचारपद्धति बताइदिने हो । तर, चिकित्सकहरु पनि आत्मबलमै जोड दिन्छन् । ओलीमा जीवनयापनका लागि अनुशासन छ । जुन उनले खानपानमा गर्दै आएका छन् । सबैभन्दा महत्वपूर्ण उनमा मनोबल उच्च छ । त्यही मनोबलका कारण ओली सक्रिय भूमिका निभाइरहेका छन् । उनको राजनीतिक विचारसँग सहमत हुने नहुने अलग विषय हो । तर, उनले आफ्नो जीवनको अधिकांश समय राजनीतिक क्षेत्रमा बिताएका छन् । डेढ दशक लामो कठोर जेलयात्रा, भूमिगत जीवनको खानपान र कठिनाईले पनि ओलीलाई अहिलेको पदमा मात्र नभई अवस्थामा ल्याएको हो । त्यसैले ओलीको कदमको आलोचना गर्दै गर्दा उनको मनोबल गिराउने काम गर्नुहुँदैन । यो राजनीतिक संस्कार र नैतिकता पनि होइन । ओली पदलोलुप होइनन् भन्ने इतिहासका कतिपय घटनाक्रमले सिद्ध गरेको छ । उनले सुशील कोइरालालाई प्रधानमन्त्री बन्न सहयोग गरे । गिरिजाप्रसाद कोइरालालाई २०६२÷६३ को जनआन्दोलनमा मात्र नभई त्यसपछि पनि सहयोग गरे । कोइरालाले जनआन्दोलनपछि उनलाई उपप्रधानमन्त्री बन्न आग्रह गरेपछि बने पनि । गति छाडेर भएपनि प्रधानमन्त्री बन्ने स्वभाव नदेखाएका ओली शरीरले नसकेमा आफैँ राजीनामा दिन पनि सक्लान् । तर, यतिबेला मौका यही हो भनेर कुर्ची ताक्नु अमानवीय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्