Logo
Logo

अनन्त यात्रा, पेन्सिल र मकै विवाह उत्कृष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० कार्तिक । आठौँ संस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’मा लघुलचित्र बिधाबाट सुनिल पाण्डे निर्देशित लघुचलचित्र ‘अनन्त यात्रा’, आशिष भण्डारी निर्देशित लघुचलचित्र ‘पेन्सिल’ पुरस्कृत भएका छन् ।
काठमाडौंको जमलस्थित नाचघरमा शनिबारबाट सुरु भएको महोत्सबमा लघू बृत्तचित्रबाट भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह पुरस्कृत भएको छ । यी तीन फिल्मलाई महोत्सबमा सहभागीमध्ये उत्कृष्ट घोषणासहित पुरस्कृत गरिएको हो । अवार्ड प्रदानसँगै महोत्सव सकिएको छ ।
पुरस्कृत फिल्मका निर्देशकहरुलाई ‘आदिप प्रतिभा चलचित्र पुरस्कार–२०१९’बाट पुरस्कृत गरियो । पुरस्कारस्वरुप जनही पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कृत लघु चलचित्रमध्ये आशिषको लघु चलचित्रले बालबालिकालाई जति धेरै यातना तथा दुःख दियो उनीहरु त्यत्तिकै झगडालु र हिँस्रक हुँदै जान्छन भन्ने सेन्देश दिएको थियो । सुनिलको फिल्म अनन्त यात्रामा नेपालीहरुको मृत्यपछि स्वर्ग जानेक्रममा बैतर्नी नदी तर्न सजिलो होस भनेर गाई बर्तनी गरी गाई दान दिने प्रथामा केन्द्रित थियो । २०७२ को भूकम्पमा ज्यान गुमाएकी आफ्नी दिवंगत हजुरआमाको सम्झनामा उनले यो चलचित्र निर्माण गरेका थिए ।
पुरस्कृत लघुबृत्तचित्र मकै विवाहमा गोरखाको धर्चे गाउँपालिकाको लाप्राकमा मकै बाली लघाउनुअघि पुजा आजासहित मकैको विवाह गर्ने प्रचलनलाई उठाइएको थियो ।
यसपटक महोत्सबमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म थिए ।
महोत्सबमा बोल्दै अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असदले पनि महोत्सब निकै रमाइलो भएको बताए । उनले आफुले आयोजना गर्ने महोत्सबका लागि नेपाली फिल्म पठाउन यहाँका चलचित्र निर्देशकहरुसँग आह्वान गरे ।
रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्रीले पहिलो पटक नेपाल आएर चलचित्र महोत्सबमा सहभागी हुन पाउँदा नेपाल र नेपाली फिल्मलाई बुझने अबसर मिलेको बताए ।
यस्तै चिनियाँ चलचित्र निर्देशक तथा अफ्रिकी विज्ञ डा. योङले आफुले सोचेको भन्दा नेपाल निकै रमाइलो पाएको बताए । नेपाल र नेपालीका बारेमा आउँदा दिनमा यहाँ आएर चलचित्र तथा बृत्तचित्र बनाउने चाहना पनि उनले कार्यक्रममा व्यक्त गरे ।
यो महोत्सबको आयोजना कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले गरेको थियो । महोत्सब तथा सिजेएमसीकी अध्यक्ष एवम् डा. मञ्जु मिश्रले महोत्सब समापन समारोहमा बोल्दै नेपालीलाई अफ्रिकासँग र अफ्रिकालाई नेपालसँग चलचित्रको माध्यमबाट जोड्ना बिगत आठ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्