Logo
Logo

‘सौन्दर्य प्रतियोगिताबाट नेम र फेम पाइन्छ’



‘सेलिब्रेटी सञ्चारकर्मी’का रुपमा चिनिएकी धरानकी मेरिना तुम्सा लिम्बू अहिले काठमाडौंमा छिन् । ‘मिस नेपाल आइडल–२०१८’की विजेता मेरिना पेसाले कोरियोग्राफर हुन् । साथै, उनी सञ्चार क्षेत्रमा पनि सक्रिय छिन् । स्थानीय रेडियो तथा टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता मेरिनालाई याक्थुङ युथ एशोसिएन (वाईवाईए)ले काठमाडौं बोलाएको हो । वाईवाईएद्वारा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’का लागि मेरिनाले असिस्टेन्ट कोरियोग्राफी गरिरहेकी छिन् । यो प्रतियोगिताका लागि मुख्य कोरियोग्राफी पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी छन् ।

पूर्वमा हुने अधिंकाश सौन्दर्य प्रतियोगिताहरूमा मुख्य कोरियोग्राफी गर्दै आएकी मेरिना भन्छिन्, ‘मिस नेपाल सदीक्षा श्रेष्ठसँग अनुभव साट्नका लागि मिस लिम्बूमा असिस्टेन्ट कोरियोग्राफी गरेकी हुँ । यो प्रतियोगितामा १८ जना लिम्बु चेलीहरूलाई कोरियोग्राफी गर्न पाउँदा खुसी छु । ‘मिस लिम्बू’ दोस्रो संस्करणमा प्रतियोगीका रुपमा सहभागी भएपछि कोरियोग्राफरको करिअर सुरु गरेकी मेरिना तुम्सासँग दृष्टिको जम्काभेट :

काठमाडौं कहिले र केका लागि आउनुभयो ?
एक महिना हुन लाग्यो, काठमाडौंमै छु । ‘सम्मान मिस लिम्बू–२०७९’का लागि असिस्टेन्ट कोरियोग्राफी गर्दैछु । म त्यसैका लागि काठमाडौं आएकी हुँ । कार्यक्रम सकेपछि मात्र धरान फर्किन्छु ।

पूर्वमा कोरियोग्राफरकै रुपमा चर्चित हुनुहुन्छ । तर, ‘सम्मान मिस लिम्बू’मा सहायकको रुपमा हुनुहुन्छ । किन ?
‘मिस लिम्बू’ मेरो आफ्नै समुदायको प्रतियोगिता हो । ‘मिस लिम्बू’मै पहिलोपटक पाटिसिपेन्ट भएर मैले कोरियोग्राफरको करिअर सुरु गरेकी हुँ । र, यो ‘मिस लिम्बू’ छैटौं संस्करणमा मुख्य कोरियोग्राफी पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ हुनुहुन्छ । उहाँसँग कोरियोग्राफी सम्बन्धी अनुभव साट्नका लागि असिस्टेन्ट बनेकी हुँ । यो प्रतियोगितामा १८ जना लिम्बू युवतीहरूलाई कोरियोग्राफी गर्न पाउँदा खुसी छु ।

कोरियोग्राफीको करिअर ‘मिस लिम्बू’बाटै सुरु भएको होइन त ?
हो, ‘मिस लिम्बू’को दोस्रो संस्करणमा म सहभागी भएको थिएँ । त्यतिखेर मैले ‘मिस फ्रेण्डली’ सव टाइटल जितेकी थिएँ । त्यसपछि नै सौन्दर्य प्रतियोगिता केन्द्रित भएर करिअर सुरु गरेकी हुँ ।

‘मिस लिम्बू’पछि थुप्रै सौन्दर्य प्रतियोगितामा भाग लिनुभयो नि ?
‘मिस लिम्बू’मा केही सिक्नका लागि सहभागी भएकी थिएँ । धेरै कुरा सिकेँ पनि । सौन्दर्य प्रतियोगितामा भाग लिइसकेपछि मुख्य टाइटल जित्नैपर्छ अनि मात्र नेम र फेम पाइन्छ भनेर लगातार चार वटा प्रतियोगितामा सहभागी भएँ । त्यसैक्रममा सन् २०१८ मा ‘मिस नेपाल आइडल’मा उपाधि जितेँ । त्यसपछि ‘मिस नेशलन आइकन-२०१७’मा सेकेण्ड रनरअफ भएकी थिएँ ।

कोरियोग्राफर भएर काम गर्न थाल्नुभएको कति भयो ?
२०७४ सालमा धरानमा सम्पन्न ‘मिस डल्फिन स्टार’मा पहिलो पटक मुख्य कोरियोग्राफी गरेकी हुँ । त्यसपछि पूर्वमा हुने अधिकांश ठूला इभेन्टहरूमा मुख्य कोरियोग्राफी गर्दै आएकी छु । ‘मिस सगरमाथा’, ‘मिस स्टेट–१’, ‘मिस एण्ड मिसेस प्रोभिन्स आइडल’लगायतका इभेन्टहरूमा कोरियोग्राफी गरिसकेकी छु ।

तपाईँ -याम्प शो गर्नुहुन्छ कि हुन्न ?
सुरुमा दिनहरूमा त गर्थेँ । त्यतिखेर फेसन शोहरू पनि गर्थेँ । तर, अहिले गर्दिनँ । अरुलाई मात्र सिकाउने गरेकी छु ।

पूर्वी नेपालमा सौन्दर्य प्रतियोगिता निकै फस्टाएको देखिन्छ । यसको कारण के हो ?
नेम र फेम नै हो । अर्को कारण भनेको व्यक्तित्व विकासका लागि पनि पछिल्लो युवापुस्ता सौन्दर्य प्रतियोगितामा सहभागी हुन चाहन्छन् । शीर्ष उपाधि नजिते पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि धेरै कुरा सिक्ने अवसर मिल्छ ।

आफैं आयोजक बनेर काम गर्ने सोच बनाउनु भएको छैन ?
आफैँं आयोजक बनेर इभेन्ट गर्न सुरु गरेकी छु । एक वर्षअघि ‘ड्रिम्स एम्स प्रोडक्शन’ नामक इभेन्ट कम्पनी दर्ता गरेर कार्यक्रमहरू गर्न सुरु गरेकी छु । यो मेरो कम्पनीबाट सौन्दर्य प्रतियोगिता, फेशन शो र उद्घोषण तालिम दिने गरेकी छु । र, यही कम्पनीबाट ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल किड्स-२०२३’ घोषणा गरिएको छ । यसका लागि आवेदन खुला गरिएको छ । म यहाँ व्यस्त भएर मात्र हो । यो कार्यक्रम सकिनेवित्तिकै धरान गएपछि यही कार्यक्रममा व्यस्त हुनेछु ।

तपाईँको लक्ष्य के हो ?
मेरो लक्ष्य भनेको राम्रा र दक्ष प्रतिभा उत्पादन गर्ने हो किनकि, म आफैं पनि मिडिया क्षेत्रमा छु । त्यसैले कम्पनी दर्ता गरेर सौन्दर्य प्रतियोगिता, फेशन शोलगायत उद्घोषण तालिम दिन सुरु गरेकी हुँ । बाँकी जीवनको लक्ष्य सोचेकी छैन ।

प्रतिक्रिया दिनुहोस्