Logo
Logo

कुरीतिविरुद्ध सकारात्मक चलचित्र बनाउन राष्ट्रपतिको सुझाव


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृँखला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताएकी छन् ।
नेपाली चलचित्र प्रदर्शन ५४औँ वर्षमा प्रवेश गरेका अवसरमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’को बिहीबर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको नेपाली चलचित्र जगतलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
‘प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।’
राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने पनि बताइन् । उनले स्वच्छ, स्वस्थ, स्वतन्त्ररुपमा निर्माण गर्नुपर्ने बताउँदै निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथा जस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिइन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाँकार बैकुण्ठ मास्के र सम्पादक तीर्थराज श्रेष्ठलाई स्वर्णिम सम्मान प्रदान गरिन् भने केडिया समूहका तर्फबाट प्रदीप केडियालाई सम्मान हस्तान्तरण गरेकी छन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँ–नयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताए ।
चलचित्र निर्मातालाई सिर्जनात्मक तथा नेपालीपन एवं मौलिकतालाई ध्यानमा राखी चलचित्र निर्माण गर्न पनि उनले आह्वान गरे ।
नेपाली चलचित्रको विकासका लागि वर्तमान सरकार नयाँ कानुन निर्माणतर्फ अग्रसर रहेको जानकारी उनले दिए । मैथिली भाषाका कविकोकिल विद्यापतिलगायत अन्य विभूतिले भाषा तथा संस्कृतिको विकासमा दिएको योगदान बिर्सन नहुने उनको भनाइ छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्ने बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालगायतले पनि बोलेका थिए । महोत्सवमा सहभागी हुन दर्जनौँ चर्चित कलाकार राजधानीबाट यहाँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्