Logo
Logo

‘माङमालुङ पर्यटन’ उजागर गर्ने प्रयास




माङसेबुङ । चारैतिर हरिया चिया बगान । बगानभित्र आकर्षक कटेज । छेउमै पोखरी । लस्करै मिलेका धुपिसल्लाका रूख । आहा ! मनै लोभ्याउने । साँच्चिकै सुन्दर ।

प्रकृतिको सौन्दर्यलाई सृष्टिले जुन दिन रच्यो, सायद त्यसैदिन बन्यो इलाम ! इलाम प्रकृतिले मात्रै होइन, संस्कृतिले पनि उतिकै सुन्दर छ । विविधतायुक्त छ । त्यसैले त इलामले जो कोहीलाई लोभ्याउँछ । तान्छ । मोहनी नै लगाइदिन्छ !

श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यका लागि देशकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । यहाँ सबैभन्दा पहिले घामको किरण पर्छ । यहाँबाट मनमोहक दृश्य नियाल्न सकिन्छ । त्यसैले यहाँ देशविदेशका पर्यटक सूर्योदयको दृश्यावलोकनकै लागि आउने गर्छन् ।

ठाउँठाउँमा बनाइएका होमस्टे । अर्गानिक खाना । पर्यटकको मन त त्यसै अल्झिन्छ । माइपोखरी, सन्दकपुर, गजुरमुखी, सिद्धीथुम्का पनि श्रीअन्तुभन्दा कम छैनन् । त्यतिकै सुन्दर छन् । मनमोहक छन् ।

यस्ता मनोरम र मनमोहक स्थानहरू अरु पनि छन् । तर, प्रचारप्रसारको कमी र पूर्वाधारको अभावमा कति ठाउँहरू ओझेलमै छन् । त्यसैले जिल्लाको पर्यटन व्यवस्थापन योजनाले यस्ता महत्वपूर्ण ठाउँहरू चिनाउने प्रयास गरेको छ । स्थानीय तहबाट पनि प्रचारप्रसारको पहल हुन थालेको छ ।

स्थानीय स्तरबाट गरिएका पहलमध्ये एक हो– माङमालुङ कृषि तथा पर्यटन महोत्सव । माङसेबुङ गाउँपालिकाको वडा न. २, ३ र ६ को संगम (साविक गाविसहरू इभाङ र बाँझोका केही भाग मिलेर बनेको) माङमालुङले गतिलो पर्यटकीय सम्भावना बोकेको छ ।

माङमालुङको अर्थ राई र लिम्बू भाषामा ‘बिजुवानी ढुङ्गा’ भन्ने हुन्छ । (माङमा–बिजुवानी र लुङ्ग–ढुङ्गा) । यो नामका पछाडि एउटा रोचक प्रसङ्ग र किंवदन्ती छ ।

कुनै समयमा माङमालुङ डाँडाको उत्तर फेदमा एउटा सानो पोखरी थियो । पोखरीको डोब अझै छ । र, त्यसलाई जगाउने काम भइरहेको छ । त्यो पोखरीको छेउमै बाटो थियो । पोखरीको आसपास जाने मानिस र जीवजन्तुलाई सर्पले बेलामौका डस्ने गथ्र्यो ।

एकदिन एउटा बिजुवानी नातिलाई लिएर त्यही बाटो हिँड्दै थिए । नातिलाई सर्पले डस्यो । बिजुवानी रिसले चुर । बदला लिने प्रण गरे । थाल ठटाउँदै चिन्ता बसे । उनको चिन्ता केही दिनसम्म रह्यो ।

दुई–चार दिन चिन्ता बसेपछि उनले परीक्षण गरे । पोखरीको डिल सात चिरा पर्यो । परीक्षण सफल भएपछि मन्त्र लगाएर थालले पोखरीभित्र रहेको सर्पलाई प्रहार गरे । सर्प दुई टुक्रा । पोखरी रक्ताम्मे ।

पोखरीको पश्चिम पाटामा ठूलो धाँजा पर्यो । पानी त्यही धाँजामा छिर्यो । तल बग्ने खोलाको पानी पनि रातै भयो । त्यहीबेलादेखि त्यो खेलालाई ‘रतुवा’ भन्न थालियो ।

बिजुवानीले मन्त्र परीक्षण गर्दा परेको सात चिरा अझै छ । र, त्यसलाई बारबेर गरेर सुरक्षित बनाउने काम भइरहेको छ ।

माङमालुङले इलामको छुट्टै विशेषता बोकेको छ । त्यो पर्यटकीय क्षेत्रमा मात्रै होइन, धार्मिक क्षेत्र पनि हो । उँधौली र उभौँलीमा किरात धर्मावलम्बी पूजा अर्चना गर्ने गर्छन् । जहाँ पवित्र ढुङ्गा छ ।

ढुङ्गाको दक्षिण भागमा कटुसको सुरम्य जङ्गल छ । जङ्गलभित्र सुन्दर डाँडा । डाँडामा विभिन्न आकृतिका ढुङ्गा र ओडारहरू ।

माङमालुङबाट करिब १२ सय मिटर पूर्वउत्तरमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो पर्छ । माङसेबुङको चुक्चिनाम्बा (सविकको इभाङ गा.वि.स) । जहाँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र हालका किरात धर्मगुरु आत्मानन्दले तपस्या गरेका थिए ।

वि.स २०३८ सालमा तपस्वी ज्योतिनन्दले पनि त्यहाँकै ओडारमध्ये एउटामा तपस्या गरेका थिए । ज्योतिनन्दले तपस्या गरेपछि धार्मिक क्षेत्र घोषणा भयो । र, चर्चा पाउन थाल्यो– माङमालुङ ।

फाल्गुनन्द मार्ग (दमक–चिसोपानी–रबि)ले आधा फन्को मारेको छ माङमालुङ डाँडालाई । यहाँबाट पनि सूर्योदय र सूर्यास्तको साथै मनोरम दृष्य देखिन्छ । उत्तरमा हिमाल । दक्षिणमा तराईका फाँटहरू ।

यहाँ तराईका विभिन्न ठाउँबाट वनभोज खान र मनोरम दृश्य नियाल्न आउने गरेका छन् । गर्मी महिनामा हिमालको हावा खान आउने संख्या बढ्दो छ । जसले गर्दा माङमालुङ चर्चित बन्दै गएको छ ।

यो क्षेत्र पैदल यात्राका लागि पनि उपयुक्त छ । यहाँ विभिन्न जडिबुटीहरू पनि पाइन्छ । ओसिला ठाउँहरू । जडीबुटी खेती र पुष्प व्यवसायको सम्भावना उस्तै । ती जडिबुटीको पहिचान र संरक्षण गर्न सके इलामको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने देखिन्छ ।

माङमालुङको पर्यटन प्रवद्र्धनका लागि माङमालुङ पर्यटन विकास केन्द्रले २०६८ सालमा महोत्सव आयोजना गरेको थियो । तर, भौगोलिक विकटता र आर्थिक अभावका कारण त्यसयताका १० वर्षसम्म कुनै महोत्सव भएन ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकार बन्यो । गाउँपालिकाको नजर माङमालुङ पर्यटन विकासमा पर्यो । यसपटक ‘कृषिमा आधुनिकीकरण, स्थानीय पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव २०८०’ हुँदैछ ।

महोत्सव आगामी वैशाख १ र २ गते हुनेछ । महोत्सवमा विशेषगरी कृषि र धार्मिक पर्यटन प्रवद्र्धधन हुने विश्वास छ ।

महोत्सवमा गाउँपालिकाभित्र पाइने कृषिजन्य उत्पादनको स्वाद लिन पाइन्छ । विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुति हेर्न र सुन्न सकिने छ ।

महोत्सवको मुख्य आकर्षणको एक औँलाले हल्लाउन सकिने एक टनको ढुंगा हो । जसलाई एक औँले ढुंगा र पत्थर चक्रशिला भनेर चिनिन्छ । त्यसका साथै माङसेबुङ गाउँपालिकाभित्र पाइने कृषिजन्य उत्पादनहरूको स्वाद चाख्न पाइने छ । केःलाङ र साकेला नाँचको मज्जा पनि लिन पाइने छ । महोत्सवले माङमालुङ पर्यटनको प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्