Logo
Logo

“घुस खाएर पनि काम नगर्ने” ले विगारेको देश





नेपालको तीब्र विकास नहुनाको एक प्रमुख कारण भ्रष्टाचारलाई लिने गरिन्छ । अवश्यपनि भ्रष्टाचारले गम्भीर समस्या खडा गरेको पक्कै हो । तर भ्रष्टाचार गरेर अकुत सम्पति कमाएपनि गर्न सकिने तथा गर्न पर्ने काम पनि नगर्ने प्रवृतिले गर्दा नेपालको तीब्र विकासमा ठुलो व्यवधान पैदा गरेको विषय त्यो भन्दा पनि गम्भीर कुरा हो ।

अहिले वाइड वडि विमान काण्डको चर्चा चलिरहेकोछ । वाइड वडि विमान खरिडमा अरवौं रकम भ्रष्टाचार भएको विषय संसदको लेखा समितिले नै प्रष्ट शब्दमा भनिसकेकोछ । वाइड वडिमा ठुला मानिसहरुको नै संलग्नता रहेको लेखा समितिको दावी रहेकोछ । यसमा प्रधानमन्त्रीहरु पनि मुछिएको समाचार आइरहेका छन् । वाइड वडि काण्डमा “वाइड राष्ट्रिय सहमति” भएको चर्चा पनि चल्न थालिसकेको छ ।

यो नेपालको अहिले सम्मको ठुलो भ्रष्टाचार काण्ड भैसकेकोछ । यत्रो ठुलो रकम भ्रष्टाचार गरेर पनि सम्वन्धित सबैले वाइड वडि जहाजलाई राम्रो ढंगले चलाउने नीति योजना वनाएर कार्यान्वयन गरेनन् । यो झन वढी गम्भीर कुरा वनेको छ ।

कुनै एक कम्पनिले एउटा विमान वा एउटा हेलिकोप्टर किनेर चलाएको केही वर्ष पनि अर्को थप विमान किन्न सक्ने गरी कमाइरहेको देश नेपाल हो । तर सरकारी स्वामित्वको नेवानिमा भने दुई ठुला जहाजहरु किनेपछि यसरी व्यापारको विकास गर्ने भन्ने योजना जसरी वनाइयो र जसरी अहिले त्यत्रो लगानीलाई अलपत्र पार्ने ढंगले काम भइरहेका समाचार आइ्रहेकोछ, त्यसले नेपालको एक गम्भीर समस्या तर्फ संकेत गर्दछ । त्यो हो घुस खाएर पनि काम नगर्ने प्रवृत्ति ।

घुस अर्थात भ्रष्टाचार भन्ने कुरा विश्वव्यापी पूँजीवादी प्रवृत्ति हो । उत्पादनका साधनहरुमाथि निजी स्वामित्व र पूँजीपतिहरुका विच गला काट्ने प्रतिस्पर्धा रहेसम्म अर्थात कथित वजार अर्थतन्त्र रहेसम्म भ्रष्टाचार भन्ने कुरा हट्ने छैन । संसारभरी भ्रष्टाचार हुने गरेकोछ । कम वेशीको मात्रै फरक हो ।

तर अरु विकसित देशमा भ्रष्टाचार गर्नेहरुले काम पनि गर्ने गर्छन् भने नेपालमा भ्रष्टाचार गर्नेहरु वहुसंख्यकले भ्रष्टाचार गरेर पनि काम नगर्ने प्रवृत्ति विद्यमान छ । यहाँको भ्रष्टाचारको यस्तो प्रवृक्तिलाई दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्टाचार भन्ने गरिन्छ माक्र्सवादी अर्थशास्त्रमा । तर विकसित देशमा हुने भ्रष्टाचार भने उत्पादनशील र औद्योगिक पूँजीवादी भ्रष्टाचार हो । ती देशहरुमा भ्रष्टाचार भएर पनि जनता र देशको पक्षमा केही भएपनि कामहरु भैरहेको हुन्छ भने हाम्रो जस्तो देशमा भ्रष्टाचार पनि हुने तर काम पनि नहुने भैरहेकोछ ।

नेपालमा वहुदलीय जनवादी वा नयाँ जनवादी व्यवस्था फरक तरिकावाट आइसकेको छ भन्ने एक थरी सिद्धान्तकारहरु छन् । उनीहरु यहाँको पूँजीवादी व्यवस्थाको दलाल तथा नोकरशाही स्वरुपको यथार्थता र विकसित देशको पूँजीवादी व्यवस्थाको औद्योगिक तथा उत्पादनशील पूँजीवादी व्यवस्था विचको फरकका वारेमा स्पष्ट कुरा गर्दैनन् । पूँजीवादी व्यवस्था कै फरक प्रकारहरु र त्यसका फरक भं्रष्टाचारहरुको विषयमा माक्र्सवादी विश्लेषण गर्न उनीहरु चुकेका छन् । उनीहरुको जवज आइसकेको वा नयाँ जनवाद आइसकेको र अब समाजवाद उन्मुख हुने भन्ने कथित सिद्धान्तले दलाल तथा नोकरशाही पूँजीवादलाई नै उत्पादनशील औद्योगिक पूँजीवाद भनेर जनतालाई भ्रम दिने काम भैरहेको छ ।

नेपालमा भ्रष्टाचारमा हुने गरेको “वाइड राष्ट्रिय सहमति” र “भ्रष्टाचार गरेर पनि काम नगर्ने प्रवृत्ति” रहेसम्म तीब्र आर्थिक विकासको सम्भावना कमै हुनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्