Logo
Logo

‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर



काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो ।

आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेन्छन् । उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएका छन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेका छन् ।

‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुना भन्छन् । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउछन् । त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् ।

सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आउनुभएको छ । यसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ ।

हाम्रो नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ ।

उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएका छन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्नुपर्ने हुन्छ ।

विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ ।

“रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्”, उनको अनुभव छ ।

कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौँ लागेको अनुभव पनि उनीसँग छ । यसका बाबजुद पनि उहाँ देशको नाम राख्न हरदिन मेहनत गर्छन् । सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे पनि विभिन्न प्राविधिक समस्याले अगाडि बढ्न नसकेको उनी बताउछन् । कतिपय आफ्नै मान्छेले आफ्नो भावना र गतिअनुरुप खेललाई अघि बढ्न नदिएको उनले सुनाए ।

धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उनले सन् २०१९ मा आफ्नै नाममा युडब्लुइ (अल्टिमेट रेस्लिङ इन्टरटेन्मेन्ट) कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिए । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जिते ।

त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेका थिए । त्यस्तै उनले सन् २०२१ मा पाकिस्तानले आयाजना गरेको वल्र्ड हेब्बीवेट रेस्लिङ च्याम्पियनसीपमा उपाधि जिते ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा उनले हालसम्म २७ वटा प्रतियोगितामा भाग लिएका छन् । त्यसमध्ये नौवटा अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता जनाए । सत्ताइस खेलमध्ये दुई–तीनवटा च्याम्पियनसीपबाहेक सबै खेलमा पुरुष रेस्लरसँग खेलेको उनको भनाइ छ ।

‘आफूभन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छु’, उनी स्मरण गर्छन् ।

‘खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन छातीमा बुटले पनि हानिराखेका हुन्छन् र आफूले पनि प्रहार गरिराखेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल हुँदैन’, उनी भन्छन् ।

यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म अस्पतालमा बस्नुपरेको थियो । खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन । खेलका क्रममा शरीरमा धेरै चोटपटक लागे पनि आफू यसैमा रमाउने भन्दै अबको छ-सात वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने उनी बताउछन् ।

बाबा–आमाकी कान्छी सन्तान उहाँले नेपाली रेस्लर बन्ने प्रेरणा भने आफ्ना बुवाबाट प्राप्त भएको बताउछन् । बच्चैदेखि खेल क्षेत्रमा अग्रसर रहने उनी विद्यालयमा दौड, हाइजम्पलगायत खेल्ने गर्थे । देशमा माओवादी द्वन्द्व सुरु भएपश्चात उनी पनि भूमिगत भएका थिए । त्यतिबेला समय र परिस्थितिका कारण घर छाड्न बाध्य भएको उनको भनाइ छ । भूमिगत भएपछि उनका सङ्घर्षका दिनहरू सुरु हुन थाले र माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौँ भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झन्छन् ।

दुईवटा बच्चाकी आमा उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिकलगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको सुनाए ।

जीविकोपार्जनका लागि श्रम गर्न खोज्दाका अप्ठेरा पनि अनेक छन् उनसँग । यी अनेक चुनौतीका बाबजुद पनि सङ्घर्ष गरेर आज आफ्नो देशको नाममा, देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने एक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सकेकामा उनी खुसी छन् । आफूलाई बलियो बनाएर समाज र देशका लागि केही गर्छु भनेर रेस्लिङ क्षेत्रमा लागेकाले आज आफ्नो र देशको नाम राख्न सकेको उनको भनाइ छ । आज खेल क्षेत्रको माध्यमबाट विदेशमा देशको नाम चिनाउन पाउँदा आफूलाई गर्व महसुस हुने र आफूले विगतमा सहेखपेका अनेक हिंसा र अप्ठेराहरू बिर्सने गरेको उनी बताउछन् ।

युडब्लुइ (अल्टिमेट रेस्लिङ इटरटेनमेन्ट)को आयोजनामा यही चैत २४ गते रेस्लिङअन्तर्गतको फायर म्याच पनि हुँदैछ । उक्त प्रतियोगितामा नेपाल र भारतको सहभागिता रहने जानकारी उनले दिए । उक्त म्याचको अन्तिम तयारीमा जुटेकी मुनाले खेलका लागि विदेशी खेलाडीहरू आउने क्रम सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्