Logo
Logo

चिलगाडी चढ्ने बाध्यता कहिले अन्त्य हुन्छ ?



पछिल्लो समय नेपालमा भविष्य देख्ने युवा विद्यार्थी सायदै होलान् । हिजोआज युवा भन्न थालेका छन्, ‘नेपालमा बसेर गल्ती गरिएछ । यस्तो देशमा के बस्नु ?’

पढेलेखेका युवाको सोचसमेत यस्तै छ । उनीहरु भन्छन्, ‘लर्खराएर कति बस्नु ! विदेश हेरिन्छ, मुख पनि फेरिन्छ । रोजिन्छ ठूलै प्लेन ।’ सपना सानो वा ठूलो, ठूलै प्लेन रोज्नुपर्ने बाध्यता । दिनहुँ विदेशिएका छन् देशका हजारौँ युवा ।

सामाजिक सञ्जालमा बग्रेल्ती छाइरहन्छ विमानस्थलमा खिचिएका तस्बिरहरू । युद्ध जितेझैँ फूलमाला र खादा । बधाई र शुभकामनाको ओइरो । आँशुसँगै आशाका धुइरो । कम पढ्ने र नपढ्नेहरू भासिन्छन् खाडी । पढेलेखेका र हुनेखानेहरू युरोप, अमेरिका र अष्ट्रेलियातिर ।

विदेशै जानुपर्ने उहिल्यैदेखिको लाहुरे प्रवृत्तिले कहिल्यै छाडेन । यहाँको उत्तम विकल्प हो, विदेश पलायन । विदेश पलायन बाध्यता हो । गन्तव्य र रहर अनि फेसन पनि । रोजगारीमा होस् या अध्ययनका लागि । विदेशिने युवाको जमात ठूलो छ । अहिले आफ्ना सन्तान विदेश छन् भन्दा गर्व गरिन्छ ।

काठमाडौंका प्रमुख चोक र गल्लीहरूमा आकर्षक शैलीमा देखिन्छ ‘एजुकेसन कन्सल्टेन्सी’का बोर्डहरू । काठमाडौँ बाहिरका सहरमा समेत यस्ता बोर्डको कमी छ्रैन । दलालको चक्करमा लाखौं बुझाएर बाहिरिरहेका छन् युवा । विमानस्थलको भीड देख्दा मन आहत हुन्छ ।

उच्च शिक्षाको नाममा विदेशिनेको संख्या उच्च छ, त्यस्तै आशा पनि । वैदेशिक अध्ययनमा पठाउन परामर्शको नाउँमा मेला नै लाग्छ । जहाँ, विदेश जान हौसाइन्छ । ‘आकाशको जुनतारा झारिदिन्छु’ भन्दा पत्याउनेले नपत्याउनु कसरी ! गाउँ रित्तिएको छ । सहरमा समेत युवा बस्न छाडेका छन् । सहरसँगै देश पनि रित्तिने अवस्था बन्यो ।

‘खाडीमा भेटौँला’ समयको ऐना हो । र, दस्तावेज पनि । जसले बोलेको हुन्छ, ‘विद्यार्थीमा हुर्केको मनोविज्ञान, युवाको बाध्यता, कहालीलाग्दो भविष्यको चित्रण र सपनाको अन्तिम विन्दु ।’ साथै, समाजको परिवेश र परिस्थितिको घटना र परिघटनासमेत यो शब्दले बोध गराउँछ ।

अध्ययनका लागि देशका कर्णधारमात्रै बाहिरिँदैन, विदेशी मुद्रा पनि बाहिरहेको छ । र, विदेशी मुद्रा बाहिरिने क्रम चुनौतीका रूपमा देखापरेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै ४३ अर्ब ७४ करोड रुपैयाँ बिहिरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भन्दा उक्त शीर्षकमा बाहिरिएको रकम ९३ दशमलब ६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघसम्म विदेशमा अध्ययनका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्ष ७२ हजार ६ सय १० जनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (नो अब्जेक्सन लेटर–एनओसी) लिएका छन् ।

वैदेशिक यात्राको प्रक्रिया र प्रायोजन फरक होला । तर, मूल उद्देश्य भनेको रोजगारी र अर्थआर्जन नै हो । देशमा राजेगारीको अवसर छैन । यो भनिरहन पर्दैन, भोगिरहेका छौँ । त्यसैले त विद्यार्थी यादस्वरूप टि–शर्टमा लेख्छन्, ‘खाडीमा भेटौँला ।’

दुई अक्षरको चिनोमा नेपालको प्रतिविम्ब देखिन्छ । ती दुई शब्दमै देशको मुहार झल्किएको हुन्छ । ‘खाडीमा भेटौँला’ समयको ऐना हो । र, दस्तावेज पनि । जसले बोलेको हुन्छ, ‘विद्यार्थीमा हुर्केको मनोविज्ञान, युवाको बाध्यता, कहालीलाग्दो भविष्यको चित्रण र सपनाको अन्तिम विन्दु ।’ साथै, समाजको परिवेश र परिस्थितिको घटना र परिघटनासमेत यो शब्दले बोध गराउँछ ।

साँच्चै हाम्रो उत्तम र अन्तिम विकल्प हो विदेश पलायन ? देशको यस्तो अवस्था कसले बनायो ? किन बन्यो ? बेरोजगारी उत्पादन गर्ने हाम्रो शिक्षा कस्तो ? कहाँ चुक्यौँ हामी ? देशमै गरिखाने वातावरण किन बनेन ? दोषी को ?

प्रश्नहरू थपिँदै जान्छन्– आफ्नै माटोमा कहिले हुर्काउने भविष्य ? जापान र कोरियाको खेतीले कतिन्जेल धान्ने ? अमेरिका र अस्ट्रेलियामा कमाएको पारिश्रमले कतिको भविष्य चम्काउने ? कतार र साउदीमा बगाएको पसिनाको धाराले कहिलेसम्म प्यास मेट्ने ? ठूलो प्लेन चढ्ने सपना कहिले देख्न छाड्ने ?

सकिँदैन प्रश्नहरु– उच्च शिक्षाको गन्तव्य किन विदेश बन्छ ? हाम्रो शिक्षालय र उच्च शिक्षाले विश्वबजारमा प्रतिस्पर्धा गर्न किन सक्दैन ? लाखौँ खर्चेर पढ्नका लागि कहिलेसम्म बिरानो देश गइराख्ने ? लाखौँ ऋण गरेर पढ्न जाने कि कमाउन ? साहुको ब्याज घटाउने कि ज्ञान बढाउने ?

भनिन्छ, पढ्नका लागि विदेश जाने । तर, ध्याउन्न कमाइमा हुन्छ । तन कलेजमा, मन साहुको ऋणमा । पढाईको भन्दा कमाईको पिरलो !

नेपालमा उच्च शिक्षा हासिल गरेर पनि रोजगारीको अवसर छैन । हाम्रो शिक्षाले गरिखाने बनाउन किन सकेन ? श्रम र सीपका कुरा किन पाठ्यक्रममा राख्न सकेनौँ ? स्वदेशमै रोजगारी दिने शिक्षा, सीप, तालिम र प्रविधि दिन नसक्नुको पछाडि कसको कमजोरी ? शैक्षिक नीति र पाठ्यक्रमै समस्या आयो कि ?

देशभित्रै गरिखाने वातावरण बनाउन सरकार उदासीन देखिन्छ । राजनीतिक दल सत्ता केन्द्रित भए । उनीहरुलाई युवाको भविष्यप्रति पटककै चित्ता छैन । हरेक युवालाई रेमिट्यान्स देख्छ र विदेश जानेको लर्को रोक्ने कसले ?

‘खाडीमा भेटौँला’ भन्नेहरुलाई नेपालमै बस भनेर राज्यले जवाफ कहिले दिने ? लाखौँ युवालाई रोजगारी दिने सरकारको नारा व्यवहारमा आउने छाँटकाँट छैन ।

जो उद्देश्य प्राप्तिका लागि विदेश गइरहेका छन्, त्यसअनुसार उनीहरुले काम पाइरहेका छन् त ? सोचेअनुसारै पढ्न पाउँछन् कि पाउँदैनन् ? ठूला आशा र सपना बोकेर विदेशिएका धेरै त शोषणमा परिरहेका छन् । कतिपय दलालको फन्दामा परेर ‘घर न घाट’का भएका छन् । यसको जिम्मेवारी कसले लिने ?

अहिलेसम्म विदेशीइ रहेका ती हजारौँ विद्यार्थी (युवा)लाई नेपालमै अवसर छ भन्ने समय आएको छैन । त्यसैले नेपालको शैक्षिक वातावरणलाई थप विश्वसनीय बनाउन र विद्यार्थीलाई स्वदेशमै रहेर पढ्न र रोजगारी दिन सरकारले प्रोत्साहन गर्न आवश्यक छ ।

नेपालमै पनि विभिन्न विषयमा पढाउने कलेज र विश्वविद्यालय छन् । दक्ष शिक्षक–प्राध्यापक छन् । यहीँ जीविका गर्न सकिने आधार थुप्रै छन् । कृषि, पशुपालन, व्यापार, उद्योग, सरकारी सेवा आदिमा धैर्य र लगनशील भएर लाग्ने हो भने आफ्नो परिवार सजिलै धान्न सकिन्छ । तर, नेपालमै पढ्ने जमातलाई अवसर मिल्न सकेको छैन ।

विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र आत्मपिनर्भर भएर बाँच्ने आधार आफ्नै देशमा छ । तर, हामी कहिल्यै सकारात्मक हुन सकेनौँ । आफ्नै देशभित्र अलिकति पनि दुःख, धैर्य र लगनशील हुन जानेनौँ ।

युवाशक्ति पलायनले मुलुकको विकासमा असर परिरहेको छ । आर्थिक समृद्धिका लागि युवाशक्तिलाई नेपालमै अवसर दिएर सरकारले पालायबाट रोक्न सक्नुपर्छ । र, युवालाई नेपालमै केही गर्छु भन्ने भावनाबाट प्रेरित गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्