Logo
Logo

बोलिभियामा १४ वर्षे शासन ढल्यो


(एएफपी)


ला पाज, २५ कात्तिक (एएफपी) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा दिएका छन् । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन् ।
राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । लामो समयदेखि सत्तामा रहनुभएका मोरालेसका मन्त्री एवं वरिष्ट अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उनी थप संकमा थिए ।
विवादास्पद निर्वाचनबाट पुनः राष्ट्रपतिमा चयन हुनुभएका मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन गरिएका थिए । त्यही चुनावमा पराजित भएका पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिबाट राजिनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ट सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन् । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन आफू तयार रहेको घोषणा गरेको छ ।
यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताएका छन्, तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गरे । मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताउएका छन् ।
प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको घोषणा पनि गरेको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।
आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कोका कृषक थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । राजिनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए ।
मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए । जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।
मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए, तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजिनामा गर्न सुझाएका थिए ।
सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजिनामा गर्न आफूले सुझाव दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्