Logo
Logo

अल्फाबिटाको सिन्डीकेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २६ कात्तिक । अष्ट्रेलिया, अमेरिका, जापान, यूरोपीयन देशमा विद्यार्थी पठाउँदै आएका ब्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ(इक्यान)बाट फुटाइएको राष्ट्रिय शैक्षिक परामर्श संघबाट प्रायः सबै ब्यवसायीहरु अलग भएका छन् । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)बाट ब्यवसायीहरु अलग्गिएपछि नेविसंघका कार्यकर्ताहरुले भरिएको छ । इक्यानका पूर्वउपाध्यक्ष सरोज बस्नेतसहितका ब्यवसायीहरु जुटेर सन्तोष प्याकुरेललाई अध्यक्ष बनाई नेका बनाइएको थियो । तर नेकामा गैरब्यवसायीहरु हावी भएपछि उनी पुनः इक्यानमै फर्किएका छन् ।

अष्ट्रेलियामा विद्यार्थी पठाउने इन्टरनेशनल एजुकेशन स्पेशलिष्ट अर्थात् आइडीपीको एकाधिकारलाई नमान्ने भएपछि अल्फाबिटाका संचालक द्विराज शर्मा शिवाकोटीको डिजाइनमा इक्यान फुटाएर नेका बनाइएको थियो । शैक्षिक परामर्शको काम गर्ने ब्यवसायमा सिन्डिकेट लाद्नेगरी आइडीपीबाट मात्र अष्ट्रेलिया पठाउने डिजाइन गरेपछि इक्यानले बिरोध गरेको थियो । शैक्षिक परामर्श ब्यवसायमा सिन्डीकेट हुनु नहुने पक्षमा इक्यान उभिएपछि अल्फाबिटाका संचालक शर्माले नेपाली कांग्रेस समर्थक बस्नेतसहितलाई लिएर प्याकुरेललाई अध्यक्ष बनाई नेका बनाएका थिए । तर नेकाको दोस्रो साधारणसभा २०७६ कात्तिक २३ गतेसम्म आइपुग्दा अब उक्त संस्थामा ४० –५० ब्यवसायी छन् । त्यसमा पनि ब्यवसाय नै नगर्ने विद्यार्थी नेताहरु रहेका छन् । नेकाका अध्यक्ष प्याकुरेल स्वयं अल्फाबिटाको न्यूजील्याण्ड शाखा हेर्ने कर्मचारी जस्तै हुन् । ब्यवसायी होइनन् ।

प्रधानमन्त्री केपी ओली निकट भन्दै लाभ लिएका शर्माले कांग्रेस निकट ब्यवसायीलाई लगानी नै गरी इक्यान फुटाए । इक्यानमा नेकपा विशेषगरी पूर्वएमालेको बाहुल्यता छ । नेकपाकै बिरुद्ध शर्माले कांग्रेस निकट ब्यवसायी उचालेर इक्यान फुटाए । इक्यान आइडीपीको स्वार्थमा नचलेपछि फुटाइएको ब्यवसायी सबैलाई थाहा छ । आइडीपीका पर्दापछाडिका संचालक अल्फाबिटाका शर्मा हुन् । बाहिर देखावटीरुपमा आइडीपीका संचालक निरज सिटौला.(भूपेन्द्र) हुन् ।

नेपालमा शैक्षिक परामर्श संस्थाहरु बन्द गराउने र आइडीपीले मात्र अष्ट्रेलिया विद्यार्थी पठाउनेगरी सिन्डिकेट लागू गराउन इक्यान फुटाएका थिए । तर शिक्षा मन्त्रालयले शर्माको नियत थाहा पाएपछि आइडीपी बन्द गर्न निर्देशन दिएको थियो । तर अल्फाबिटाका शर्माले अदालतमा रिट दायर गरी अन्तरिम आदेशका भरमा आइडीपी संचालन गर्दैआएका छन् । जसका कारण शैक्षिक परामर्श ब्यवसायीहरु मर्काृमा परेका छन् । अदालतको अन्तरिम आदेशका लागि शर्माले ठूलै रकम घुसमा खर्च गरेको आरोप छ । अन्तरिम आदेशका भरमा उनले आइडीपीबाट अष्ट्रेलियामा विद्यार्थी पठाउने गरेका छन् । अल्फाबिटाले करोडौं रुपैयाँ करछली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पनि छापा हानिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्