Logo
Logo

म नायिकाभन्दा बढी गायिका हुँ-बबी लिम्बू, गायिका


- दृष्टि न्युज/संवाददाता


एक समय मोडलिङ खुबै रुचाउँथिन् तर, पछिल्लो समय उनी गायनमा व्यस्त छिन् । तीन नेपाली फिल्म र आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेपछि बबी लिम्बूले एकाएक गायनमा ‘टर्निङ’ गरिन् । ‘वसन्त ऋतु’, ‘रिसिम’जस्ता नेपाली फिल्ममा अभिनय गरेर ‘नायिका’का रुपमा चिनिएकी बबी भन्छिन्, ‘म नायिका होइन, गायिका हुँ ।’ उनले सानैदेखि गायनमा रुचि भएको बताउँदै ‘मोडल’ वा ‘हिरोइन’ भनेको मननपर्ने सुनाइन् । ‘आफ्नै इच्छाले मोडलिङ छाडेर गायन अँगालेकी हुँ’, बबी भन्छिन्, ‘एक समय फिल्ममा रुचि थियो, त्यो समय गइसक्यो ।’ पछिल्लो गीत ‘भन कुनचाहिँ खुसी दिऊँ तिमीलाई’को भिडियो छायाँकनका लागि मुस्ताङ पुगेकी बबीले भनिन्, ‘नेपाली गीतसंगीतले खोजेपछि ढिलै भएपनि गायनमा आएँ, अब निरन्तरता दिनेछु ।’ मोडल तथा नायिकापछि ‘गायिका’ बनेकी उनै बबी लिम्बूसँग जम्काभेट कुराकानी ।

अहिले के गर्दै हुनुहुन्छ ?

मेरो नयाँ गीत ‘भन कुनचाहिँ खुसी दिउँ तिमीलाई’को मुस्ताङमा छायाँकन सकेर फर्कँदैछु । यो गीतमा मेरो र सुगम पोखरेलको युगल स्वर छ । ईश्वर सिवाकोटीको शब्द रहेको यस गीतलाई अर्जुन पोखरेल सरले संगीत गर्नु भएको हो ।

एउटा गीतको छायाँकन गर्न मुस्ताङसम्म किन ?

त्यो मलाई थाहा छैन । यस गीतको अडियो भिडियोको जिम्मा अम्बिका म्युजिकले लिएको हो । सायद गीतको भाव र मुस्ताङको दृश्य संयोजन मिल्ने भएकाले नै होला ।

तपाइँलाई मुस्ताङ कस्तो लाग्यो ?

पहिलोपटक मुस्ताङ पुगेकी हुँ । यहाँ पुग्दा मलाई लाग्यो कि स्वर्ग भनेकै यही हो । अति राम्रो । सुनेको भन्दा पनि सुन्दर लाग्यो । नेपालमै यस्तो राम्रो पर्यटकीय ठाउँहरु रहेछन् । मुस्ताङलाई भनेजस्तो प्रचारमा ल्याउन सक्यो भने आन्तरिकमात्र नभएर बाह्य पर्यटक समेत आकर्षित गर्न सकिन्छ ।

तपाइँले विवाहपछि मोडलिङ र अभिनय छाड्नुभयो, आफ्नो खुसीले कि परिवारको दबावले हो ?

आफ्नै इच्छाले छाडेकी हुँ । मलाई त परिवारबाट सर्पोट भएकै हो । घरजम गरेपछि परिवारलाई पनि समय दिनुप¥यो । त्यही भएर फिल्म र मोडलिङबाट टाडा भएकी हुँ ।

तपाइँको मागी कि प्रेम विवाह ?

मागी नै हो । विवाहभन्दा अगाडि श्रीमानसँग कतै देखभेट भएकै थिएन । एक्कासी घरपरिवारमा माग्न आएपछि विवाह गरेकी हुँ ।

अब फिल्ममा प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

अँह म गर्दिनँ । मैले गायन रोजिसकेँ । गायन पनि मेरो सानैदेखिको रुचि हो । अब मलाई यसै क्षेत्रमा ठीक छ ।

अभिनय र गायन कुनचाहिँ सजिलो लाग्यो ?

कुनैपनि सजिलो छैन । दुईटै गाह्रो छ । रहर र इच्छाले गर्दा मात्र सहज भएको हो । आफूले रहर गरेको काम गर्दा कठिन काम पनि सजिलो महशुस हुँदोरहेछ । संगीत क्षेत्र त बल्ल मात्र बुझ्दैछु ।

कसरी बुझ्नुभयो संगीतलाई ?

हुन त मोडलिङ छाडेपछि संगीतमा लागेको धेरै भएको छैन । तैपनि संगीत भनेको ‘गिलासमा राखेको पानी खाए’जस्तो सजिलो नहुनेरहेछ । जति सिकेपनि नसकिने रहेछ संगीत ।

संगीत सिकेरै लाग्नुभएको होइन र ?

हो, अहिले पनि मनोज सिवासँग सिक्दैछु । त्यसभन्दा अगाडि मोहन मगर सरसँग ६ महिना र रेखा पौडेलसँग ३ महिना संगीतको कोर्ष गरेकी हुँ । उहाँहरु सबै मेरा आदारणीय गुरुहरु हुन् । उहाँहरुकै संगीत शिक्षाले म अगाडि बढिरहेकी छु ।

नेपाली गीतसंगीतमा ‘लोक ट्रेण्ड’ चलेको छ । तपाइँ कस्तो गीत गाउन रुचाउँनुहुन्छ ?

मलाई लोकभन्दा आधुनिक विशेषगरी ‘प्लेब्याक’ गीत गाउन रुचाउँछु । सुन्नचाहिँ मलाई क्लासिकल मनपर्छ ।

तपाइँको बढी सुनिएको गीत कुन हो ?

एक वर्षको अन्तरालमा मैले आधा दर्जन गीत गाएँ । ती सबै दर्शक एवं श्रोताले रुचाएका छन् । यु–ट्युबमा अहिलेसम्म बढी हेरिएको चाहिँ ‘बर्सियो माया’ र ‘फूलको बासना’ हो । ‘बर्सियो माया’ले यु–ट्युबमा तीन महिनामै ६० लाख बढी भ्युअर्स पाएको छ ।

प्रतिक्रिया दिनुहोस्