Logo
Logo

राज्य रहेसम्म चलिरहन्छन् अनेक शब्दका खेल



भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानि भएको ठहर गर्दै गुजरातको सुरत अदालतले दुई वर्ष कारागारको सजाय सुनाएको छ ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले भगौडा व्यापारी नीरव मोदी र ललित मोदीलाई लक्षित गर्दै ‘चोर मोदीहरू’ भनेका थिए । विपक्षी दलका नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टीका विधायक एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँविरुद्ध मुद्दा दायर गरे । अहिले गान्धीको सांसद पद पनि गुमेको छ ।

त्यस्तै अभिव्यक्ति गत वर्ष मङ्सिर २४ गते नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दिएका थिए । ‘गाउँतिर जाँदा राजनीतिक नेताहरूलाई जनताले कुन चोर आयो भनेर भन्ने गर्छन्, यो कुरा हाम्रा नेताहरूले थाहा पाउनुभएको छ कि छैन’, यस्तै भावको भाषण गरेपछि लिङ्देन खुब चर्चित बने ।

तथापि यस्ता खालका भनाइ हाम्रा नेता र अन्य सार्वजनिक व्यक्तित्वहरूले बेला बेलामा दिइरहने हुनाले अदालतमा मुद्दा हाल्न कसैले जाँगर लगाएनन् । एकापसमा सत्तोसराप गर्ने नेताहरूको अभिव्यक्ति त नेपाली जनतालाई पनि स्कुलिङ जस्तै भइसक्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि एयर ट्राफिक कन्ट्रोलरसँग अश्लील शब्द बोल्ने एक पाइलटलाई यही चैत ९ गते निलम्बन गरेको छ । चैत ७ गते काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले ‘मिस कम्युनिकेसन’ गरेको हुनाले निजलाई ‘ग्राउन्डेड’ गरिएको प्राधिकरणका प्रवक्ताले पत्रकारलाई जानकारी दिएका हुन् । यस केसमा भने पाइलट दण्डित हुनु भनेको सभ्य समाजका लागि जाती नै हो ।

नेपाल राज्य रहेसम्म यहाँ अनेक शब्दका खेल चलिरहन्छ, कहिले ‘मृत्युको घण्टा’ त कहिले ‘दातृरस’ । शब्दब्रह्मको महत्त्व सब राजनीतिकर्मी (राजनीतिज्ञ र राजनेता त यहाँ को पो भए र ?)ले बुझेका छन् । कसैलाई त्यही शब्द चित्त बुझ्छ, कसैलाई अपच हुन्छ । भो शब्द–पदावलीको पछि धेरै नकुदौँ ।

हामीकहाँ यस्ता शब्दको चर्चा बरोबर हुने गर्छ । प्रतिनिधिसभामा महिला सांसदलाई ‘चेली’ भनेको एक महिला सांसदले नै मन पराएनन् । गत माघ ७ गते प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद्मा महिला नेतृलाई ‘चेली’ भनेर सम्बोधन नगर्न अनुरोध गरिन् ।

‘यो सदनमा धेरै चोटि सुनियो, चेली । महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौंँ ? भन्या त सुन्या छैनाँै । त्यसैले मेरो आह्वान छ, महिला नेतृहरूलाई चेली नभनियोस्’, उनले भनेका थिए ।

चेला, चेली भनेका शिष्य, शिष्या, छात्र, छात्रा, विद्यार्थी भने जस्तै हो । छोरी, भतिजी, बहिनी आदि शब्द बुझाउन गाउँघरतिर ‘चेलीबेटी’ भनिने चलन छ । यो मायाले भनिने शब्द हो । यसमा आपत्ति जनाउने विषय के छ र ?

नेता, सांसदहरूलाई तिनका कार्यकर्ता र बेलाबखत पत्रकारहरू पनि ‘दाइ’, ‘कमरेड’ साइनो लगाउँछन् । यसमा कसैले आपत्ति जनाएको देखिँदैन । आफूहरू राज्यको माथिल्लै पदमा अर्थात् ‘माननीय’ भएकाले चेली शब्द तिनलाई मन नपरेको हुन सक्छ ।

नयाँ संविधान आएपछि कसैलाई माननीय भनिरहनु नपर्ने उठेको थियो । संसद्मा अहिले पनि प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले सांसदहरूलाई सम्बोधन गर्दा ‘माननीय’ नै भन्ने गरेका छन् । त्यसमा चाहिँ आफूले सभाका सदस्यलाई माननीय भन्दा आफूलाई पनि तिनले माननीय भनून् भन्ने भाव लुकेको हुन सक्छ । आफूलाई कसैले सम्मान देओस्, मानोस् भन्ने चाहना कसमा पनि हुँदैन र ?

नेपालीहरू आफ्ना मान्छेप्रतिको आत्मीयता जनाउन नाता नपर्नेलाई पनि सुहाउँदो भाषामा बा, बुवा, आमा, मुमा, काका, काकी, मामा, माइजू, दिदी, बहिनी, दाजु, दाइ, भाइ आदि भनी सम्बोधन गर्छन् । त्यसले एकता वा सद्भाव वृद्धि भई समाजमा मेलमिलाप बढ्छ ।

हुन त कसैलाई ‘आमा’ भनी बोलाउँदा ‘म तेरो बाबुको श्रीमती हुँ र’ भनेर कुनै महिलाले रोष प्रकट गरेको कुरा पनि सुनिएको थियो तर त्यो एकछिनलाई हँसीमजाकका लागि मात्र भयो । तर कसैलाई मान गर्दा साँच्चैको नाता खोज्ने नेपाली परम्परा छैन ।

त्यसो त दुई वर्षअघि पनि एक सांसदलाई एक सांसदले ‘भारतीय चेली’ भनेर संज्ञा दिएका थिए । त्यो चाहिँ ती सांसद विदेशी भएको भनी रोष प्रकट गरिएको अर्कै विषय थियो ।

अहिले ‘कोशी’ नाममा भएको प्रदेश नामकरणविरुद्धको आन्दोलनले एक आन्दोलनकारीले ज्यान नै गुमाउनुपरेको छ । पहिचानका लागि ‘लिम्बुवान–किरात प्रदेश’ नाम हुनुपर्ने तिनको माग जायज थियो तर जनताले पहिचानवादीलाई मत दिएर आवश्यक सिटमा नजिताएपछि प्रदेशसभाको पनि के लाग्छ र ? तथापि आन्दोलनबाट पनि नाम उल्टिन सक्छ कि, हेरौँ ।

‘…र थुतुनो जोगाऊ’, ‘बस्न पायो भन्दैमा थ्याच्च र बोल्न पायो भन्दैमा प्याच्च नबोल्नू’ भन्ने त हाम्रो उखानटुक्का नै छ नि । ‘नाममा के छ र ?’ –शेक्सपियरले ‘रोमियो एन्ड जुलियट’ नाटकमा भनेकै छन् । त्यसका पात्र जुलिएट भन्छन्, ‘नाममा के छ र ? गुलाबलाई हामीले अर्कै नाम दिए पनि त्यसले मीठो सुगन्ध दिइहाल्छ ।’

पार्टीका नाममा पनि ‘कम्युनिष्ट’ वा ‘समाजवादी’ भएका दलका नेताहरू आफू कति कम्युनिष्ट वा समाजवादी छन्, तपाईँ हामीले देखेकै छौँ । गालीशास्त्रमा माहिर नेताहरू अझ खासगरी कम्युनिष्ट पार्टीका दस्तावेजहरू एकार्कामा गरिएका सत्तोसरापले नै भरिएका होलान् ।

हालका नेकपा(मसाल)का नेता मोहनविक्रम सिंहले नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘गद्दार’सम्मको आरोप लगाए । धेरै वर्षपछि त्यसलाई फिर्ता लिनुपर्याे । अन्यले एकार्कालाई ‘कांग्रेसको पुच्छर’, ‘सिआइडी’, ‘र को एजेन्ट’, ‘सिआइएको एजेन्ट’, ‘केजिबीको एजेन्ट’, ‘नावाकाद’ (नामको वामपन्थी, कामको दक्षिणपन्थी), जडसूत्रवादी, कठमुल्लावादी जस्ता शब्दको सहारा लिएर कति आरोप लगाए, कति न्वारान गरे, लेखिसाध्य, भनिसाध्य छैन ।

‘जनयुद्ध’का बेला तत्कालीन नेकपा (माओवादी)ले तत्कालीन सरकार र तिनका सञ्चालकलाई ‘राजाको नोकर’ भन्थे । वार्ता गर्नुपरे नोकरसँग हैन मालिकसम्म नै गर्ने भनी अहङ्कार पोख्थे ।

शान्ति प्रक्रियामा आएर प्रधानसेनापति प्रकरणमा हात धुनुपरेपछि रिस पोख्न माओवादीले नेकपा(एमाले) का नेता माधवकुमार नेपालको सरकारलाई ‘कठपुतली सरकार’ भन्दै सात दिनको आमहडताल नै आह्वान गर्याे र सफल नभएपछि बीचमै फिर्ता लियो ।

एमाले नेता ओलीले माओवादीलाई के चाहिँ भन्न बाँकी राखेनन् र– ‘रिसाएको चिथर्ने बिरालो’, ‘सप्ताहको पण्डित बाख्रो’ । केही वर्षअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सत्र हजारमा पाँच हजारको जिम्मा लिन्छु’ भनेको वाक्य आफैँतिर फर्कियो ।

निरीह, निर्दाेष र निहत्थाको ज्यान लिनेसम्मको हर्कतप्रति उनी आफैँले पनि ग्लानिवश बोलेका कुराले अदालत, राजनीति, मानवाधिकार, अन्तरराष्ट्रिय अदालतसम्म फेरि उनीविरुद्ध हालै परेको मुद्दामा उनलाई तुरुन्त पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाउन गरिएको उजुरी दर्ता भएपछि वैद्यदेखि विप्लवसम्मका माओवादी एक भए । सोही मौका पारेर ओलीले फेरि माओवादी पार्टीका नेताहरूलाई ‘हत्यारा’ भन्दै जनयुद्ध दिवस मनाउँदा घोर विरोध गरे ।

‘प्रजातन्त्र’ नाम भएको पार्टीका मुखियाहरूको प्रजातान्त्रिक व्यवहार पनि भोगिएकै हो । आफ्ना पार्टीका नामबाट ‘कम्युनिष्ट’ शब्द झिकेमा अर्काे पार्टीले सत्ता खाइदिने डर एकार्कालाई छ । मनमोहन अधिकारीले उहिल्यै भनेकै थिए, ‘कम्युनिष्ट नाम र झन्डा ट्रेडमार्कका लागि मात्र हो ।’

नेकपा (एकीकृत समाजवादी) कै सम्मानित नेता झलनाथ खनालले आफूहरूको जीवनसम्म कम्युनिष्ट शब्द नछाड्ने कसम खाइसके । गत आमनिर्वाचनमा पनि आफूलाई ‘स्वतन्त्र’ मान्दै दल खोलेर २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आखिर दल नै हो, स्वतन्त्र त होइन ।

विद्यादेवी भण्डारीभन्दा फरक बन्न नयाँ राष्ट्रपति र कार्यालयको चहलपहल बढ्दो छ । साहित्यका विद्यार्थी महामहिम रामचन्द्र पौडेल आफ्नो ‘सवारी’लाई ‘सवारी’ भन्न चाहँदैनन् । सायद नयाँ शब्द चयनमा भाषाशास्त्री–साहित्यकारलाई जिम्मा दिइएको होला ।

नेपाल राज्य रहेसम्म यहाँ अनेक शब्दका खेल चलिरहन्छ, कहिले ‘मृत्युको घण्टा’ त कहिले ‘दातृरस’ । शब्दब्रह्मको महत्त्व सब राजनीतिकर्मी (राजनीतिज्ञ र राजनेता त यहाँ को पो भए र ?) ले बुझेका छन् । कसैलाई त्यही शब्द चित्त बुझ्छ, कसैलाई अपच हुन्छ । भो शब्द–पदावलीको पछि धेरै नकुदौँ ।

प्रतिक्रिया दिनुहोस्