Logo
Logo

क्यासिनो किङ बलेसहित २५ जुवाडेको बास अझै १५ दिन जेलमै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक । क्यासिनो किङ बलराम सापकोटा ‘बले’ सहित तिहारमा पक्राउ परेका २५ भीआइपी जुवाडे अझै कम्तीमा १५ दिन कष्टडीमा बस्नुपर्ने भएको छ । जुवा ऐन अनुसार जुवाडेहरु सोमबार छुटे पनि प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ । र, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मंगलबार पेश गरेको छ ।

बलराम सापकोटा ‘बले’ र पवित्रकुमार कार्की

भीआइपी जुवाडेहरुको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानिबन गर्दैछ । हिरासतमै राखी छानबिन गर्नुपर्ने भएकाले उनीहरुको मंगलबार विशेष अदालतबाट म्यादथप हुने संभावना छ । म्यादथप भएपछि उनीहरुको बयान सुरु हुनेछ । २५ जनाको बयान गराउन कम्तीमा १५ दिन लाग्ने प्रहरी अधिकारी बताउँछन् । कात्तिक १० मा महाराजगंजको साम्बला होटल पछाडि बिक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका बलराम सापकोटा, पवित्रकुमार कार्की, इन्द्र श्रेष्ठ, श्रवण गोयललगायतका जुवाडेहरु पक्राउ परेको १६ दिन बितिसकेको छ ।

सापकोटा र कार्कीले प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग घनिष्ठ सम्बन्ध रहेकाले तिहारको सार्वजनिक बिदामै छुट्नका लागि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । शक्तिको दुरुपयोग गरी रिट दर्ता गरी छुट्न खोजेपछि प्रहरीले ढिला पेश गरी उनीहरुको योजना बिफल पारिदिएको थियो । प्रधानमन्त्री र प्रधानन्यायाधीशको नाम लिएर प्रहरीलाई चुनौती दिएपछि तिहार बिदा लगत्तै छुट्ने उनीहरु १५ दिन जेलमै बस्न बाध्य भए । ३ करोड रुपैयाँ घुस खुवाएर छुट्नका लागि उनीहरुले प्रधानन्यायाधीशका भाई प्रभुलाई सेटिङ गरेका थिए । सेटिङ अनुसार नै मुद्दा न्यायाधीश पुरुषोत्तम भण्डारीकोमा पारिएको थियो । तर प्रहरीले ढिला पेश गरेको र अदालतका कर्मचारी बिदा भएकाले हिंडेपछि रिहा हुने आदेश नै हुन सकेन ।

यसरी पावरको दुरुपयोग गरी तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिट दायर गरेर छुट्न खोजेपछि प्रहरी थप रुष्ट भयो । र, जुवा ऐन अनुसाार मात्र नभई सम्पत्ति शुद्धिकरणमा पनि उनीहरुको छानबिनका लागि फाइल पठाएपछि उनीहरु थप १५ दिन जेलमै बस्नुपर्ने भएको छ । पावरको दुरुपयोग नगरेको भए उनीहरु कात्तिक १४ वा १५ मै छुटिसक्थे । तर पावरको अधिक दुरुपयोगले उनीहरु १५ दिन बस्न बाध्य भए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीहरुसँग बयान लिनका लागि विशेष अदालतमा लानेछ । विशेष अदालतमा उनीहरुको बयान हुनेछ । महानगरी प्रहरी बृत्त महाराजगंजका डीएसपी उमेश लम्सालको टोलीले उनीहरुलाई जुवाखालबाट पक्राउ गरेको थियो । सापकोटा र कार्कीले डीएसपी लम्साललाई फुली नै खोसिदिने धम्की दिएकाले पनि उनीहरुको तुजुक डाउन गर्नका लागि सामान्यतया ४ देखि ६ दिनमा पेश गरिने मुद्दा प्रहरीले नै १५ दिन लगाएको थियो ।   डीएसपी लम्सालले विनामोलाहिजा पावरको दम्भ देखाउनेको धम्कीका सामु नझुकी बले र कार्कीलाई पक्राउ गरी कर्तब्य निर्वाह गरेका छन् ।

‘क्यासिनो किङ’ बले र डाइनेष्टीका संचालक कार्कीले झापाको बिर्तामोडमा पाँचतारे होटल मेची क्राउन निर्माण गरिरहेका छन् । जहाँ क्यासिनो पनि संचालन गर्ने दाउमा उनीहरु छन् । अब बलेसहितका नवधनाढ्यहरुको अकूत सम्पत्तिको स्रोतका बारेमा विभागले छानबिन गर्ने ढोका खुलेको छ ।

प्रहरीले पक्राउ गरिसकेपछि भीआइपी जुवाडेहरुमध्येका केही बिरामीको बहाना बनाई आइतबारसम्म राजसी ठाँटका साथ ह्याम्स अस्पतालमा बसे । अस्पतालमा बसेपछि इन्द्रबहादुर श्रेष्ठ, पवित्रकुमार कार्की, बलराम सापकोटा, सोहेल कार्की, पवनकुमार गुप्ता, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, शम्भुकुमार बुढाथोकी, रञ्जन राजवंशी र मुकुन्द बस्नेत अस्पतालमा बसेका थिए । सोमबारबाट उनीहरु प्रहरी हिरासतमै बसेका छन् ।

पक्राउ पर्नेहरुमा जुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, इन्द्रबहादुर श्रेष्ठ, रञ्जन भण्डारी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, शोभित सिलवाल, सोहेल कार्की, पवनकुमार गुप्ता, गेल्जे लामा, पवित्रकुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुलीलाई पक्राउ गरेको थियो । यी सबैको सम्पत्ति शुद्धिकरणले बयान गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्