Logo
Logo

लिपुलेकको सुरक्षामा सशस्त्र प्रहरी खटाउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कात्तिक ।

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ ।
लिपुलेक क्षेत्रमा सीमा अतिक्रमण बढेपछि गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई त्यहाँ स्थापना गर्न लागेको हो । लिपुलेक तथा कालापानी क्षेत्र आफ्नो दाबी गरी भारतले हालै नक्सा सार्वजनिक गरेपछि विवाद चर्किएको थियो ।


सरकारले सीमा बिओपीको संख्या बढाउन लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना गर्न लागिएको छ । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ । भौगोलिक रूपमा निकै कठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।

लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा ट्रान्जिट बनाउने सम्झौता गरेका थिए । सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आपराधिक घटना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो । ‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’

गत आर्थिक वर्ष ०७५र७६ मा सशस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा र्पुयाएको छ । नेपाल र भारतीबीच एक हजार सात सय ५१ किलोमिटर लामो सीमा छ । जहाँ भारतको सशस्त्र सीमा बलको पाँच सय ११ बोर्डर पोस्ट छन् । भारतको तुलनामा सीमामा नेपालको उपस्थिति निकै कमजोर छ । गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नारायण शर्मा दुवाडीले हरेक आठ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको कार्यालय राख्ने गरी सीमा सुरक्षाको योजना अघि बढाइएको बताए । जसका लागि करिब दुई सय १८ बीओपी आवश्यक पर्छ । हाल १६ किलोमिटरको फरकमा बीओपी छन् । बीओपीका लागि छुट्टै दरबन्दी आवश्यकता नपर्ने भएकाले कार्यालय खडा गरी जिल्लाका गण तथा गुल्मबाट खटाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्