Logo
Logo

कलाकारको आवरणमा अपराध



काठमाडौं । जुनसुकै देशमा पनि कलाकारलाई राष्ट्रका गहनाका रुपमा सम्मान गरिन्छ । तर, कतिपय कलाकारले त्यो इज्जत राख्न सकेका छैनन् । कलाकारिताकै सहयोगमा उनीहरुले विभिन्न किसिमका अपराध गरेका छन् । जसमध्ये कतिपय त गम्भीर किमिसको अपराधमा समेत लागेका छन् । जसले गर्दा सिंगो कलाकारिता क्षेत्रकै बदनाम हुँदै गएको छ । नेपालमा झन्डै एक दर्जन कलाकारहरु विभिन्न अभियोगमा पक्राउ परेका छन् ।

१२ करोड ठगीमा गीतकार
धेरैवटा चर्चित गीत लेखेका योगेन्द्रमणि दाहाल गीतकार संघका पूर्व अध्यक्ष समेत हुन् । गत २७ गते उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पछि उनी जेल चलान भएका छन् ।
ठगी मुद्दामा दुई वर्षअघि ललितपुर प्रहरीले पक्राउ गर्दा उनी धरौटीमा छुटेका थिए । पछि अदालतले उनलाई १२ करोड ३५ लाख जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो । गत वर्ष मंसिरमा ललितपुर जिल्ला अदालतले दोषी ठहर गरेकोमा उनी फरार रहदै आएका थिए । प्रहरीले पक्राउ गरी उनलाई जेल चलान गरेको छ ।
नेपाल बिटुमिन तथा व्यारेल उद्योग लिमिटेडमा लेखा अधिकृतका रुपमा काम गर्दा उनीमाथि अनियमितताको आरोप लागेको थियो । सञ्चालक अशोककुमार श्रेष्ठले उनीविरुद्ध उजुरी गरेका थिए । सरकारको समेत लगानी रहेको सो कम्पनीमा करोडौं हिनामिना भएको थियो । लेखा अधिकृतलगायत मिलेर हिनामिना गरेका थिए । जसमा प्रहरीले ठगी मुद्दा चलाएको थियो ।

मानव बेचबिखनमा राजेन्द्र खड्गी
चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गत वर्ष माघमा उनलाई पक्राउ गरेको थियो ।
पछि उनी पाटन उच्च अदालतबाट पाँच लाखौं धरौटीमा छुटे । खड्गीले फिल्मको सुटिङका लागि भन्दै दक्षिण कोरिया लगेका व्यक्तिहरु कोरियामै लुकेका थिए । १२ जना सुटिङ युनिटका रुपमा गएका १० जना उतै लुकेका थिए । उनीहरु लामो समयसम्म नफर्किएपछि नेपालस्थित कोरियन दुतावासले यसबारे प्रहरीलाई जानकारी गराएको थियो । सोही आधारमा सिआईबीले अनुसन्धान गरि उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कोरियन नागरिकसँगै मिलेर खड्गीले यसरी मानव तस्करी गरेको खुलेको थियो ।

सुदर्शनको अन्तराष्ट्रिय गिरोह
हिम्मतवाली फिल्मको नायकका रुपमा चर्चा कमाएका सुदर्शन गौतम अन्तराष्ट्रिय मानव तस्करी गिरोहका नाइके भएको खुलेको छ । उनले नेपाली युवा युवतीलाई अमेरिका तस्करी गर्दै आएका थिए । विगत एक वर्षदेखि उनी फरार सूचिमा छन् ।
उनले बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दलाई अमेरिका पठाउने भन्दै अलपत्र बनाएर फर्काएका थिए भने उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको मृत्यु भएको थियो ।
बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले मिलेर तीन युवतीलाई हाइटी लगेका थिए । भारत हुँदै उनीहरुलाई त्यहाँ पु¥याइएको थियो । अन्य व्यक्तिहरुले पनि सुदर्शनविरुद्ध जाहेरी दिएका छन् । श्रीश लगायत हाल नेपालको जेलमा छन् ।
सुदर्शनलाई पनि नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत प्रयास गरिरहेको छ । एउटा मात्र हात भएका उनी क्यानेडियन नागरिक भइसकेका छन् । जसकारण नेपाल ल्याउन समस्या भएको छ ।
नायिका रेखा थापासँग मिलेर उनले हिम्मतवाली फिल्म बनाएका थिए । सगरमाथा समेत चढेर चर्चा कमाएका गौतमले धेरै व्यक्तिहरुलाई ठगी गरिसकेको खुलेको छ ।

लुटका निर्माता नक्कली नोटको कारोबारमा
लुट नामक चर्चित फिल्म बनाएर चर्चा कमाएका निर्माता माधव वाग्ले गत जेठमा फिल्मी शैलीमा पक्राउ परे । नक्कली नोटको कारोबार गरेको गम्भीर मुद्दा गत जेठमा उनीमाथि प्रहरीले दर्ता ग¥यो ।
उनले फिल्म चंगा चेटका लागि नक्कली नोट छापेका थिए । तर, त्यसरी छापिएको नोट उनका केही सहयोगीले दुरुपयोग गरी पसलमा दिएपछि उनी ठूलो समस्यामा परे । जिल्ला अदालतले समेत पक्राउ परेका वाग्लेसहित उनका सहयोगीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दियो । पछि उच्च अदालतबाट उनी छुटेका थिए । गत जेठ २ गते प्रहरीले दुई करोड ५० लाख नक्कली नोटसहित वाग्ले र उनका सहयोगीलाई पक्राउ गरेको थियो ।

जेलमा प्रकाश ओझा
‘बाउले बिहे गर्देनन् पोरपनि, भत्काइदिन्छु बाख्राको खोर पनि’ भने गीतबाट चर्चित बनेका गायक प्रकाश ओझाको भित्री मन भने अपराधिक थियो । उनी युवतीहरुलाई वेश्यावृत्तिमा लगाउने तथा ब्लु फिल्म बनाउने धन्दामा संलग्न भएको खुल्यो । दुई वर्षअघि सिआईबीले पक्राउ गरेका उनी हाल जेलमा छन् । मानव बेचविखन तथा ओसार पसार मुद्धामा उनलाई १० वर्ष कैद सजाय भएको थियो ।
सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरिसकेको छ । २०५९ सालदेखि लगातार २ वर्ष अनूचित प्रभावमा पारी तीन जना नाबालिकालाई यौन शोषण गरेको भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेभसाइटमा प्रकाशित गरेको ठहर गर्दै यही माघ ४ गते मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो ।
सुनसरीको इटहरी नगरपालिका–४ घर भएका ओझा अदालतको फैसला लगत्तै फरार भएका थिए । उनलाई सिआईबीको टोलीले पक्राउ गरी फैसला कार्यान्वयका लागि पक्राउ गरी जेल चलान गरेको थियो ।

साइबर क्राइममा निर्देशक
निर्देशक डिक खड्का पनि प्रहरी फन्दामा परेका छन् । साइबर क्राइम मुद्दामा उनलाई अपराध महाशाखाले गत वर्ष पक्राउ गरेको थियो । आफ्नै साथीकी श्रीमतीलाई अश्लील सन्देश पठाएको आरोपमा उनीमाथि उजुरी परेको थियो । पछि उनी धरौटीमा छुटे ।
एक खुट्टाले कुशल नृत्य गरेर चर्चित बनेकी डान्सर रोमा न्यौपानेको आर्थिक कारोबार भने अस्तव्यस्त बन्यो । कलाकारकै आवरणमा विभिन्न व्यक्तिहरुलाई प्रभावमा पारेर उनले ठगी गरिन् । एक संस्थाको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा गत वर्ष काठमाडौं परिसरले उनलाई पक्राउ गरेको थियो । उनीमाथि ३६ लाख ठगीको आरोप लागेको थियो ।
त्यस्तै गायिका सिर्जना विरही थापा जुवाको खालबाट पक्राउ परेकी थिइन् । नियमित रुपमा जुवा खेल्ने उनी नयाँबजारबाट पक्राउ परेकी थिइन् । जुवालगायत अन्य गतिविधिमा लागेपछि उनको गायकी खस्कँदै गएको छ । बनको काफल बनकै चरीलाईलगायत चर्चित गीत उनले गाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्