Logo
Logo

अब रोटरीको उद्देश्य ‘साक्षर नेपाल’


- दृष्टि न्युज/संवाददाता


काठमाडौंँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ ‘उद्देश्य के लिनु छुनु चन्द्र एक ।’ हरेक रोटरियनहरुले मनन गर्नुपर्ने कुरा हो यो । उद्देश्यबिनाको मान्छे हुँदैन, लक्ष्यबिनाको गन्तव्य हुँदैन । उद्देश्य र लक्ष्य लिएर हिँडेपछि गन्तव्यमा अवश्य पुगिन्छ । तर, त्यसका लागि निरन्तरताको आवश्यकता पर्छ । रोटरी इन्टरनेशनलले आजभन्दा करिब ४० वर्ष अगाडि विश्वबाट पोलियो उन्मूलन गर्ने उद्देश्य लियो । आज त्यो उद्देश्यलाई विश्वका रोटरियनहरुले गन्तव्यमा पु¥याएरै छाडे । आजको विश्व पोलियोमुक्त विश्व बनेको छ । त्यो सफलताको पछाडि हामी रोटरियनहरुको निरन्तर प्रयास नै प्रमुख कारण हो । अब हामीले सन् २०३० सम्म विश्वबाटै निरक्षर हटाउने उद्देश्य लिएका छौँ । त्यसलाई सफल पार्ने दायित्व पनि हामी रोटरियनहरुको काँधमा आइपरेको छ ।

उक्त कुरा रोटरी क्लबका गभर्नर किरणलाल श्रेष्ठले गत बिहीबार बनेपामा आयोजित रोटरी क्लब अफ काभ्रे बनेपाको १८ औँ चार्डर डेको उद्घाटन गर्दै बताउनुभएको हो । सो अवसरमा गभर्नर श्रेष्ठले सरकारले सुखी नेपाली, समृद्ध नेपालको उद्देश्य लिएको छ । त्यो उद्देश्य पूरा गर्न सबैभन्दा पहिला नेपालबाट  साक्षर अभियान थाल्नुपर्छ । शिक्षा नै ज्ञानको ज्योति हो भनेझैँ नेपाली जनता शिक्षाको उज्यालोबाट बञ्चित हुँदासम्म सुखी नेपाली समृद्ध नेपाल बन्न सक्दैन भन्नुभयो । उहाँले नेपालजस्तो गरिबी, भोक, रोग र शोकमा डुबेका लाखौँ परिवारले आफ्ना छोराछोरीलाई विद्यालयसम्म पनि पु¥याउन सकेका छैनन् । ती विपन्न गरिब जनताका छोराछोरीलाई स्कूल पठाउने र शिक्षित बनाउने जिम्मा हामी रोटरीयनहरुले लिएका छौँ । अब हाम्रो उद्देश्य हरेक नेपालीलाई शिक्षाको ज्योति दिनु हो ।

डिष्ट्रिक गभर्नर श्रेष्ठले शिक्षालाई जोड दिँदै रोटरी क्लबले भूकम्पमा भत्केका स्कूलको पुनःनिर्माण गरेको, विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको चर्चा गर्दै अब हरेक स्कूललाई ‘ह्याप्पी स्कूल’ बनाउनुपर्नेमा जोड दिनुभयो । रोटरी क्लब अफ काभ्रे बनेपाका अध्यक्ष रामप्यारी बज्राचार्यको उदाहरण दिँदै हरेक रोटरियनहरुले रामप्यारीबाट शिक्षा लिनुपर्ने बताउनुभयो । अध्यक्ष रामप्यारीले विभिन्न जिल्लाका विपन्न वर्गका २८१ जना छात्रछात्रालाई कक्षा १ देखि १० कक्षासम्मका छात्रवृत्ति प्रदान गर्नुभएको छ भने, २७ जना महिलालाई घरमै साक्षरता अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

उक्त चार्टर डे मा नयाँ सदस्य मनोज श्रेष्ठ, डा. राजन न्यौपाने, डा. मनिष आचार्य, प्रा. सरिना शाक्य र सुमन चौ प्रधानलाई गभर्नर श्रेष्ठले रोटरी ‘पिन’ लगाएर रोटरी क्लबमा स्वागत गर्नुभएको थियो । नयाँ सदस्यलाई स्वागत गर्ने क्रममा गभर्नर श्रेष्ठले सदस्य भनेको रोटरीको पूँजी हो, सदस्यताबिना समाजसेवा गर्न सकिँदैन, त्यसैले रोटरीमा नयाँ सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । तर, रोटरीको ‘पिन’ लगाउँदैमा रोटरियन भइहाल्दैन । रोटरीको उद्देश्यअनुरुप काम गरेमा मात्र समाजले उसलाई रोटरियन भन्ने चिन्छ । त्यसैले हरेक दिन हरेक सदस्यले रोटरीको तर्फबाट केही न केही राम्रा काम गर्नुपर्छ भन्नुभयो ।

संसारभर छरिएर रहेका १२ लाख रोटरियनहरुले हरेक दिन, हरेक घण्टा, हरेक मिनेट समाजसेवा गरिरहेका छन् । हामीले पनि समाजको आवश्यकता पहिचान गरेर समुदायलाई केही दिन सक्यौँ भने मात्र समाजले हामीलाई रोटरियन भनेर सम्मान गर्छ, त्यो नै हाम्रो पहिचान हो, गभर्नर श्रेष्ठले भन्नुभयो । क्लबको गतिविधिका विषयमा हिरा शर्माले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्