Logo
Logo

राष्ट्रिय एकताभित्रको कुरा


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ । पुस २७ गते । अर्थात् पृथ्वी जयन्ती । २९७औँ पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहप्रति सम्मानका शब्द उच्चारण गर्न कन्जुस्याइँ गरेनन् । बरु उक्त दिन सरकारले सार्वजनिक बिदा दिन भने कन्जुस्याइँ ग¥यो । प्रधानमन्त्री ओलीले ‘नेपालको एकीकरण अभियानले नै विश्वमा हामी नेपाली भनेर गौरव गरेको बताउँदै राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यो बेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन’ भनेका छन् । सरकार प्रमुखबाट आएको यो शब्दले आगामी दिनमा पुस २७ गते सार्वजनिक बिदा दिने कुराको संकेत गरेको छ ।

शम्भु श्रेष्ठ

नेपालमा अनेकौं दिवसका नाममा दिइने सार्वजनिक बिदाभन्दा पुस २७ को बिदा महत्वपूर्ण छ । यो पृथ्वी जयन्ती मात्र नभई राष्ट्रिय एकता दिवस पनि हो । नेपालको संविधानमै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उल्लेख छ । यसको अर्थ पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई अक्षुण्ण राख्ने जिम्मेवारी हामी नेपालीको काँधमा आएको छ । नेपाल एकीकरणपछि नेपालमा विभिन्न शासन र व्यवस्था परिवर्तन भयो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दा राजनीतिक व्यवस्था मात्र परिवर्तन भएन, त्यो सँगसँगै यतिका वर्षसम्म मिलेर बसेका हामी नेपालीबीच धर्म र जातियताको बिउ रोप्ने काम भयो । हिजो हामी जातले जे भए पनि नेपाली भनेर गर्व गथ्र्यौ । तर, आज हामीले जातलाई माथि देशलाई तल पार्ने काम गरिरहेका छौँ । यो कुरा हामीले हाम्रो हितका लागि गरिरहेका छौँ कि अहितका लागि भन्ने कुरा समयमै बुझ्न सकेनौं भने नेपाल भन्ने देश कुनै बेला विश्वको इतिहासबाट मेटिने छ ।
संघीयता त्यसको प्रस्थानविन्दु हो । विश्वका धेरै देशहरु टुक्राटुक्रा राज्य मिलेर संघीयतामा गएका छन् भने हामी नेपालीले सिंगो देशलाई सात प्रदेशमा विभाजित गरेर संघीय लोकतन्त्रको उल्टो अभ्यास गरिरहेका छौँ । काशी जाने कुतीको बाटो भनेको सायद यही होला । अझ कतिपय नेताहरुले त संघीयताले मात्र हुँदैन, आत्मनिर्णयको अधिकार दिनुपर्छ भनिरहेका छन् । स्मरणरहोस्, आत्मनिर्णयको अधिकारले सोभियत संघ विघटन भयो । विश्वको शक्तिशाली देश टुक्राटुक्रा बन्यो । इतिहासबाट पाठ सिकिएन र पुस २७ गते मात्रै औपचारिकताका लागि राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको भाषण गर्न थाल्यौं भने हिजो जसले पृथ्वीनारायण शाहको शालिक ढाले, भोलि तिनैले नेपाललाई क्रिमिया बनाएर छाड्नेछन् । यसको अभ्यास पनि संघभित्र शुरु भइसकेको छ । तराईमा स्वायत्त मधेसको नाममा, पहाडमा जातियताको नाममा आन्दोलन शुरु भइसकेकोले दुईतिहाइको नेकपाको सरकार गम्भीर हुनु जरुरी छ ।
राजनीतिलाई सिद्धान्त, विचार र दर्शनले ‘गाइड’ नगर्ने हो र भोट बटुल्नका लागि मात्रै जातियता, धर्मको नारा अगाडि सा¥यौं भने त्यही जातियताको र धर्मको द्वन्द्वले देश समाप्त हुनेछ । खासगरी माओवादी ‘जनयुद्ध’ भन्दा अगाडि यस्तो परिस्थिति निर्माण भएको थिएन । धर्म निरपेक्षता र जातिय राज्यको बीउ तत्कालीन माओवादीले रोपेका हुन् । उनीहरुले बुझेर त्यो बीउ रोपे अथवा राज्यसत्तामा पुग्न कसैका लागि बोकिदिए भन्ने कुराको पनि नेकपाभित्र गम्भीर छलफल हुन जरुरी छ । कम्युनिष्ट विचारधारा भनेकै आत्मआलोचनाबाट अगाडि बढ्ने पद्धति हो । कम्युनिष्टहरुकै जोडबलले नेपालमा यति ठूलो राजनीतिक परिवर्तन भएको हो । त्यो परिवर्तनको प्रतिफललाई गाउँ गाउँमा पु¥याउन सकिएन भने भोको पेटले विद्रोह जन्माउँछ । जनयुद्धको जग पनि त्यही भोको पेटबाट उठेको हो र यो दुईतिहाइको जग पनि त्यही नै हो । नेपालको इतिहासमा जनताले एक पटक नेकपालाई विश्वास गरेर हेरेका छन् । नेकपाको दुईतिहाइ सरकारको लागि यो अवसर र चुनौती हो । यो पाँच वर्षभित्र प्रधानमन्त्री ओलीले भनेझै सुखी नेपाली, समृद्ध नेपाल बनाउन सरकार र पार्टी प्रतिबद्ध हुनुपर्छ । अन्यथा, अहिले नै टुट्न थालेको धैर्यता पाँच वर्षपछि जुट्न फेरि गाह्रो हुनेछ । प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई भरोसा गरेका नेपाली जनतालाई आशावादी बनाउँदै अगाडि बढ्नु नै राष्ट्रिय एकतालाई बलियो बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्