काठमाडौं, १ मंसिर ।
कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापाले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । श्रीमतीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।
थापाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५।०२।०४ गतेदेखि आ.व. २०७५र०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा निजले सोही अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको खर्च व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएबाट स्रोत खुल्न नआएको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज चिरञ्जिवी थापा उपर विगो रु. १,१३,६०,४१०।९५ (एक करोड तेह्र लाख साठी हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसा) कायम गरी आयोगले मुद्दा दायर गरेको हो ।
साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं स्रोत नखुलेको सम्पत्ति तथा लगानी खर्चहरु बराबरको स्रोत खुलाउन नसकेको हुँदा स्रोत खुल्न नआएको सम्पत्ति तथा लगानी खर्च विगो रु. १,१३,६०,४१०।९५ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदावी लिइएको आयोगले जनाएो छ ।
चिरञ्जिवी थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत परिवारका सदस्यहरु श्रीमती गोमा कट्टेल थापासमेतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेकोले स्रोत नखुलेको अचल सम्पत्ति श्रीमती गोमा कट्टेल थापाको नाममा रहे भएको पाइएकोले सो स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।