Logo
Logo

हाइकिङका माध्यमबाट पर्यटकीयस्थलको प्रवद्र्धन


- दृष्टि न्युज/संवाददाता


पोखरा, २ मङ्सिर । हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवद्र्धन गरेको छ ।

हाइकर्स क्लब नेपालको आयोजनामा हाइकिङ गर्दै पोखरा महानगरपालिका २१ मट्टीखान पुगेका आन्तरिक पर्यटकको टोली । क्लबले हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीय स्थानको प्रवद्र्धन गर्दै आएको छ ।

पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौँ संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै आइएको बताउँदै उहाँले स्वास्थ्य र पर्यटनको लागि हाइकिङ नाराका साथ यस अघि मिर्सा, काहुँडाँडा, शान्ति स्तुपा, चिलाउने खर्क, ठूला कोटलगायतका सात पर्यटकीय ठाउँसम्म हाइकिङ गरिसकिएको जानकारी दिनुभयो ।

हाइकिङसँगै घरवास सञ्चालित गाउँको प्रवद्र्धनको समेत उद्देश्य राखेका कारण गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)सँग पनि सहकार्य गरिएको रानभाटले बताउनुभयो । छोटो दूरीका पदमार्ग, पर्यटकीयस्थलको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्दै अघि बढिने उहाँको भनाइ छ ।

आठौं संस्करणको हाइकिङका क्रममा २१ जना सहभागी भएको जानकारी दिँदै ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले स्याङ्जा र कास्कीको सिमानास्थित कुभिण्डेबाट पदयात्रा गर्दै रामकोटस्थित गुरुङ सङ्ग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारकका साथै त्यहाँका ग्रामीण जनजीवनको अवलोकन गर्दै मट्टिखान पुगेको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्