Logo
Logo

तराईमा एउटा आलम आतंकको अन्त्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३ मंसिर । देशमा राजनीतिक स्थायित्व भयो भने त्यसले कानूनी शासनमा कति धेरै फरक पार्छ भन्ने कुरा अफताब आलम प्रकरणले प्रष्ट पारेको छ । क्रुर तरिकाले बम बिष्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको यो घटना छर्लङ्ग हुँदा पनि विगतमा राजनीतिक अस्थिरताकै कारण कुनै पनि सरकारले उनलाई जेल हाल्ने आँट गर्न सकेका थिएनन् । उल्टै उनलाई पटक–पटक मन्त्री बनाइयो । किनकि आलमको राजनीतिक शक्तिले सरकार नै डराउने अवस्था आएको थियो । अन्ततः १२ वर्षपछि आलम जेल जान बाध्य भएका छन् ।

के–के मात्र गरे आलमले ?

पक्राउ परेपछि छुट्नका लागि आलमले अनेक हत्कण्डा प्रयोग गरे । सुरुमा प्रहरीलाई नै उनले धम्काए । रौतहटका एसपी भूपेन्द्र खत्री र डिएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्लामा आगो बाल्ने भनेर धम्काएको भिडियो नै सार्वजनिक भइसकेको छ । पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै उनले त्यसरी धम्काएका थिए । पक्राउ पूर्जी समेत उनले लिन मानेनन् ।

प्रहरीले प्रशस्त प्रमाण संकलन गरिसकेको थाहा पाएपछि काठमाडौँबाट ठूला वकिलहरु झिकाए । सामान्यतया एक जना मात्र पक्राउ अभियुक्त भएको मुद्दामा मुद्दा दायर भएपछि एक÷दुई दिनमै थुनछेक आदेश हुन्छ । आलमको मुद्दामा १२ दिन लाग्यो । घटनाका पीडित र साक्षीलाई त्रास र आशमा पारेर बयान फेर्नका लागि उनले धेरै वकिल राखेर थुनछेक बहस लम्बाएका थिए ।

बिष्फोटमा घाइते भएका गौरीशकर रामलाई उनले अपहरण गरेर बयान फेर्न लगाएको मंगलबार खुलेको थियो । गत सोमबार अदालतमा उनले स्टोफ पड्किएर मृत्यु भएको भन्दै निवेदन दिएका थिए । अपहरण गरेर उनलाई त्यसरी बयान फेर्न दबाब दिइएको उनले बताएका हुन् । हाल उनले प्रहरी सुरक्षा माग गरेका छन् ।

त्यस्तै मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले समेत आफ्ना श्रीमान बैदेशिक रोजगारमा गएकोमा हराएको भनेर अदालतमा निवेदन दिएकी थिइन् । तर, अख्तरले पासपोर्ट बनाएको विवरण समेत आलम पक्षले दिन सकेको छैन । जबकि, ओसीको मृत्युदर्ताको प्रमाणपत्र समेत प्रशासन दिइसकेको छ । पाँच लाख रुपैयाँ नगद र पाँच कठ्ठा जग्गा दिने प्रलोभनमा पारेर यसरी जाहेरकर्तालाई आलमले प्रभावित बनाउने प्रयास गरेका हुन् । अदालतले सो निवेदन स्वीकार गरेको छैन ।

पीडितको हत्यादेखि बम बिष्फोटसम्म

ईटा भट्टामा जलाइएका ओसी अख्तरकी आमाको ६ वर्षअघि गोली हानेर हत्या भएको थियो । उनले नै आलमलाई पक्राउ गर्न हार गुहार गर्दै हिडेकी थिइन् । आलमकै निर्देशनमा त्यसरी गोली हानिएको आशंकामा अहिले फेरि आलममाथि अनुसन्धान भइरहेको छ ।

त्यस्तै गत मंगलबार रौतहटको एक प्रहरी चौकीमा बम प्रहार घटनाको पनि प्रहरीले आलमसँगै जोडेर अनुसन्धान गरिरहेको छ । रौतहटको ईशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार भएको थियो । जसमा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएका थिए । मोटरसाइकल चालक कुमारलाई पक्राउ गरेपनि बम हान्ने व्यक्ति पक्राउ परेका छैनन् ।

विभिन्न कोणबाट अनुसन्धान गर्दा यसमा आलम निकट व्यक्तिहरुको गतिविधि हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ । ‘विप्लव समूहले प्रहरी कार्यालयमा आक्रमण गर्ने नीति लिएको छैन,’ एक प्रहरी अधिकारी भन्छन्,‘तराईमा अहिले भूमिगत समूहहरु पनि छैनन्, त्यसकारण यो घटनालाई हामीले आलमसँगै जोडेर हेरेका छौं ।’ सो घटनापछि प्रहरीले समेत सतर्कता बढाएको छ ।

पीडितहरु अझै त्रासमा

जाहेरकर्तामध्ये श्रीनारायणसिंह राजपुत र सफि अहम्मदलाई सुरक्षा दिँदै आएको छ । आलमका सहयोगीहरुले पहिलेदेखि नै धम्क्याउँदै आएकाले उनीहरुलाई प्रहरीले सुरक्षा दिएको हो । अन्य केही साक्षीहरुलाई समेत प्रहरीले सुरक्षा दिएको छ । स्रोतका अनुसार दुई साक्षीलाई अन्य जिल्लामा लगेर प्रहरीले सुरक्षा दिएको छ ।

जाहेरवाला तथा साक्षीहरुलाई धम्क्याइएको पाइएपछि अदालतले उनीहरुको सुरक्षामा विशेष व्यवस्था गर्न चार बुँदे आदेश दिएको छ । सुरक्षितरुपमा अदालत ल्याई, बसोबाससम्म सुरक्षित रुपमा पु¥याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोबास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत वासस्थानको सुरक्षा मिलाउने तथा उनीहरुको सुरक्षामा खलल पु¥याएमा कानूनी कारबाही गर्न समेत अदाललते आदेश दिएको छ ।

आलमलाई जेल पठाउने ६ प्रमाण

मृतकहरुको शव भेटिएको छैन । तर बिष्फोट भएको दिनदेखि उनीहरुको भौतिक अस्तित्व नदेखिएकाले बिष्फोटका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया घाइते भएकोमा ईटा भट्टामा हालेर उनीहरुको हत्या गरेको पीडितहरुले बताएका छन् । त्यसलाई मुख्य प्रमाण मानिएको छ । आलमविरुद्ध घाइते भएका गौरीशंकर राम र सफि अहमदले जाहेरी दिएका थिए । उनीहरुको शरिरको खत र शारिरीक परीक्षण रिपोर्टलाई अदालतले अर्काे बलियो प्रमाणको रुपमा मानेको छ ।

त्यस्तै मृत्यु दर्ता प्रमाणपत्रलाई अर्काे बलियो प्रमाण मानिएको छ । पिन्टुकी आमा कमलादेवी सिंहले छोराको इँटाभट्टामा हालेर ह्त्या गरेको कागज गरिदिएकी थिइन् । आदेशमा भनिएको छ,‘मृत्यु नभएको भए पनि कसैलाई दोष लगाउनका लागि मात्रै नमरेको व्यक्तिलाई मरेको भनी मृत्यु दर्ता प्रमाणपत्र बनाएको होला भनी अनुमान गर्ने कुरा भएन ।’

त्यस्तै विभिन्न साक्षीहरुले गरेको कागज प्रमाणका रुपमा सुरक्षित छ । त्यतिबेला इँटाभट्टामा काम गर्ने कामदारहरुले नै घाइतेहरुलाई जलाएको हो भनेर कागज गरिदिएका छन् । नेपाल बार एशोसियन तथा इन्सेकको प्रतिवेदनलाई पनि घटनाको अर्काे आधारको रुपमा लिइएको छ । तत्कालिन प्रहरी अधिकृतहरुले बिष्फोट भएकै हो भनेर गरिदिएको कागजलाई नै अदाललते मुख्य प्रमाण मानेर ‘निर्दाेष रहेछन् भन्न सक्ने अवस्था देखिएन’ भनेर पुर्पक्षका लागि कारागार चलानको आदेश दिइएको छ ।

जो बने हिरो

प्रहरीले मेहनत गर्दा वर्षाैपछि पनि अनुसन्धान सफल हुन्छ भन्ने आलम प्रकरणले देखाएको छ । प्रहरीकै सहयोगमा धेरै प्रमाणहरु नष्ट भएको, पीडित र साक्षीहरुमाथि त्रास दिइएको घटनाको पनि प्रहरीले सफल अनुसन्धान गर्दा आरोपी जेल चलान भएका छन् ।

‘हाम्रै लागि पनि यो घटना ट्रायल केस थियो,’ एक प्रहरी अधिकृत भन्छन्,‘यसमा हामी सफल भएका छौं ।’

रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री सो घटनाको महिनौं लगाएर अनुसन्धान गरेको बताउँछन् । ‘अभियुक्तलाई पक्राउ गर्नुभन्दा धेरै पहिलेदेखि प्रमाणहरु संकलन गरेका थियौं,’ उनी भन्छन्,‘यसबाट प्रहरीले मेहनत गर्दा जस्ता सुकै अनुसन्धान पनि सफल हुन्छन् भन्ने देखाउँछ ।’ यो घटनामा डिएसपी नवीन कार्की तथा इन्सपेक्टर पप्पु नायकले पनि ठूलो मेहनत गरेका थिए ।

१२ वर्षअघिको सो घटनाको अनुसन्धानमा पटक पटक चलखेल भएको थियो । सर्वाेच्च अदालतले नै अनुसन्धानका लागि पटक पटक ताकेता गर्दा पनि अनुसन्धान हुन सकेको थिएन । प्रदेश नम्बर २ का डिआईजी प्रद्युम्न कार्की र रौतहटका एसपी भुपेन्द्र खत्री लगायत रौतहट टिमले अनुसन्धानलाई बलियो बनाउन मेहनत गरेको थियो । व्यापक दबाब र प्रभावका बाबजुत यसमा साहसिक निर्णय गरेर जिल्ला न्यायधीश दीपक ढकाल र न्यायधीवक्ता खडिन्दं्रराज कटवाल पनि हिरो भएका छन् । साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि यो घटनाको अनुसन्धानमा सहजीकरण गरिदिएर आफ्नो जिम्मेवारीलाई कूशलतापूर्वक निर्वाह गरेका थिए ।

यो घटनाले तराईको राजनीतिमा ठूलो अर्थ राख्ने प्रहरी अधिकारीहरु बताउँछन् । राजनीतिको आडमा अपराध गर्नेहरुलाई यसले ठूलो सन्देश दिएको उनीहरुको भनाइ छ । जसले तराईको राजनीतिमा ठूलो सुधार ल्याउने आशा प्रहरीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्