Logo
Logo

बंगलादेशबाट नेपालले के सिक्ने ?


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

दक्षिण एशियाको सबभन्दा कान्छो राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद लामो अन्तरालमा दक्षिण एशियाको सबैभन्दा जेठो राष्ट्र नेपालको चारदिने भ्रमण पूरा गरी गत साता स्वदेश फर्किएका छन् ।

सन् १९४७ मा भारतको विभाजन हुँदा आजको बंगलादेश ‘पूर्वी पाकिस्तान’को रुपमा चिनिन्थ्यो । सन् १९६२ मै पाकिस्तानले नेपाललाई व्यापार गर्नका निमित्त चटगाउँ बन्दरगाह उपलब्ध गराएको थियो । यस अर्थमा नेपालले भारतबाहेक पहिलोपल्ट बन्दरगाहको सुविधा पूर्वी पाकिस्तान (हालको बंगलादेश) बाट पाएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीको सम्मानमा दिएको रात्रिभोजको अवसरमा दिएको मन्तव्य मननीय छ । उहाँले भन्नुभयो– ‘नेपालको जलस्रोत र बंगलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको बाहक बन्न सक्ने अपार सम्भावना छ ।’

सन् १९७१ मा पूर्वी पाकिस्तानमा भएको आम निर्वाचनमा शेख मुजीबुर्रहमान प्रचण्ड बहुमतको साथ विजयी भए । तर, पाकिस्तान सरकारले रहमानलाई सत्ता हस्तान्तरण नगर्दा पाकिस्तान सरकारप्रति जनतामा विद्रोहको भावना पैदा भयो । सन् १९७१, मार्च २३ मा लाखौँ जनताका बीच पहिलोपल्ट शेख मुर्जीबुर्रहमानले बंगलादेशको झण्डा ढाकामा फहराए । यसरी बंगलादेशको जन्म भयो । बंगलादेशको स्वतन्त्रता संग्राममा भारतको प्रत्यक्ष सैनिक सहयोग रहेको थियो । नेपालका दुई छिमेकी भारत र चीनपछि बंगलादेश नै सबभन्दा नजिकको छिमेकी हो । नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट बंगलादेशको सीमा ३० किलोमिटरभन्दा कम छ । अझ भद्रपुरबाट त बंगलादेश झनै नजिक पर्दछ ।

लगभग १७ करोड जनसंख्या भएको बंगलादेश विश्वको सघन जनसंख्या भएको मुलुकमा पर्दछ । सन् १९७० को दशकसम्म बंगलादेश विश्वको अत्यन्त गरीब मुलुकमा दरिन्थ्यो तर यता आएर बंगलादेशले १५–२० वर्षयता आफ्नो अर्थव्यवस्थामा आश्चर्यजनक सफलता प्राप्त गरेको छ । विश्वको ठूलो अर्थ व्यवस्था भएको देशमा बंगलादेशको ३९औँ स्थान छ । दक्षिण एशियामा भारतपछि दोस्रो स्थानमा बंगलादेश छ । सन् २०१८ मा प्रतिव्यक्ति आय १८८८ अमेरिकी डलर थियो भने कूल गार्हस्थ्य उत्पादन ३१४ बिलियन डलर थियो । अनतर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्वको उदाउँदो अर्थतन्त्र भएको मुलुक बंगलादेश हो ।

यसको अर्थ के हो भने हामीले (नेपाल) आफ्नो अर्थ व्यवस्था सुदृढ गर्नाको निमित्त बंगलादेशसँग सिक्ने कुराहरु धेरै छन् । सन् १९८० को दशकमा म (लेखक) बंगलादेश जाँदा ढाकाका सडकमा रिक्सा मात्र कुद्दथे भने आज मोटरमात्र कुद्छन् । यस सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीको सम्मानमा दिएको रात्रिभोजको अवसरमा दिएको मन्तव्य मननीय छ । उहाँले भन्नुभयो– ‘नेपालको जलस्रोत र बंगलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको बाहक बन्न सक्ने अपार सम्भावना छ ।’

प्रत्युत्तरमा राष्ट्रपति हमिदले भन्नुभयो– ‘नेपाल र बंगलादेशले जलस्रोत व्यवस्थापन, जलविद्युत् उत्पादन, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, जलमार्ग, हवाईमार्ग र रेल सडकसहितका सम्पर्क सञ्जालका क्षेत्रमा साझेदारी गर्ने सक्ने सम्भावना छ । बंगलादेश यसमा सहयोग गर्न तत्पर छ । उनले अगाडि भने– ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न बंगलादेशले सक्दो सहयोग गर्नेछ ।

छोटो समयमै बंगलादेशले जुन लोभलाग्दो आर्थिक विकास गरेको छ, त्यो निश्चय पनि सह्राहनीय छ । तैयारी पोशाकको निर्यातमा चीनपछि ऊ दोस्रो स्थानमा छ । गत वर्ष उसले ३७ अर्ब अमेरिकी डलरको तैयारी पोशाक निर्यात गरेको थियो । सन् २०२० मा यसलाई ४० अर्ब डलर पु¥याउने उसको लक्ष्य छ । यस्तै खाद्यान्न चामलमा ऊ आत्मनिर्भर भइसकेको छ । जबकि हामी (नेपाल) चामलमा परनिर्भर भएका छाँै । वर्षमा अर्बौ रुपैयाँको चामल आयात गर्दछौँ । अतितमा नेपालले धान चामल निर्यात कम्पनी खोलेर धान चामल भारत, बंगलादेश आदि मुलुकमा निर्यात गरेको तथ्य हाम्रो स्मृतिपटलमा अझै ताजै छ ।

आफ्नो अर्थतन्त्रलाई द्रूतगतिमा लैजानको लागि उसलाई ऊर्जाको ठूलो आवश्यकता छ । नेपालको ऊर्जा (बिजुली) आफ्नो देशमा लैजानको लागि बंगलादेशले नेपालसँग विभिन्न चरणमा वार्ता गरिनैरहेको छ । दुवै देश सार्क र विमस्टेकका सदस्य राष्ट्र पनि हुन् । सार्कको सचिवालय काठमाडौँमा छ भने, विमस्टेकको ढाकामा । यहाँनेर एउटा हेक्का राख्नुपर्ने कुरा के छ भने हामी (नेपाल) भारतको सदाशयताबिना बंगलादेशसँग सघन सहकार्य गर्ने परिस्थितिमा छैनौँ ।

नेपाल र बंगलादेशको बीचमा ३० किलोमिटर जमिन भारतको पर्दछ । भारत–पाकिस्तानका बीचमा अत्यन्त तनावपूर्ण सम्बन्ध हुँदाहुँदै पनि हालै पाकिस्तानले जसरी शिख धर्मावलम्वीहरुको धार्मिक आस्थालाई कदर गर्दै गुरु गुरुनानकदेवले आफ्नो जीवनको अन्तिम स्थान बिताएको पवित्र स्थान करतारपुर (पाकिस्तान) भारत पाकिस्तान सीमाबाट साढे चार किलोमिटरको बाटो जुन भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा परेको थियो । बिना पासपोर्ट भीसा आउजाउ गर्न खोलेर विश्वका १४ करोड शिखको मन जित्यो त्यस्तै भारतलाई पनि नेपाल–बंगलादेश बीचमा रहेको ३० किलोमिटरको करिडोर खोलेर नेपाल र बंगलादेशका २० करोड जनताको मन जित्ने अवसर प्राप्त भएको छ । यसो हुन सम्भव पनि छ । किनभने भारतको नेपाल र बंगलादेश दुवै देशबीच मित्रवत् सम्बन्ध छ । यसो हुन सक्यो भने दक्षिण एशियामा नयाँ युगको थालनी हुनेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्