Logo
Logo

विकृति र विसंगतिविरुद्ध ‘दृष्टि’


- दृष्टि न्युज/संवाददाता


छत्तीस वर्ष अगाडि मिशन पत्रकारिताका रुपमा दृष्टि साप्ताहिकको जन्म भएको थियो । दृष्टि जन्मिँदा मुलुकमा निरंकुश पञ्चायती व्यवस्था थियो । राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । प्रेस स्वतन्त्रतामाथि पूर्णरुपमा प्रतिबन्ध लगाइएको थियो । तर पनि मिशन पत्रकारिताले निरंकुश व्यवस्थाको विरुद्ध आफ्नो कलमलाई जारी राख्दै आयो । यस क्रममा कति पत्रिकामाथि प्रतिबन्ध लगाइयो, कति पत्रकारहरु जेल गए । तर, पनि मिशन पत्रकारिताको मिशनलाई पञ्चायती निरंकुश शासकहरुले रोक्न सकेनन् । एक दिन यस्तो आयो २०४६ सालको संयुक्त जनआन्दोलनले निरंकुश शासन व्यवस्था ढाल्यो र मुलुकमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो ।

दृष्टिको मिशन पत्रकारिता निरंकुश पञ्चायती व्यवस्था ढाल्नु र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न मात्र थिएन । बहुदलीय व्यवस्थामार्फत् मुलुकको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वाभिमान कायम गर्दै सुशासन, कानूनी राज्य स्थापना गर्नु थियो । यही आशा र उद्देश्यका साथ नेपाली जनताले लोकतन्त्र स्थापना गर्न बलिदानी दिएका थिए । त्यो उद्देश्य ०४८ सालपछि बनेका लोकतान्त्रिक सरकारहरुले पनि पूरा गर्न सकेनन् । पञ्चायतको अन्त्यपछि भ्रष्टाचार झन् बढ्यो । कानूनी राज्यको खिल्ली उडाइयो । जताततै विकृति, विसंगति झांगियो । त्यसैको आडमा देश १२ वर्षसम्म माओवादी द्वन्द्वमा फस्टायो । १७ हजार नागरिकले ज्यान गुमाए । कति बेपत्ता भए । बाँच्नेहरु पनि कोही अपांग, कोही घाइते, असाहय भएर बाँचेका छन् । बेपत्ता परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।

२०६२÷६३ सालको जनआन्दोलनले मुलुकमा गणतन्त्र स्थापना ग¥यो । अब त केही सुधार होला कि भन्ने आशामा जनता थिए । तर, पनि देशको अवस्था हिजोभन्दा आज, आजभन्दा भोलि के हुने हो भन्नेतिर लम्किरहेको छ । जनतामा यस्तो निराशा पलाउनुको पछाडि राजनीतिक दल र तिनका नेताहरु आफैँप्रति इमान्दार नहुनु हो । ०४८ सालदेखि अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षमा तिनै अनुहार टाँस्सिएर बसेका छन् । हिजो जे कुराको लागि राजनीति गरेका हुन्, त्यो आदर्श आज उनीहरुले बिर्सिएका छन् । सिद्धान्त, विचार, त्याग, तपस्याको भावना कसैमा देखिन्न । जुनसुकै दलका नेता, कार्यकर्ताहरु पनि सत्तामा पुग्न हानाथाप गरिरहेका छन् । राजनीतिलाई सेवा होइन, सम्पत्ति जोड्ने साधन बनाइरहेका छन् ।

अहिले मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार छ । देश र जनताका लागि चौध वर्ष जेल जीवन बिताएका केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओलीमा आफ्नै जीवनमा यो देशको मुहार फेर्ने ठूलो धोको छ । त्यो धोको पूरा गर्ने टिम उनीसँग छैन । जसका कारण उनले गर्छु भनेका कामहरु पनि मुलुकमा हुन सकेको छैन । ओली साँघुरो घेरामै रमाउँदैछन् । उनका वरपर बस्नेहरु बिहान, बेलुकी आरती उतार्दैछन् । उनी त्यसैमा दंग छन् । ‘दृष्टि’ यस्ता विकृति, विसंगतिविरुद्ध जहिले पनि जुधिरहेको छ । जनपक्षीय पत्रकारिताको माध्यमबाट हरेक पल खबरदारी गरिरहेको छ । राष्ट्र र जनताभन्दा माथि कोही छैनन् । राष्ट्र र जनतामा समर्पित हुनु नै पत्रकारिताको धर्म हो । यो धर्म निर्वाह गर्न दृष्टि कहिले पनि पछाडि फर्कने छैन । ३७औँ वर्ष प्रवेशको अवसरमा यही हाम्रो प्रतिबद्धता हो ।

प्रतिक्रिया दिनुहोस्