Logo
Logo

प्रहरीले गोप्य राखेको एउटा अपराध


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३ मंसिर । महँगो गाडी चढेर हिड्ने । कांग्रेसका ठूला नेताहरुसँग उठबस । पेशा युवा व्यवसायी, पद नेपाली कांग्रेसको महासमिति सदस्य । काभ्रे ज्याम्दी घर भएका दिलबहादुर लामाको परिचय यही थियो ।

कांग्रेसका ठूला नेताहरुलाई समेत उनी उपहार लिएर जान्छन् । आफू रेस्टुरेन्ट व्यवसायी भएको भनेर परिचय दिन्छन् । रेस्टुरेन्ट नचले पनि उनको जीवनशैली ठूलै व्यवसायीको जस्तो थियो । तर, उनको वास्तविक धन्दाबारे धेरैलाई जानकारी थिएन ।

दुई साताअघि मात्र उनको वास्तविक परिचय प्रहरीले खोलेको थियो । लुटपाट र डकैती गरेर उनले त्यसरी करोडौं सम्पत्ति थुपारिसकेको अनुसन्धानमा खुलेको हो । विदेशी पर्यटकलाई केटी मिलाइदिने र मसाजमा लैजाने भनेर आफ्नो रेस्टुरेन्टमा लैजाने र त्यहाँ बन्धक बनाएर लुटपाट र डकैती गर्दै आएका थिए । गत १५ कात्तिकमा नेपाल घुम्न आएका भारतीय व्यवसायीहरु त्यसरी लुटिएपछि उनको धन्दा बाहिर आएको हो । युवतीसमेत प्रयोग गरेर लुट्ने र उजुरी गरे बलात्कार मुद्दा हालिदिने भनेर सो समूहले धम्काउने गरेको थियो ।

त्यस्तो धन्दामा संलग्न दिलबहादुर र उनका सात सहयोगी हाल महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन् । भीमबहादुर तामाङ, क्षितिज लामा, विजय लामा, छिरिङ लामा, सुष्मा लामा, सुनबहादुर लामा र आशिष लामालाई डकैती मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गत १५ कात्तिकमा ५ जना भारतीय व्यवसायी एक साताका लागि काठमाडौं घुम्न आएका थिए । उनीहरु आफ्नै गाडी लिएर आएका थिए । जसमध्ये तीन जना ‘स्पा’का लागि ठमेल बजारमा निस्किए । राम्रो ठाउँमा लैजाने भन्दै एक समूहले उनीहरुलाई ट्याक्सीमा राखी उत्तरढोकास्थित एक रेष्टुरेन्टमा लगेर बन्धक बनाइ लुटपाट गरेको थियो । यसका साथै केही नखाए पनि रेस्टुरेन्टको ३२ हजार बिल तिर्न लगाएका थिए । पाँच घन्टासम्म बन्धक बनाएर डेढ लाख रूपैयाँ नगद, मोबाइल र एटिएम कार्ड लुटेका थिए । कुटपिटबाट एक जना भारतीयको टाउकोमा चोटसमेत लागेको थियो । उनीहरूलाई खुकुरीसमेत देखाएर धम्काएका थिए ।

लुटेपछि २४ घन्टाभित्र नेपाल नछाडे ज्यान नबच्ने भन्दै धम्काएपछि भोलिपल्टै उनीहरु भागे । दिल्ली पुगेर आफ्ना नेपाली साथी सञ्जीव सिंहलाई त्यसबारे फोन गरेर बताएका थिए । सिंहले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे जानकारी गराए । सुवेदीले अनुसन्धानमा प्रहरी खटाएपछि उनीहरु पक्राउ परेका हुन् ।

रेस्टुरेन्टको गोप्य कोठामा लगेपछि अर्धनग्न युवतीसँग राख्ने र युवतीलाई बलात्कार प्रयास गरेको भन्दै प्रहरी लगाएर फसाइदिने भनेर समेत उनीहरुले लुटेका थिए । गिरोहकै कतिपय सदस्यले प्रहरीको नाटकसमेत गर्दथे । यही धन्दाबाट सो गिरोहले करोडौं कमाइसकेको खुलेको छ ।

उनलाई कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र शिव हुमागाईको प्रत्यक्ष संरक्षण रहेको स्रोत बताउँछ । गगन थापासँग समेत उनको निकटता देखिएको छ । गगनसँग भेटघाटको फोटो उनले पटक–पटक फेसबुकमा हालेका छन् ।

तर अचम्म के छ भने यस्तो गिरोह पक्राउ गर्दा पनि प्रहरीले घटना सार्वजनिक गरेको छैन । बरु अभियुक्तहरुलाई सहज हुनेगरी मुद्दा प्रक्रिया अघि बढाएको छ । अपहरण गरेर बन्धक बनाइएकोमा अपहरण मुद्दासमेत चलाइएको छैन । साथै आठ जनाको गिरोह रहेको संगठित अपराध मुद्दा आकर्षित हुनेमा त्यसतर्फ समेत प्रहरीले ध्यान दिएको छैन । अपराध गरेरै करोडौं कमाएकाले दिलबहादुरले छुट्नका लागि पनि जति पनि खर्च गर्ने बताएका छन् । यस्ता व्यक्ति छुटेमा पर्यटन वर्षको हविगत के होला ? यस्तो लुटपाटको घटनाले सिंगोे पर्यटन क्षेत्रमै ठूलो असर पर्न सक्ने व्यवसायीहरु बताउँछन् ।

गगन थापासँग अभियुक्त लामा

गुन्डागर्दी र लुटपाटजस्ता अपराधबाट कमाउने व्यक्तिको सम्पत्ति छानबिन हुने डरले समेत प्रहरीले घटना गोप्य राखेको आँकलन गरिएको छ । काभ्रेमा समेत गुन्डागर्दी गरेर उनले धम्काउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्