Logo
Logo

सहसचिव हुनु त सुवेदीजस्तो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ मंसिर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सहसचिव नेत्र सुवेदीलाई जिम्मेवारी दिएको छ । सुवेदी एक साता अघिमात्र उद्योग मन्त्रालयमा काज सरुवा भएका हुन् । उनी सोमबार मात्र मन्त्रालयमा आए । सोमबारै उनले महानिर्देशकको पत्र पाए । मन्त्रालयमा बस्दै नबसी महानिर्देशक हुने सुवेदी भरतपुर महानगरमा कार्यरत थिए । भरतपुरमा प्रमुख प्रशासकीय अधिकृत हुँदा मेयर रेनु दाहालको मन जितेकाले उनलाई बाणिज्य विभागको महानिर्देशक बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग मन्त्री मातृका यादवलाई निर्देशन दिएका थिए ।

उद्योग मन्त्रालयको महानिर्देशकपछि उनी ल्हासाको महाबाणिज्य दूत हुने दाउमा छन् । ल्हासाका महाबाणिज्यदूत गोविन्द कार्कीको ४ बर्षे कार्यकाल २०७६ फगाुन १९ मा सकिंदैछ । कार्कीको कार्यकाल सकिएपछि सहसचिव सुवेदीलाई ल्हासाको दूत बनाउने गरी हाल बाणिज्य विभागको महानिर्देशकमा ल्याइएको स्रोत बताउँछ ।

आगामी २०७६ फागुन १९ मा ल्हासाका अलावा कलकत्ताका महाबाणिज्यदूत एकनारायण अर्याल र हङकङका कमल भट्टराईको पनि कार्यकाल सकिंदैछ । यी तीनै ठाउँको बाणिज्यदूतका लागि सहसचिवहरुको दौड अहिलेदेखि नै चलेको छ । डलरमा तलव खान पाउने बाणिज्य दूत हुने दौडमा उद्योग मन्त्रालयकै सहसचिव मधु मरासिनी पनि हुन् । उनी अर्थ मन्त्रालयमा हुँदा अर्थसचिव हुँदै कांग्रेस, माओवादी र विवेकशील साझा पार्टीमा आवद्ध हुन पुगेका रामेश्वर खनालका प्रियपात्र मानिन्थे । खनालले नै उनलाई मासिक १८ हजार डलर पाउने एसियाली विकास बैंकको बैकल्पिक निर्देशकमा पठाएका थिए । अर्थबाट खनालको बहिर्गमनपछि उनी उद्योग मन्त्रालयमा गएर पुनः डलर आउने महाबाणिज्यदूत नियुक्त हुन लबिङमा छन् ।

प्रतिक्रिया दिनुहोस्