Logo
Logo

हेन्डसम होइन, बुझ्ने भए हुन्छ- रुपा आङबुहाङ, कलाकार


- दृष्टि न्युज/संवाददाता


उनी आफ्नै पेसाप्रति अलमल पर्छिन् । मोडलिङ, व्यवसायी र समाजसेवा यी तीनवटै क्षेत्रमा संलग्न रुपा आङ्बुहाङ भन्छिन्, ‘खै, पेसा केलाई भन्ने ? कलाकारितासँगै व्यवसायी गर्छु । हिजोआज धेरैजसोले समाजसेवी पो भन्न थाले ।’ मोडलिङबाट चर्चामा आएकी ताप्लेजुङ हाङपाङकी उनी ‘याक्थुङ हाक्पारे पालम सयङ’को अध्यक्षसमेत हुन् । उक्त संस्थामार्फत समाजसेवा गर्छिन् उनी । सयङले मिर्गौला तथा दीर्घरोगीहरुको उपचारका लागि आर्थिक संकलनको संयोजन गर्छ । साथै, सयङले लिम्बू समुदायको कला–संस्कृति र भेषभूषा प्रवद्र्धनसमेत गर्दै आएको छ । ‘सिक्वेन्स फेसन हाउस’की प्रोपाइटरसमेत रहेकी रुपा भन्छिन्, ‘कलाकारिता मेरो रहरमात्र हो ।’ ‘केः’ नामक लिम्बू संस्कृतिमा आधारित फिल्मसमेत अभिनय गरेकी रुपा भन्छिन्, ‘अब फिल्मचाहिँ गर्दिनँ होला ।’ मोडल तथा व्यवसायी रुपा आङ्बहाङसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहन्छ ?

याक्थुङ हाक्पारे पालम सयङले हरेक वर्ष लिम्बू संस्कृतिमूलक ‘वेस्मा लाङयोक’ कार्यक्रम गर्दै आएको छ । यसपटक धरानको किरात याक्थुङ चुम्लुङ भवनमा कार्यक्रम हुँदैछ । त्यसैको तयारीमा व्यस्त छु । साथै ‘सिक्वेन्स फेसन हाउस’लाई पनि समय दिनुपर्छ ।

‘याक्थुङ हाक्पारे पालम सयङ’ कस्तो संस्था हो ?

यो एकदमै विशुद्ध सामाजिक संस्था हो । याक्थुङ हाक्पारे सयङले विशेषगरी आर्थिक अभावमा परेका मिर्गौलापीडित तथा दीर्घरोगीहरुको उपचारका लागि आर्थिक संकलनको संयोजन गर्छ ।

अहिलेसम्म कति मिर्गौला पीडितलाई सहयोग गर्नुभयो त ?

संस्था स्थापना भएको चार वर्ष भयो । त्यसयता धेरैलाई हामीले उपचारका लागि सहयोग जुटाइदिएका छाँै । सहयोग गरिएका सबै पीडितको उपचार सफल हुन्छ भन्ने छैन । हालै ताप्लेजुङको मिर्गौलापीडित सीता यक्सोको उपचारका लागि बृहत्त सांस्कृतिक कार्यक्रम गरेका थियौँ । सहयोग पनि रामै्र जुट्यो । विमारी पनि ठीक हुनुभएको छ ।

 

तपाइँको व्यवसायी पनि छ । कलाकारिता पनि गर्नुहुन्छ ?

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै अहिलेसम्म समय दिन भ्याएकी छु । मेरो बालाजुस्थित बिजी मलमा ‘सिक्वेन्स फेसन हाउस’ कलेक्शन हाउस छ । मेरो व्यवसायी कल्चरल भेषभूषा र गरगहनासम्बन्धी हो । त्यसैले पनि समय दिन भ्याएकी छु ।

मोडलिङ कहिलेबाट सुरु गर्नुभएको हो ?

‘मिस लिम्बू–२०१२’मा सहभागी भएपछि मोडलिङ यात्रा सुरु गरेकी हुँ । २०१६ मा आएर ‘मिस मंगोल’मा पार्टिसिपेन्ट भएँ । ‘मिस लिम्बू’मा टाइटल जित्न नसकेपनि त्यसयता मोडलिङको अवसर भने जुर्दै गयो ।

फिल्म पनि खेल्न भ्याउनुभयो है ?

अँ, लिम्बू संस्कृतिमा आधारित फिल्म ‘केः’मा अभिनय गरेकी छु । तर, सायद अब फिल्म गर्दिनँ होला । त्यसैले ‘केः’ नै मेरो फस्ट एण्ड लास्ट फिल्म हुनसक्छ ।

किन, के भो र फिल्ममा ?

मलाई आफ्नै अभिनयमा शंका लाग्यो । म अभिनय गर्न नसक्ने रै’छु । ‘केः’ फिल्म हेर्ने दर्शकले राम्रै भने । तर, मलाई आफैलाई चित्त बुझेन ।

यो (कलिलो) उमेरमै धेरै काम गरिसक्नुभयो । अब घरजम पनि गर्ने होला नि ?

कलिलो उमेरचाहिँ नभनौँ होला । उमेर र व्यवसायी हिसाबले पनि परिपक्व भइसकेकी छु । घरबाट पनि विवाहका लागि दबाव आइरहेको छ । म एक्ली छोरी हुँ । त्यसैले अब गर्नु पर्ला कि भन्ने सोचमा छु । तर, तत्कालचाहिँ नहोला ।

आमा–बुबाले लाहुरे ज्वाइँ हेर्दै होला । जीवनसाथी कस्तो होस् भन्ने सोच्नुभएको छ ?

हेरौँ, भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । मलाई लाहुरे हुनपर्छ भन्ने छैन । हेन्डसम पनि चाहिँदैन । सम्बन्धको इज्जत गर्ने र बुझ्ने भए हुन्छ ।

प्रतिक्रिया दिनुहोस्