Logo
Logo

निरोगी रहन र रोग मुक्त हुन भरपर्दो आधार प्राकृतिक उपचार


हरिप्रसाद सापकोटा


भनाइ नै छ, ‘नपरी थाहा हुँदैन, नमरी स्वर्ग देखिँदैन ।’ जुन भनाई म आफूमा लागू भयो । २८–२९ वर्षकै उमेरमा ग्यास्टिक, अल्सर, पिनास, टन्सिल, डिप्रेसन लगायतका रोग जटिल बनेर अन्तिम अवस्थामा पुगेपछि जीवनको मूल्य थाहा पाएँ ।

रोग ठिक पार्न नेपाल र भारतका सुविधासम्पन्न अस्पताल नचारेको ठाउँ थिएन । तर, बीसको उन्नाइस भएन । प्राकृतिक चिकित्सा र योगबाट ठिक हुन्छ कि भन्ने झिनो आशाले भारतको गोरखपुरमा रहेको आरोग्य मन्दिर प्राकृतिक चिकित्सा केन्द्रमा तीन महिना उपचार गरेँ । तर, ठिक भएन । निराश भएर घरमै मरुँला भन्ने सोचेर फर्किएँ । तर बाँच्ने इच्छा प्रबल थियो ।

केही दिन पश्चात् पोखरामा पनि यस्तै अस्पताल छ भन्ने थाहा पाए । बाँच्ने आशाका साथ त्यहाँ पुगेँ । तर, लाग्दैनथ्यो बाँचुला । कारणवश बाँचेमा सोही विधाको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गर्ने भगवानलाई साक्षी राखेर प्रतिज्ञा पनि गरेको थिएँ ।

उपचार सुरु भयो । तीन महिनामा पूर्ण स्वास्थ्य लाभ भयो । म ठीक भएँ । भारतमा गरेको उपचारले शरीर सफा (सोधन) भएको रहेछ । पोखराकोले ‘हिलिङ’ (रिविल्ट) भयो र नयाँ जीवन पाएँ ।

यो २०६० सालको कुरा हो । उपचार लिएकै अस्पतालमा तीन वर्ष निःस्वार्थ भोलेन्टियर गरेँ । त्यसपछि ‘मैले त नयाँ जीवन पाएँ, अरुलाई किन नदिने ?’ भन्ने सोचले विभिन्न प्रकृतिबाट स्रोत जुटाउन आफू जन्मिएकै थलो रजहर र सिङ्गो समाजलाई प्रेरित गर्दै सबै तारतम्य मिलेको व्यवस्थित सामुदायिक प्राकृतिक चिकित्सालय स्थापनाको लागि नाफाको जीवन समर्पण गर्ने निर्णय लिएँ ।

यहाँबाट हालसम्म हजारौँले नयाँ जीवन पाएका छन् । उपचार पद्धतिमा प्राकृतिक चिकित्सा र योग नै उत्तम विकल्प नै रहेछ भन्ने बुझेर फर्किएका छन् ।

नागरिक स्वस्थ हुन सकेमा देश सबल बन्छ । औषधि खरिदमा दैनिक करोडौँ रुपैयाँ बाहिरिने क्रम रोकिन्छ । अर्थतन्त्रमा रचनात्मक र सकारात्मक सूचकको बढोत्तरी हुँदा राज्य सबल बन्छ । अहिलेको मूल आवश्यकता भनेकै प्राकृतिक चिकित्सा र योग अस्पतालको विकास हो ।

कोरोनाको महामारीमा ८ सय बढी संक्रमित यहाँ राखियो । कोही जटिल अवस्थाका पनि थिए । सबैलाई ठिक पारेर पठाउने नेपालकै उदाहरणीय अस्पताल रजहर बन्यो । प्राकृतिक चिकित्सा, योग, जीवन शैली सुधार र प्राकृतिक आहार विहारबाटै यो सम्भव भएको थियो ।

यति हुँदाहुँदै पनि सीमित स्रोतसाधन, जनशक्ति र न्यूनतम शुल्क बाटै अहिलेसम्म प्राकृतिक चिकित्सालय टिकाउनुपरेको वाध्यात्मक परिस्थितिसँग जुध्नु परेको छ । अन्य उपचार पद्धतिबाट ठिक नभएका धेरै जनाले पुनः जीवन यहीँ पाएका छन् ।

तर, सर्जरी बाहेकका सबै रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन यतिले सम्भव छैन । नीति र बजेट मुख्य कुरा हो । यसमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

छिनमै दुखाई कम गर्ने औषधी दिएर रोगीलाई निश्चित समय आराम दिने एलोप्याथिक अस्पताल अहिले चोक–चोकमा खुलेका छन् । सरकारी अस्पताल जिल्ला जिल्लामा छन् । तर, रोगीको संख्या घटेको छैन । जुन अस्पताल पुगे पनि भिड उति नै छ ।

आज आराम भएकाहरू भोलि रोग बल्झिएर जीर्ण र जटिल अवस्थामा पुग्दैछन्/पुगेका छन् । सरकारले जीर्ण र जटिल डाइलासिस जस्ता रोगको उपचार गर्न छुट दिने निर्णय बजेट र नीतिमा नै समावेश गरेको छ ।

तर, अब नागरिकलाई स्वास्थ्य राख्नको लागि यो विकल्प दिगो होइन । क्षणिक समय ठिक पार्ने उपचार नभई रोगलाई जरैदेखि उखेल्ने प्राकृतिक चिकित्सा र योग क्षेत्रको विकासमा लगानी गर्न सरकारले कञ्जुस्याँइ गर्नु हुँदैन ।

नगर अस्पताललाई उपलब्ध गराइने जनशक्ति र बजेटको व्यवस्था मात्र नीतिगत रूपमा नै प्राकृतिक चिकित्सालयलाई गर्न सकेमा यसको सकारात्मक असर दीर्घकालसम्म देशै भरीबाट आउने आर्थिक विपन्न नागरिकहरूले समेत उपचारमा पहुँच राख्ने वातावरण सिर्जना हुन्छ ।

आफ्ना नागरिक एलोप्याथिक उपचारबाट चाँडो ठिक भएर बारम्बार बिरामी बन्नुभन्दा एकैपटक नबल्झिने गरी ठिक हुने बनाउनु सरकारको कर्तव्य पनि हो । किनकी नागरिकलाई स्वास्थ्यको अधिकार संविधानले नै दिएको छ ।

दिगो स्वास्थ्य सेवाको व्यवस्था गर्नु सरकारको दायित्व हो । प्राकृतिक चिकित्सा विधिले मानव शरीरमा कुनै नकारात्मक प्रभाव पार्दैन । अप्राकृतिक जीवन शैली, प्रकृतिसँगको ताद्तमियता नहुनु, अखाद्यय खाद्यय पदार्थ, जङ्क फुड, बोतल बन्द पेयको प्रयोग नै कैयौँ असाध्य र जीर्णरोगको मूलकारण हो । त्यसैले हरेक परिवार र सम्बन्धित निकाय होसियार हुनु नितान्त आवश्यक छ ।

जङ्गली जनावरले प्रकृतिको नियमलाई उलङ्घन गर्दैनन् र उनीहरु रोगी छैनन् । समयभन्दा पहिला उनीहरूमा बुढ्यौली आउँदैन । रोगको कारण अकालमा मर्दैनन् पनि । उनीहरूलाई चिकित्सकको पनि व्यवस्था गर्नु पर्दैन तर सभ्य भनिएको मान्छे अप्राकृतिक जीवन शैलीको कारण रोगी र दुःखी छ ।

स्वास्थ्य नागरिक बनाउन सके हरेक क्षेत्र सबल बन्छ । मानिस मानसिक रूपमा ठिक भए उसले गर्ने काम र दिने सेवामा गुणस्तर कायम हुन्छ । सकारात्मक सोचको विकास हुन्छ ।

प्राकृतिक जीवन शैली अपनाउँदा समाजमा व्याप्त हत्या, हिंसा, बलात्कार, छली फट्याइँ, चोरी, डकैती आदि शून्यप्राय हुन्छ । समाज र देशमा नै शान्ति र सद्भाव छाउने छ । त्यसैले स्वास्थ्य नागरिक उत्पादन गर्न प्राकृतिक चिकित्सा र योगका अस्पतालहरूको विकासमा सरकारले किन ध्यान नदिने ? किन कञ्जुस्याँइ गर्ने ?

मानव शरीर पञ्चतत्वबाट बनेको छ । प्राकृतिक चिकित्सा र योगले नै शरीरलाई स्वस्थ र सबल राख्छ । आहारा नै औषधी र औषधी नै आहार यसको मूल सिद्धान्त हो । कुनै पनि उपचार पद्धतिमा प्रिभेन्टिभ उपचार गर्ने सिद्धान्त प्राक्टिसमा हालसम्म छैनन् ।

तर, प्राकृतिक चिकित्सा र योग यस्तो विधा हो जसमा प्रतिरक्षात्मक, उपचारात्मक र निदानात्मक तीन वटै आयाममा उपचार गर्ने सिद्धान्त उपयोग हुन्छ । हेल्थ रिसोर्ट र हेल्थ टुरिजमको अवधारणालाई व्यवहारमा ल्याउन सकिएमा आमनागरिकको स्वास्थ्यमा आमूल परिवर्तन हुन्छ ।

नागरिक स्वस्थ हुन सकेमा देश सबल बन्छ । दैनिक करोडौँ रुपैयाँ औषधि खरिदमा बाहिरिने क्रम रोक्न सकिन्छ । यसो भए अर्थतन्त्रमा रचनात्मक र सकारात्मक सूचकको बढोत्तरी हुँदा राज्य सबल बन्छ । छिमेकी देश भारतका झण्डै २२ प्रान्तमा नेचुरोपेथी मेडिकल कलेज र व्यवस्थित अस्पतालहरू सञ्चालन छन् । तर, हाम्रो देशमा यस्तो व्यवस्था हालसम्म छैन ।

अध्ययन गर्न अन्य मुलुक जानुपर्दा विद्यार्थीले धेरै चुनौती भोगिरहेका छन् । अब यो अन्त्य हुन आवश्यक छ । हामीले निकट भविष्यमा नै निम्न मध्यम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनाई यसलाई शिक्षण अस्पतालको रुपमा सञ्चालनमा ल्याउने छौँ ।

त्यसैले अहिलेको मूल आवश्यकता भनेकै प्राकृतिक चिकित्सा र योग अस्पतालको विकास हो । यसमा सरकारले साथ दिनुपर्छ । हामी सर्जरीबाहेक जटिल भनिएका रोगका बिरामीलाई पनि बचाउन सक्छौँ । तर, सरकारले हामीसँग सहकार्य गर्न आवश्यक ठान्छौँ । बजेट र नीति निर्माणमा यो प्राथमिकतामा परोस् भन्ने चहान्छौँ ।

स्वास्थ्य नै धन हो भन्ने हामीले पढ्यौँ त्यसलाई अक्षरसः प्रयोगमा ल्याउने विधालाई प्रवर्धन गर्न हामी नागरिक र राज्य दुबैले सङ्कप्ल गरौँ ।

जीवन रहे न जगत रहन्छ । जय प्रकृति ।

(सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपरासीका व्यवस्थापक हुन् ।)

[email protected]

प्रतिक्रिया दिनुहोस्