Logo

युवतीको नाममा धन्दा


Published On : 19 November, 2019

काठमाडौं, ३ मंसिर । एक युवतीको नाममा कम्पनी खोलेर नेपालमा डरलाग्दो धन्दा चल्दै आएको खुलेको छ । एक समूहले भारतबाट गाईको मासु लगायत अवैध वस्तुहरु तस्करी गरेर काठमाडौंमा ल्याई बेच्ने गरेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको हो ।

काठमाडौंको एक कलेजमा बीबीएस तहमा अध्ययनरत रिन्कुकुमारी चौधरीको नाममा कम्पनी खोलेर भारतबाट तस्करी हुँदै आएको हो । सो समूहले तस्करी गरेर ल्याउने दुई ट्रक विभागले नियन्त्रणमा लिइसकेको छ । जसबाट ११ हजार कुखुराको मासु बरामद भएको छ । करिब दुई सय केजी गाईको मासुसमेत बरामद भएको छ ।

केही नेताहरुले नै त्यसरी चौधरीको नाममा कम्पनी खोलेर अवैध धन्दा गर्दै आएका हुन् । उनलाई महिनाको १५ हजार रुपैयाँ दिने आश्वासनमा यस्तो काममा लगाइएको थियो । उनलाई विभागले पक्राउ गरिसकेको छ । उनको नाममा सिआर ट्रेडिङ नामक कम्पनी दर्ता गरिएको थियो । त्यस्तै बासुदेव मरहठ्ठाको नाममा दीपज्योति ट्रेडिङ पनि यसैका लागि खोलिएको थियो । बासुदेव पनि हिरासतमा छन् ।

नेपालमा पछिल्लो समय कुखुराको मासु बिकिरहेको छैन । किसानहरुको लगानी डुबिरहेको छ । रहस्यमय तरिकाले कुखुराको मासुको माग घटेपछि किसानले अनुसन्धान गर्दा भारतबाट तस्करी भएर आउने गरेको खुलेको हो । जबकि मासु आयात गर्न पाइँदैन । सर्लाही भन्सारका कर्मचारीहरुसँगको मिलेमतोमा तस्करी चलिरहेको थियो । जुन मासु पाँचतारे होटल र पार्टी प्यालेसमा जाने गरेको थियो ।

प्रारम्भिक छानबिनको क्रममा यस्तो धन्दामा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता देखिएको छ । ‘नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नाम आएको छ,’ विभागका एक अधिकारीले भने,‘गहनरुपमा अनुसन्धान गरिरहेका छौं ।’ विभागले सर्लाही भन्सारका कर्मचारीलाई पनि पक्राउ गरेर यो घटनामा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्