Logo
Logo

सेलिब्रेटीको रोजाइ बनेको छ ढाका– निरु आङबुङ, फेसन डिजाइनर, तेह्रथुमे ढाका बुटिक



दिनदिनै बढ्दो छ नेपाली समाजमा ‘फेसन ट्रेण्ड’ । युवापुस्ता ‘फेसन कन्सस’ हुन थालेका छन् । जसले गर्दा फेसन बजार फस्टाउँदो छ । पछिल्लो समय नेपाली फेसनको बजारमा ढाकाको पहिरनले ठाउँ लिँदै गएको छ । सेलिब्रेटीका लागि त पहिलो रोजाइ नै बन्न पुगेको छ । परम्परागत हाते तानबाट बुनेको ढाकाले नेपाली फेसन बजार ओगट्दै जानुमा केही फेसन डिजाइनरलाई श्रेय जान्छ । तीमध्येकी एक हुन् फेसन डिजाइनर निरु आङबुङ । ललितपुरको मिलनचोकमा ६ वर्षयता ‘तेह्रथुमे ढाका बुटिक’ सञ्चालन गर्दै आएकी निरु भन्छिन्, ‘जतिखेर ढाका बुटिक सुरु गरेँ, त्योबेला ढाका पहिरनको बजार एकदमै साँघुरो थियो । तर, अहिले विदेशबाट पनि ढाका पहिरन अर्डर आउँछ ।’ बढ्दो ढाकाको पहिरन र यसको बजारबारे फेसन डिजाइन तथा तेह्रथुमे ढाका बुटिककी सञ्चालक निरु आङबुङसँग एमपी सुब्बाको जम्काभेट कुराकानी :

हिजोआज ढाका बुटिक कस्तो चल्दैछ ?
पहिलेभन्दा राम्रो छ । तेह्रथुमे ढाका बुटिक भनेपछि नामबाटै थाहा हुन्छ । अरु बुटिकहरुभन्दा भिन्न छ मेरो बुटिक । यहाँ स्पेशली ढाकाको पहिरन तयार गरिन्छ । अहिले ढाका पहिरनको माग बढ्दो छ । तर, सुरु त्यस्तो थिएन ।

निरु आङबुङ

तेह्रथुमे ढाका बुटिक सुरु गर्नुभएको कति भयो ?
पाँच वर्ष पूरा भएर ६ वर्षमा लाग्दैछ । पाँच वर्षअघि मैले ढाका बुटिक सुरु गर्दा अरु खाशै ढाका स्पेशल बुटिकहरु थिएन । तर, जब मैले ढाकाको पहिरनहरुको प्रवद्र्धन गर्न थालेँ, त्यसपछि अरु पनि केही बजारमा थपिएका छन् ।

पाँच पहिले र अहिले ढाकाको पहिरनमा केही परिवर्तन आयो ?
धेरै आयो । पहिले–पहिले ढाकाको पहिरन भन्नेवित्तिकै राई, लिम्बू तथा आदिवासी पहिरनका रुपमा चिनिथ्यो । तर अहिले त ढाका पहिरन आधुनिक बनेको छ । सबै जात, वर्ग र समुदायका व्यक्तिहरुले ढाका पहिरन लगाउन थालेका छन् । सेलिब्रेटीका लागि त पहिलो रोजाइ नै बनेको छ ढाका पहिरन ।

ढाका पहिरन फेसनका रुपमा फस्टाएकै हो त ?
पछिल्लो समय फस्टाएकै हो । तर, ढाकाको पहिरन फेसनका रुपमा फस्टाउनुमा मैले धेरै मिहिनेत र संघर्ष गरेकी छु । विभिन्न फेसन शो, इभेन्ट तथा सेमिनारहरु गरेर तेह्रथुमे ढाकाको प्रमोशन गरेकी छु । अहिले पनि गरिरहेकै छु । हालैमात्र सम्पन्न पहिलो ‘द भ्वाइस अफ नेपाल’को पाइनालिस्टहरुलाई तेह्रथुमे ढाका उपलब्ध गराएर प्रमोशन गरेकी थिएँ , जसले राम्रो प्रमोशन पनि पाएको थियो ।

पछिल्लो समय सेलिब्रेटीहरु इभेन्ट तथा सार्वजनिक कार्यक्रमहरुमा ढाका पहिरनमा देखिन थालेनी होइन ?
हो, विशेषगरी सेलिब्रेटीहरुको त रोजाइ नै बनेको छ ढाका पहिरन । फिल्म, म्युजिक भिडियो र ¥याम्पमा समेत ढाकाले स्थान पाएको छ । यो मेरा लागि खुसीको कुरा हो ।


हिजोआज ढाकाको कस्तो फेसन चलिरहेको छ त ?
सुरुमा मेख्ली, तागा, कोर्टलगायत बढी जान्थ्यो । अहिले ढाका पनि आधुनिकतामा ढल्किएको छ । पछिल्लो समय ‘प्लेन ढाका’मा पिन्टेड गरिएका फ्युजन गाउन, सारी, वानपिसहरु बढी जान्छ । सुरुमा त ढाका भन्नेवित्तिकै टोपी र कोट मात्र हुन्छ भन्ने सोच थियो । तर, अहिले आएर बढ्दो ढाकाको क्रेजसँगै फ्युजन बढी जान थालेको छ ।

ढाकाको टोपीदेखि जुत्तासम्म बन्न थाल्यो नि होइन ?
हो, तर, मेरोमा जुत्ताचाहिँ बन्दैन । तर, बजारमा हिजोआज ढाकाको जुत्तासमेत आउन थालेको छ । म चाहिँ जुत्ताबाहेक ढाकाको सबै परिहन तयार गर्छु ।

तेह्रथुमे ढाकाको विषेशता के हो ?
मुख्य त गुणास्तर नै हो । तेह्रथुमे ढाका टाइट बुनेको हुन्छ । त्यसैले टिकाउ पनि छ । अरु कुरा तेह्रथुमे ढाका हातैले बुनेको हुन्छ । हात र मेसिनले बुनेको ढाकामा धेरै फरक पर्छ ।

‘तेह्रथुमे ढाका बुटिक’को बजार कहाँसम्म छ ?
नेपाली बजार त छँदैछ । विदेशमा पनि जान थालेको छ । सुरुमा तेह्रथुमे ढाका नेपालको पश्चिममै जाँदैनथ्यो तर, अहिले पश्चिम नेपालबाट पनि अर्डर आउन थालेको छ । पोखराबाट शाखाका लागि समेत प्रस्ताव आएको छ । तर, तुरुन्त शाखा विस्तार गर्ने सोच बनाएकी छैन ।

फेसनको व्यापारमै व्यस्त हुनुहुन्छ । घरजम गर्ने सोच बनाउनु भएको छैन ?
मैले पाँच वर्षअघि नै विवाह गरिसकेँ तेह्रथुमे ढाका बुटिकसँग । मेरो सबै थोक भन्नु नै यही बुटिक हो । अरु सोचेकै छैन ।

अब साँच्चीकै घरजम गर्नु प¥यो होला नि ?
त्यतातिर खै सोचेकै छैन । अब नसोची एक्कासी जु¥यो भने केही भन्न सकिँदैन । तर, यही समयमा विवाह गर्छु भन्नेचाहिँ प्लानिङ बनाएकी छैन ।

प्रतिक्रिया दिनुहोस्