Logo
Logo

म्युजिक खबर म्युजिक अवार्ड : तीर्थकुमारी थापालाई ‘दीर्घ साधना सम्मान’



काठमाडौं । ‘म्युजिक खबर म्युजिक अवार्ड–२०७९’मा बरिष्ठ गायिका तीर्थकुमारी थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न ‘म्युजिक खबर म्युजिक अवार्ड’ कार्यक्रममा गायिका थापालाई ५१ हजार नगद राशिसहित उक्त सम्मान अर्पण गरिएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कलाकार र स्रष्टालाई सम्मान गरिएको थियो । म्युजिक खबर डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा रहेको यो अवार्डको दशौं संस्करण हो । यस संस्करणमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न ४० विधाका कलाकार र सिर्जनालाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई ‘दशक सम्मान’ प्रदान गरिएको छ । यस्तै, म्युजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिएको छ भने म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई प्रदान गरिएको छ ।

यस्तै, ‘म्युजिक खबर संगीत सम्मान’बाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाल तथा ‘म्युजिक खबर बालप्रतिभा सम्मान’ गायिका आयुषा गौतम र नगद १० हजारसहित ‘म्युजिक खबर पत्रकारिता सम्मान’ सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई प्रदान गरिएको छ ।
अवार्ड कार्यक्रममा देवी घर्ती, राजु गुरुङ, टिका प्रसाईं, सरोज लामिछाने, शंकर बिसी, लोसिना लामिछाने, रुविना अधिकारी, रिना थापालगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

आयोजक संस्थाका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, गायक बद्री पंगेनी, सिताराम पोखरेल, देविका बन्दनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्