Logo
Logo

राइड थ्रु सिन्धुलीगढी साइकलयात्राको कार्यतालिका सार्बजनिक, यस्तो छ यात्रामा कार्यक्रम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । समृद्ध सिन्धुली अभियानको आयोजनामा यही मंसिर ६ गतेदेखि हुने राइड थ्रु सिन्धुलीगढी २०१९ साइकल यात्राको यात्रा तालिका सार्बजनिक भएको छ । साइकल यात्राको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले मंसिर ६ गते बिहान पशुपतिनाथ मन्दिर परिसरको हंशमण्डपबाट गर्नुहुनेछ । राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा हरेक बर्ष नोभेम्बरमा आयोजना गरिन्छ । यस यात्राले साइकलका सौखिनहरुको महोत्सवको रुप लिँदै गएको छ ।

आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेका अनुसार साइकलयात्राको उद्घाटनपछि यात्रीहरु पशुपतीनाथबाट सिनामंगल कोटेश्वरहुँदै भक्तपुर पुग्नेछन् । त्यहाँ भक्तपुर पर्यटन बोर्डले भक्तपुरको चर्चित जुजु द्यौ ९दही० ले स्वागत गर्ने कार्यक्रम छ । साइकलेहयात्रीलाई बनेपामा सुलभ सहकारीले स्वागतसहित खाजा खुवाएर बिगाइ गर्ने छ । यस्तै नमोबुद्द नगरपालिकाले भकुन्डेबेसीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

यात्राका क्रममा मंगलटारमा मानसरोबर श्रेष्ठले खाजासहितको स्वागत गर्नेछन् । त्यसपछि सिन्धुली जिल्ला प्रवेश गरेपछि सुनकोसी गाउपालिकाको ऐतिहासिक कुशेश्वर महादेवव मन्दिर परिसरमा सांसद लेखनाथ (राजन) दाहाल, सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहरालगायतले स्वागत गर्ने कार्यक्रम छ । गाऊपालिकाले साइकलयात्रीलाई पहिलो दिनको बिहानको खाना खुवाउने छ ।

त्यसपछि साइकल यात्रीहरुलाई झाङाझोलीको पुरानो बजारमा स्थानीय बासिन्दाले स्वागत गर्नेछन् । साइकलयात्रा यहाँ भने सडक छाडेर पुरानो बजारहुँदै मुल्कोट निस्कने छ । त्यहाँ मुल्कोट बिकास समाजको संयोजनमामा साइकलयात्रीको स्वागतमा सास्कृतिक कार्यक्रमको आयोजना गरिने छ । गाउँपालिकाले सुनकोशी महोत्सव गर्ने छ । साइकल यात्रीलाई साँझको खाना र भोलिपल्ट विहानको खाजा पनि सुनकोशी गाउँपालिकाले खुवाउने छ । पहिलो दिन रातको बास मुलकोट होटल ब्यवसायीसँग समन्वय गरेर मुल्कोट बिकास समाजले गरेको छ ।

दोस्रो दिन मुलकोट बाट सुनकोसी गाउपालिका अध्यक्ष दीपा दाहाले साइकल यात्रीलाई बिदाइ गर्नु हुने छ । साइकलयात्री खुर्कोट पुगेपछि गोलन्जोर श्रेष्ठ समाजले स्वागतसहित खाजा खुवाउने तालिका रहेको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनु भयो । साइकलयात्रीलाई बारामा स्थानीय सहकारीले स्वागत गर्ने छ । साइकल यात्री उकालो पार गरेर खनियाखर्क पुगेपछि प्रदेस ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीलाई स्वागत गर्नुहुनेछ । त्यहाँ साइकलयात्रीको सम्मानमा जुनार महोत्सव आयोजना गरिनेछ । जुनार सुपरजोन, जुनार सहकारी र जुनार उपभोक्ता संघलगायतले महोत्सवको संयोजन गर्ने छन् । जुनार महोत्सवको पर्यटनमन्त्री नेपालले उद्घाटन गर्नु हुनेछ ।

साइकलयात्रीलाई महोत्सवमा जुनारको जुसले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि साइकलयात्री ऐतिहासिक स्थल सिन्धुलीगढी पुग्नेछन् । साइकलयात्रीले त्यहीँ खाना खानेछन् । त्यहाँबाट साइकलयात्री सिन्धुलीमाढी झर्नेछन् । त्यहाँ दोस्रो दिन साँझ साईकल टोलीको स्वागतमा सिन्धुली कलाघरले भब्य साँस्कृतिक कार्यक्रम आयोजना गर्नेछ । साइकलयात्री सास्कृतिक कार्यक्रम मा सहभागी हुनेछन् । त्यहाँ समृद्ध सिन्धुली अभियानले नेपाल भ्रमण बर्ष २०२० का अबसरमा स्थानीय सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

साइकलयात्रीलाई तेस्रो दिन बिहान सिन्धुलीमाढीमा नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघले बिहानको खाजा खुवाएर विदाइ गर्नेछ । यात्रीलाई माइस्थानमा कमलामाई कृषि तथा पशुपालन फार्मले स्वागत गर्ने छ । त्यसपछि चुरेमा श्रेष्ठ परिवारले स्वागत गर्ने तालिका रहेको छ । टोली धनुषाको बाहुनमाराहुँदै महोत्तरीको बर्दिबास पुग्नेछ । त्यहाँ बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायी संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश नम्बर २ ले स्वागतसहित खाना खुवाउने छन् ।

साइकलयात्री बिहानको खाना खाएर धनुषा प्रवेश गर्नेछन् । धनुषाको ढल्केबरमा सामुदायिक बन महासंघ प्रदेस नम्बर २ ले ढल्के स्वागत गर्ने छ । त्यसपछि साइकलयात्री धारापानीबाट धनुषाधामहुँदै जनकपुर पुग्नेछन् । त्यहाँ नेपाल भ्रमण बर्ष २०२० प्रदेस नम्बर २, जनकपुर नगरपालिका , प्रदेश नम्बर २ सरकारलगायतले भब्य स्वागत गर्नेछन् । जनकपुरमा स्थानीय आयोजक सानो पाइलाले साइकलयात्रीलाई खाना खुवाउने छ । बासको प्रवन्ध नेपाल भ्रमण बर्ष २०२० प्रदेस नम्बर २ ले गर्नेछ । साइकलयात्राको अन्तिम दिन मंसिर ९ गते जनकपुरका साइकलयात्रीसहित राइड थ्रु सिन्धुलीगढीका यात्रीले जनकपुर परिक्रममा यात्रा गर्नेछन् । त्यसपछि साइकलयात्री खाना खाएर गाडीमा काठमाडौं फर्किनेछन् ।

यस बर्षको साइकलयात्रामा १सय ५० जना साइकलयात्री र ५० जना स्वयंसेवकसहित २ सय जना यात्री सहभागी हुने आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनुभयो । ‘यो साइकलयात्राले दुई पुरातात्विक स्थलहरु काठमाडौंको पशुपतिनाथ र रामजानकी मन्दिर रहेको जनकपुरधामलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ’, अध्यक्ष घिमिरेले भन्नुभयो, ‘साइकलयात्राले पहाडलाई तराइसँग पनि भावनात्मक रुपमा जोड्नेछ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000