Logo
Logo

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख बस्यालको उपचारको क्रममा निधन


- दृष्टि न्युज/संवाददाता


पाल्पा, ५ मंसिर । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज असामयिक निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्यसमेत रहनुभएका पाल्पाका अग्रज वामपन्थी नेता बस्यालको काठमाण्डौंमा उपचारको क्रममा निधन भएको नेकपा पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बस्यालको बिहीबार दिउँसो मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । युनाइटेड मिशन अस्पतालमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौँ ल्याइएको पारिवारिक स्रोतले बताएको छ । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो ।

२००९ सालमा बगनासकाली–६ यम्घा थामडाँडामा जन्मनुभएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन विस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । एमए विएडसम्मको अध्ययन बस्यालले लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, तानसेन चिलाङदी राम्दी सडकको अध्यक्ष भएर सामाजिक क्षेत्रको समेत अगुवाइ गर्नुभएको थियो ।

शिक्षक आन्दोलन र पार्टी राजनीतिमा लागेको भन्दै पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षीय उमेदवार बन्नुभएका बस्यालको चुनाव चिन्ह रेडियो आज धेरै पाल्पालीले बिर्सिएका छैनन् । जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति र उपसभापति पदमा रहँदा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लाग्नुभएको थियो । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न रहनुभएका बस्याल इमान्दार र निष्ठावान नेताको छवि बनाउनुभएको थियो ।

बस्यालको शव आज रातिसम्म तानसेन ल्याउने, भोलि बिहान निवास र त्यसपछि जिल्ला समन्वय समितिको प्राङ्गणमा अन्तिम श्रद्धान्जलिका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । बस्यालका दुई छोरा र दुई छोरी छन् ।

बस्यालको निधनपश्चात उहाँका शुभचिन्तक तथा आफन्तजनहरुले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी पाल्पाले समेत एक शोक वक्तव्य निकालेर समवेदना दिएको छ । वश्यालको निधनले पाल्पाको राजनीतिमा एक असल अभिभावक गुमाएको नेकपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्