Logo
Logo

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ


- दृष्टि न्युज/संवाददाता


रुकुमपूर्व, ८ मंसिर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । साविकको सिङ्गो रुकुम जिल्ला हुँदा रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो ।

रुकुम जिल्ला अदालतले समर्पनलाई पाँच महिना २१ दिन, ओमप्रकाश र आकाशलाई पाँच महिना २२ दिन र दीपकलाई पाँच महिना २४ दिन कैद र जनही रु २०÷२० जरिवाना तोकेको थियो । त्यतिबेला फरार भएका उनीहरुलाई लामो समयपछि प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार पक्राउ परेका उनीहरुमध्ये श्रीमान् भनिने समर्पन बुढालाई शुक्रबार रुकुमपश्चिम कारागारमा पठाइएको छ । समय अभाव र शनिबार परेकाले बाँकी तीन जनालाई आज कारागार चलानका लागि जिल्ला कारागार रुकुमपश्चिममा पठाइने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्