Logo
Logo

पूर्वजनमुक्ति सेना पनि सूर्यलाई भोट हाल्न जुटे


- दृष्टि न्युज/संवाददाता


धरान । धरानलागयत आसपासका क्षेत्रमा बसोबास गर्ने जनमुक्ति सेनाका पूर्वलडाकुहरुको शनिबार बिहान धरान १५ स्थित श्यामचोक निर्वाचन परीचालन कार्यालयमा बसेको भेलाले आसन्न उपनिर्वाचनमा सूर्य चुनाव चिन्हवाहक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाई जिताउन तनमन र धनले लागिपर्ने निर्णय गरेका छन् ।

सो भेलामा बोल्दै पूर्व जनमुक्ति सेनाका बहिर्गमन समितिका प्रदेश न १ का अध्यक्ष मिशन शेर्पाले हामी देशका लागि लडेका लडाकु भएकाले आफ्नो सबै व्यक्तिगत स्वार्थ त्यागिसकेका छौँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सफल भएका हामी जनमुक्ति सेनाले अब नेपाल कम्युनिष्ट पार्टीलाई नै मजबुद बनाएर संविधानको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा लानुपर्ने भएकाले आसन्न निर्वाचनमा सूर्य चिन्हवाहक उम्मेदवारलाई जिताउन सबैलाई आव्हान गरे ।

पूर्व जनमुक्ति सेनाका ब्रिगेडियर तथा नेकपाका केन्द्रीय सदस्य किरणकुमार राईले प्रमुख अतिथिको आसनबाट बोल्दै जनमुक्ति सेनाको स्मरणमा प्रदेश नम्वर १ मा जनमुक्ति सेनाले जनयुद्धमा प्रयोग भएका सामानहरु, हतियारहरु राखेर याडसिलामा एउटा संग्राहलय र धरानको तीनकुनेमा शहिदगेट, शहीद स्मारक पार्कहरु बनाउनुपर्ने पूर्व जनमुक्ति सेनाको माग जायज भएकाले आफ्नो तर्फबाट सो निर्माण पूरा गर्न भरपुर कोसिस गर्ने बताए ।

यसैगरी निर्वाचन परिचालन कमिटी सुनसरीका अध्यक्ष धर्म निरौलाले देशमा गणतन्त्र ल्याउन जनमुक्ति सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै देशमा भएका सबै जनमुक्ति सेनाको इतिहास देखाउन र पर्यटन वर्ष सफल पार्न पनि जनमुक्ति सेनाको संग्रालय बनाउने शहीदगेट र शहीदपार्कहरु बनाउने सोच साह्रै राम्रो भएकाले निर्वाचनलगत्तै यसबारे छलफल गर्ने बताए ।

सो भेलालाई सम्वोधन गर्दै नेकपाका प्रदेश सदस्य मुक्साहाड मेयाडवोले जनयुद्ध सफल भई अहिले क्रान्तिले रुप फेरिसकेको छ तर क्रान्ति जारी छ । अब हामी दुवै पार्टी एक ढिक्का भएर आधुनिक समाजवाद ल्याउने क्रान्तिको चरणमा छौँ । यसका लागि यस्ता निर्वाचनहरु जित्न आवश्यक भएकाले सबै जनमुक्ति सेनाका पूर्वलडाकुहरुलाई निर्वाचनको मोर्चामा खट्न अनुरोध गरे ।

सो भेलामा जनमुक्ति सेना सुनसरी जिल्ला समन्वय समितिका अध्यक्ष प्रदीप श्रेष्ठ, सचिव रामचन्द्र बस्नेत, विजय लिम्वु र सूर्य तामाङले जनयुद्धका शहीद, घाइते, अपांग र बेपत्ता भएकाहरुलाई राज्यले भुलेमा अक्षम्य अपराध हुने बताउँदै आफूहरु सबै सधैँ कम्युनिष्ट पार्टीमा नै गोलबद्ध हुने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्