Logo
Logo

साइप्रसमा ओली–नेपाल गुट विवाद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । गुटको राजनीति कति खतरनाक र घिनलाग्दो हुन्छ भन्ने कुरा हालै निजामती कर्मचारीको एक कार्यक्रममा देखियो । सरकारी जागिर खाएर पनि पार्टीगत भातृ संगठन खोलेर राजनीति गरिरहेका सत्तारुढ दल निकटका कर्मचारीका नेताहरुबीच गुटका कारण साइप्रसमा समेत झगडा भएको हो ।

गत नोभेम्बर १६ देखि १८ मा सम्पन्न ट्रेड युनियन इन्टरनेशनल, पब्लिक एण्ड अलाइन्डको साधरणसभा साइप्रसमा भएको थियो । सरकारी सेवामा रहेका कर्मचारीहरुको त्यो अन्तर्राष्ट्रिय संस्था हो । त्यही संस्थाको प्रतिनिधित्वलाई लिएर कर्मचारी नेताहरुबीच विवाद भएको हो । आधिकारिक ट्रेड युनियनका भोलानाथ पोखरेल सो संगठनको उपाध्यक्षमा मनोनित भएपछि गएका अन्य प्रतिनिधिहरु अचम्मित र आक्रोशित भएका थिए ।

सो सम्मेलनमा आधिकारिक निजामती संगठनका अध्यक्ष पुण्य ढकाल तथा नेपाल निजामती कर्मचारी संगठनका नेताहरु केदार देवकोटा, हरि रावल, हरिकुमार श्रेष्ठ, दीर्घराज ढुंगानालगायत आधिकारिक रुपमा गएका थिए । संगठनका पूर्वअध्यक्षसमेत रहेका पोखरल भने आफ्नै पहलमा साइप्रस गएका थिए । जहाँ गोप्य सेटिङ गरेर उनी उपाध्यक्ष भएका छन् ।

यअसघि सो संगठनको उपाध्यक्षमा ढकाल थिए । उनी सोही पदमा निरन्रता पाउने आशमा थिए । तर, संगठनका अध्यक्षले उपाध्यक्षका लागि पोखरेललाई राख्न भनेर इमेल आएको र त्यहीअनुसार निर्णय भएको बताएपछि अरु चकित भएका थिए ।

यसमा पेशागत महासंघका पूर्वउपाध्यक्ष प्रेमलकुमार खनालले खेल खेलेको आरोप छ । खनाल र पोखरेल राजनीति रुपले एकै गुटका कर्मचारी नेता हुन् । दुवै जना माधवकुमार नेपाल निकट । ढकाल प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । त्यहीकारण गुटका आधारमा ढकाललाई हटाएर पोखरेललाई उपाध्यक्ष बनाएपछि साइप्रसमा कर्मचारी नेताहरुबीच विवाद भएको थियो ।

ढकाललगायत प्रतिनिधिहरुले सुरुमा सो निर्णयको प्रतिवाद गरेका थिए । तर, निर्णय भइसकेकाले केही गर्न नसक्ने उनीहरुको भनाइ थियो । यो घटनाले संगठनभित्र गुटको राजनीतिक थप चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्