Logo
Logo

घाटामा जाँदा बुद्ध एयर छाडेका शिवेन्द्रले नाफामा गएपछि हिस्सा खोजे



काठमाडौं । बुद्ध एयर नाफामा गएपछि तत्कालीन सञ्चालक शिवेन्द्रबहादुर बस्नेतले आफ्नो हिस्सा खोज्न थालेका छन् । बुद्ध एयर घाटामा जाँदा छाडेको शिवेन्द्रले कम्पनी नाफामा गएसँगै आफ्नो हिस्सा खोज्न थालेका हुन् ।

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएसँगै उनका कान्छा छोरा शिवेन्द्रले आफूले हिसाब नपाएको भन्दै बुधबार पत्रकार सम्मेलन गरेका थिए । उनले आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको दाबी गरेका थिए ।

शिवेन्द्रले बखेडा निकालेपछि यस विषयमा बुद्ध एयरले स्पष्टीकरण दिएको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबीच सम्पत्ति विवाद चर्किएपछि बिहीबार विज्ञप्ति जारी गर्दै बुद्ध एयरले स्पष्ट पारेको हो ।

कम्पनी घाटामा जाँदा शिवेन्द्रले छाडेको र अहिले सफल व्यापारिक संस्था बनेपछि हिस्सा खोज्दै आएको बुद्ध एयरको दाबी छ । बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘तत्कालीन सञ्चालक शिवेन्द्रले बुद्ध एयर छाड्दा कम्पनी घाटामा थियो । २३ वर्ष लामो मिहिनेत र प्रयासपछि सफल व्यापारिक संस्था बनेको छ ।’

तत्कालीन सञ्चालक शिवेन्द्रले प्राप्त गरेको १४ प्रतिशत सेयर ०५६ सालमै बिक्री गरी माउन्टेन एयर सञ्चालन गरेका थिए ।
संस्थापक सेयरधनीका रूपमा सुरेन्द्रबहादुर बस्नेत (स्वर्गीय) र उनका जेठा छोरा वीरेन्द्रबहादुर थिए । कम्पनी स्थापनापछि कान्छा छोरा शिवेन्द्रलाई १४ प्रतिशत सेयर दिइएको थियो । उनले उक्त सेयर ०५६ सालमा बेचेर बुद्धबाट अलग भएका थिए । त्यसपछि उनले माउन्टेन एयर सञ्चालन गरेका थिए ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुरको नाममा रहेको ८० प्रतिशत शेयरमध्ये ४० प्रतिशत वीरेन्द्र र बाँकी ४० प्रतिशत अर्चना बस्नेत, शिवानी बस्नेत, देवयानी बस्नेत र पछिबाट आदर्शबहादुर बस्नेतको नाममा हुनेगरी बकसपत्र भएको थियो ।
सब सेयरधनीबीच कम्पनी ऐन, ०६३ को दफा १४५ अनुसार ०७५ साउन १५ गते भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहित सर्वसम्मत सम्झौता भएको थियो ।

सम्झौताअनुसार वीरेन्द्रबहादुरको ६० प्रतिशत सेयरबाट दुईजना र अर्चनाको ४० प्रतिशत सेयरमध्येबाट एकजना सञ्चालक नियुक्त गर्नुपर्ने थियो । उक्त विषय प्रस्ताव राखी ०७९ फागुन २२ मा साधारणसभा हुनेगरी दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

तर, अर्चना, शिवानी र आदर्शबहादुर उपस्थित भएनन् । त्यसपछि उक्त एक सञ्चालक पद खाली राखी ६५ प्रतिशत सेयरधनीको उपस्थितिमा साधारणसभा सम्पन्न भयो ।

बुद्ध एयरका अनुसार ३५ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने तीन सेयरधनी अर्चना, शिवानी र आदर्शबहादुरले कम्पनी ऐन २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा पटकपटक पत्राचार आदन प्रदान भएको थियो ।

वि.स. ०७९ चैत १५ का लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिन समय निर्धारण हुँदासमेत कुनै पनि सेयरधनी वा प्रतिनिधि उपस्थित नभएको बुद्ध एयरले जनाएको छ ।

०७९ चैत २४ गते पूर्वसञ्चालक शिवेन्द्रले कम्पनीको रजिस्टर्ड कार्यालय गई दुई समूहबाट समानान्तर व्यवस्थापन सञ्चालन गर्ने, नत्र कम्पनी ‘लिक्विडेसन’ का लागि ४० प्रतिशत सेयर बराबरको सम्पत्ति माग राखेका छन् ।

उनी, दुईजना कानुन व्यवसायी र एकजना लेखापरीक्षकसमेत लिएर रजिस्टर्ड कार्यालय पुगेको बुद्ध एयरको दाबी छ । उक्त अडियो रेकर्ड आफूसँग भएको पनि बुद्ध एयरले जनाएको छ ।

त्यसैगरी, ३५ प्रतिशत सेयरधनीले कम्पनी ऐन २०६३ को दफा १४६ र १४७ बमोजिमका अधिकार प्रयोग गर्ने बहानामा गैरकानुनी, अनुचित लाभ प्राप्ति तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा बाध्य भई सेयरधनीले उक्त कानुनी व्यवस्था प्रयोग गरी आगामी साधारणसभामा उपभोग गर्ने बुद्ध एयरले जनाएको छ ।

कम्पनीको सम्पूर्ण कारोबार विवरण, सम्झौता, साधारणसभा, ३५ प्रतिशत सेयरधनीले कम्पनीलाई पटकपटक गरेका पत्राचार कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख रहेको बुद्ध एयरले जनाएको छ । ती, कागजात आफूसँग पनि सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयर निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी हो । हाल यस एयरले १ हजार ५ सय कर्मचारीलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्