Logo
Logo

को राष्ट्रघाती ?


– शम्भु श्रेष्ठ


– शम्भु श्रेष्ठ
नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा ‘विक्षिप्त’ मनस्थितिमा देखिएका छन् । गत शनिबार पोखरामा पुगेका देउवाले भाषण गर्ने नाउमा माइकमा उभिएर ‘पागलनपन’ प्रस्तुत गरे । प्रमुख प्रतिपक्ष दलका नेतामा राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताप्रति जुन प्रतिबद्धता हुनुपर्ने हो, त्यो देउवामा देखिएन । यसकारण उनी कांग्रेसका सभापति त के सामान्य नेपाली नागरिक हुन पनि लायकका देखिएनन् । देउवाप्रति अलिकति पनि राष्ट्रभाव भइदिएको भए उनले पोखरामा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी भारतलाई सुम्पिएको हावादारी गफ गर्ने थिएनन् ।

शम्भु श्रेष्ठ

यदि देउवाले बोलेका कुरा सत्य हुन् भने बालुवाटारमा आफैँ उपस्थित सर्वदलीय बैठकमा उनले त्यो कुरा किन बोलेनन् ? उनको कुरामा दम छ भने कालापानी विवादमा भारतीय राजदूत मंजितसिंह पुरीलाई फोन गरेर उनले त्यसको विरोध जनाएको नाटक किन गरे ? देउवाको उक्त भाषण सुनेका कांग्रेसका नेताहरुले देउवाको भाषण कांग्रेसको आधिकारिक धारणा होइन, त्यो उनको व्यक्तिगत लाञ्छना हो भनिरहेका छन् । राष्ट्र र राष्ट्रियतासँग जोडिएको यति गम्भीर विषयलाई चुनावी मुद्दा बनाउनु उनको मानसिक दरिद्रता हो ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि सरकारले कूटनीतिक पहलबाट समस्या समाधानको बाटो खोजिरहेको छ । प्रधानमन्त्री ओली स्वयंले युवासंघको कार्यक्रममा नक्सा सच्याउने होइन, नेपालको भूमिबाट विदेशी अर्धसैनिक बल हटाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । त्यति मात्रै होइन, देशका विभिन्न क्षेत्रमा मिचिएका एक इन्च जमिन पनि नछाड्ने कुरा प्रधानमन्त्री ओलीले दोहो¥याइरहेका छन् । पूर्वप्रधानमन्त्री, विज्ञ र सबै राजनीतिक दललाई एक ठाउँ उभ्याएर कालापानीका मुद्दामा राष्ट्रिय सहमतिको वातावरण बनाइरहेका छन् । परराष्ट्रसचिवमार्फत भारत सरकारलाई औपचारिक पत्र पठाएको कुरा सार्वजनिक भइरहेको छ । कालापानी सीमा विवाद सुल्झाउने बेला यही हो, त्यसको समाधान वार्ताबाट गरिनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

यति संवेदनशील विषयमा भारतसँग सरकारले गम्भीररुपमा वार्ता प्रयास गरिरहेको बेला प्रतिपक्ष दलका नेता देउवाले पोखरामा पुगेर ‘ओलीले भारतसँग भित्री सल्लाह गरेरै त्यो नक्सा निस्किएको हो । भारतले त्यसै छापेको होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिबिना नक्सा छाप्नै सक्दैन’ भने । यो भन्दा लज्जाजनक, यो भन्दा घटिया र यो भन्दा ठूलो राष्ट्रघात के हुनसक्छ ? कतै यति धेरै सूचना दिने शक्तिले कालपानीमा नेपाली जनमत विभाजित गर्न र आफ्नो स्वार्थपूर्ति गर्न देउवाको मुखबाट यसो भनाएका त होइनन् ? होइन भने उनले बोलेका कुराको प्रमाण नेपाली जनतालाई दिनुपर्छ ।

कालापानी मुद्दाले सिंगो नेपाली जनमत जुरुक्क उठेको बेला ती नेपाली जनताको आन्दोलनमाथि कुनै पनि राजनीतिक दलका नेताले तातोपानी खन्याउनु हुँदैन । अग्रेजसँग लडाइँ गरेर आफ्नो भूमि जोगाएको इतिहास हामीसँग साक्षी छ । कुनै पनि देशको अजयशक्ति भनेका ती देशका जनता हुन् । अहिले पनि कालापानी फिर्ता गर्नेदेखि लिएर सीमा मिचिएका जमिन फिर्ता गर्न नेपाली जनता लडिरहेका छन् । पर्दा बलिदानी दिइरहेका छन् । सरकारलाई सडकबाट खबरदारी गरिरहेका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो भन्ने प्रमाण हामीसँग छ । सन् १९६२ मा भारत–चीन युद्ध भएपछि कालापानीमा भारतीय सेना बसेको हो । नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरताको फाइदा भारतले उठाउँदै आएको थियो । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने नाममा अहिले आएर भारतले उक्त विवाद सिर्जना गरेको हो । त्यही रोडम्यापमा अहिले देउवा हिँडिरहेका छन् । समयले देखाउने छ ओली राष्ट्रघाती हुन् कि देउवा भन्नु कुरा ?

प्रतिक्रिया दिनुहोस्