Logo
Logo

प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग



काठमाडौं । हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई आफ्नो सामाजिक उत्तरदायित्व शिक्षातर्फ कदम ‘स्टेप टुवर्डस् इजुकेशन’ अन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । यस एयरलाइन्सले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तर सातौँ वर्षसम्म सहयोग जारी राखेको हो ।

एयरलाइन्सले यही वैशाख २८ गते प्रयास नेपालमा आयोजित कार्यक्रममा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । एयरलाइन्सले शैक्षिक सत्र २०८० को लागि विद्यार्थीलाई नोटबुक, रजिस्टर र शैक्षिक पाठ्यक्रम पुस्तकजस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

साथै यस वर्ष एयरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल ‘लभ एपेटाइट’ को लागि ‘विशेष ज्ञान आदानप्रदान सत्र’ पनि आयोजना गरेको थियो । संक्षिप्‍त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजनाबारे प्रशिक्षण दिएका थिए ।

उक्त कार्यमा सहयोग गर्न पाउनु एयरलाइन्सको गौरवको कुरा भएको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बताए । उनले भने, ‘प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बालबालिकाले हाम्रो पहलमार्फत् आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुसी छौं । विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेका छन् । यस रेष्टुरेन्ट स्टार्टअपमार्फत् बालबालिकाले आफ्नो सिकाइ र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् ।’

उनले हिमालय एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्य पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि गरे ।

प्रयास नेपालका अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्सको निरन्तर सहयोगको प्रशंसा गर्दै यसले बालबालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न मद्दत पुग्ने बताए । 

उनले भने, ‘हामी हिमालय जस्तो एयरलाइन्सलाई साझेदारीको रुपमा पाउँदा भाग्यमानी छौं, जसले शिक्षालाई महत्व दिन्छ र आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न समर्पित छ । रेस्टुरेन्ट सुचारु रूपमा चलाउनका लागि यस वर्ष हाम्रा युवाहरूलाई सीप बढाउने तालिममा यहाँहरूको थप सहयोगको लागि हामी आभारी छौं ।’

प्रयास नेपाल सन् २००३ मा शिक्षा, चेतना र सीपमूलक तालिमको माध्यमबाट वञ्चित बालबालिकालाई सशक्तीकरण गर्ने सोचका साथ स्थापना भएको हो । संस्थाले विगत दुई दशकदेखि नेपालका विभिन्न भागका अनाथ, परित्यक्त र शारीरिक रुपमा अशक्त बालबालिकाका लागि बाल गृह सञ्चालन गर्दै आएको छ ।

हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्