Logo
Logo

मन्दिरकै जमिन बिक्री


- दृष्टि न्युज/संवाददाता


धनगढी, १० मंसिर । धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको लक्ष्मीनारायण मन्दिर धनगढीको नौ बिघा जमिन सञ्चालक समितिले दलाल लगाएर बिक्री गरेको खुलासा भएको छ । विगतमा लक्ष्मीनारायण मन्दिरका नाममा कैैलाली कञ्चनपुर जिल्लामा रहेको धार्मिक संस्थाको नाममा ४० बिघा रहेको भएपनि पछिल्लो समयमा सो जमिन घट्दै जान थालेको बताइन्छ । भुराकोटमा रहेको १० बिघाको प्लटलाई मन्दिर सञ्चालक समितिका केही पदाधिकारीहरुको मिलेमतोमा दलालसंगको मिलेमतोमा बिक्री गरेको थाहा भएको छ ।

उक्त ९ बिघा जमिनलाई दलाल मार्फत १ करोड ५५ लाखमा बिक्री गरिएको महन्त स्वामी देवराज आचार्यले बताएका छन् । मन्दिरको जमिन विभिन्न व्यक्तिहरुले कब्जा गर्न खोजेको र सपिङ कम्पलेक्स निर्माण गर्ने प्रयोजनका लागि बिक्री गरिएको आचार्यले बताए ।

धार्मिक संस्था लक्ष्मीनारायण मन्दिर गुठी अन्तरगत नभएको र स्वामीको निर्देशन र कानुनमा मात्र चल्ने व्यवस्था गरिए अनुसार उक्त जग्गा मन्दिर सञ्चालक समितिको बैठक बसेर बिक्री गर्ने निर्णय गरेरै बिक्री गरिएको कुरा स्वामी आचार्यले जवाफ दिए । उक्त जमिनलाई बिक्रीगरेर स्वामी आचार्यलाई फन्दामा पारेर सञ्चालक समितिका केही भ्रष्ट व्यक्तिहरुले उक्त जमिनलाई अपचलन गरिरहेको पनि मन्दिर सञ्चालक समितिकै एक जना सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए । उनीहरुकै योजनामा मन्दिरको आन्तरिक एवं बाह्य स्रोतको व्यापक दोहन भइरहेको बताइन्छ ।

धार्मिक संस्थाका नाममा रहेको जमिनलाई मन्दिरका सदस्य एवं कार्यालय सचिवको कार्य गर्दैै आएका हरि न्यापानेको नामले चिनिने भारत सिक्किम घर भई हालसालै नेपाली नागरिकता प्राप्त दण्डपाणि न्यौपानेले उक्त जमिन बिक्रीका लागि जग्गा दलालको बन्दोवस्त गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार न्यौपानेले जनक धामी नाम गरेका व्यक्तिलाई पाण्डेय थर भएका एक जना दलाल लगाएर १ करोड ५५ लाखमा जमिन बिक्री गरेको बताएका छन् । मन्दिरका नाममा रहेको जमिन बिक्रीका लागि एक बर्ष देखि दण्डपाणी न्यौपानेले कैलाली र कञ्चनपुरका विभिन्न व्यक्ति र दलालहरुसंग जग्गाका बिक्रीका लागि धाउँदै आएकोमा अन्तिममा आएर पाण्डेय थर भएका एक जना व्यक्तिलाई दलाल बनाएर जनक धामी नाम गरेका व्यक्तिलाई बिक्री गरेको बुझिएको छ ।

स्रोतका अनुसार दण्डपाणी न्यौपाने, मन्दिर सञ्चालक समितिका केही पदाधिकारीको मिलेमतोमा उक्त जमिन १ करोड ५० लाखभन्दा बढी रकममा बिक्री गरेको र कमिशनबापतको रकम मिलेर खाएको हुन सक्दछ । मन्दिरका नाममा रहेको जमिनर गुठीअन्तर्गतको जमिनलाई बिक्रीवितरण गर्न नपाइने व्यवस्था भए पनि लक्ष्मीनारायण मन्दिरको जमिनलाई सञ्चालक समितिका पदाधिकारीहरुले निर्णय गरेर बिक्री गरेको पाइएको छ । मालपोत कार्यालय धनगढीमा अधिकृतको रुपमा काम गरिसकेका भवानसिंह तमौलीले गुठी वा मन्दिरका नाममा रहेको जमिन बिक्री वितरण गर्ने कुनै पनि अधिकार छैन । मन्दिर वा गुठीका नाममा रहेको जमिन व्यक्तिका नाममा बिक्री गरिएमा गैरकानुनी ठहरिन्छ । मन्दिरको नाममा रहेको जमिन मठाधिसको आदेश र सञ्चालक समितिको निर्णयका आधारमा कञ्चनपुर मालपोत र नापी शाखाले ठूलो रकमको चलखेलमा बिक्री गरेको हुनसक्ने पनि तमौलीले बताए । – वीरेन्द्र रावल

प्रतिक्रिया दिनुहोस्