Logo
Logo

आइजिपीको सपना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब ७७ दिन बाँकी छ । अवकाशको बेला केही राम्रा काम गरेर आफ्नो छवि माथि उठाउने उनको योजना छ ।

करिब १९ महिनामा उनका लागि निर्मला प्रकरण सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्यो । यही कारण सरकार समेत बदनाम भयो । प्रहरी महानिरीक्षकको बर्दीमा पनि यही दाग लाग्यो । अवकाश हुने बेलामा उनी यही दाग मेटाउने प्रयासमा छन् ।

पछिल्लो अनुसन्धानमा सुरुको प्रहरी अनुसन्धान नै सही रहेको संकेत गरेको छ । अर्थात् दिलिपसिंह बिष्ट नै अभियुक्त भएको प्रशस्त्र प्रमाणहरु जुटिसकेको छ । तर, पनि दिलिपसिंहलाई पक्राउ गर्न प्रहरी डराइरहेको अवस्था छ । किनकी अकाट्य प्रमाण पनि प्रहरीले पाउन सकेको छैन । फेरि आन्दोलन भड्कने र अदालतबाट सफाई पाउनसक्ने जोखिम छ ।

विगतमा डिएनए नमिलेको आधारमा उनी छुटेका थिए । बैज्ञानिक प्रमाणलाई मान्नुपर्ने भन्दै उनलाई छाडिएको थियो । तर, डिएनए परीक्षणमा त्रुटि भएकाले सो डिएनएबाट सही नजिता आउनै नसक्ने बिज्ञको रिपोर्टपछि दिलिपमाथि नै अनुसन्धान अघि बढेको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरूमध्ये नै घटनाका अभियुक्त भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

१० साउन ०७५ मा महेन्द्रनगरमा पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, मानसिक रोगी रहेका नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । पछि विष्टको डिएनएसमेत नमिलेपछि प्रहरीमाथि सर्वसाधरणको आक्रोश बढेको थियो ।

प्रहरीले प्रमाण नष्ट गरेको, यातना दिएको भन्दै आठजना प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसका आधारमा त्यसरी मुद्दा दायर भएको थियो । अहिले फेरि विष्ट नै प्रहरी अनुसन्धानको पहिलो नम्बरमा छन् । पहिलेभन्दा उनीविरुद्ध धेरै प्रमाणसमेत संकलन भइसकेको प्रहरी अधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्