Logo

नेपालीसँगै घरजम गर्छु- कविता गिरी, मिस भूटान युएसए–२०१९


Published On : 26 November, 2019

अमेरिकी नागरिक भएकामा उनी खुसी छिन् । ‘मिस भूटान युएसए–२०१९’को उपाधि जितेपछि पहिलोपटक नेपाल आएकी कविता गिरी भन्छिन्, ‘१७ वर्षको उमेरसम्म नेपालमै बसेँ । तर, न नेपालको नागरिक थिएँ, न त भूटानकै । अहिले अमेरिकी नागरिक भएँ, यसैमा खुसी छु ।’ भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गर्नेक्रममा चार वर्षअघि झापाको बेलडाँडी क्याम्पबाट अमेरिका पुगेकी कविता अभिनय र मोडलिङमा रुचि राख्छिन् । हाल अमेरिकाको ओहायो राज्यमा बस्दै आएकी कविता एक प्रोजेक्टका लागि नेपाल आएकी हुन् । ‘मिस भूटान युएसए’को उपाधि जितेसँगै समाजिक कार्यमा जुटेकी उनी त्यही सिलसिलामा नेपाल आएकी हुन् । मास्टर डिग्रीको तयारीमा जुटेकी कविता भन्छिन्, ‘मेरो लक्ष्य भनेको नेपाली फिल्मीमै केही गर्ने हो ।’ ‘मिस भूटान युएसए’को उपाधिसँगै अमेरिकामा रहेका भूटानी शरणार्थी नारीको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्ने अवसर पाएकी २१ वर्षीया कविता गिरीसँग एमपी सुब्बाको जम्काभेट :

अमेरिका कुन ठाउँ बस्नुहुन्छ ?

म अमेरिकाको ओहायो राज्यमा बस्छु । जहाँ अरु भूटानी शरणार्थी पनि बस्छन् ।

नेपालबाट गएका भूटानी शरणार्थी त्यही बस्ने हो ?

होइन, जहाँ बसेपनि हुन्छ । अमेरिकाको नागरिकजस्तै हो हामी । त्यसैले अमेरिकाको जुनै सिटी र राज्यमा बसेपनि हुन्छ । त्यहाँ शरणार्थी भनेर छुट्टाएको हुँदैन । हामीलाई चाहिँ सुरुमै ओहायोमा लगिएको थियो ।

त्यहाँको बसाइँ कस्तो छ ?

सुरु सुरुमा चाहिँ भाषाले गर्दा अलि गाह्रो लाग्थ्यो । तर ३÷४ महिनामात्र हो । त्यसपछि त राम्रै छ । त्यहाँ पनि नेपाली कम्युनिटी छ । जहाँ बस्यो, त्यही राम्रो हुने रहेछ ।

‘मिस भूटान युएसए’ उपाधि जित्नुभएछ । उक्त प्रतियोगितामा कसरी पुग्नुभयो ?

म नेपालमै (बेलडाँगी) क्याम्पमा हुँदा पनि नाटकहरु गर्थेँ । म सानैबाट कलाकारिता रुचाउँथे । त्यसमाथि म यही ठूली भएर अमेरिका गएकी हुँ । मेरो रुचि र इच्छालाई बुझेर अमेरिका पुगेपछि बुद्ध भट्टराई दाईले त्यहाँसम्म पु¥याउनुभयो । हुन त मैले ‘मिस भूटान युएसए’ उपाधि जित्नका लागि धेरैजनाको हात छ । यहाँ सबैको नाम भन्न म सक्दिनँ ।

तपाइँलई उपाधि जित्नु भन्ने ‘कन्फिडेन्ट’ थियो ?

पटक्कै थिएन । ग्राण्ड फाइनलका दिन साथीहरु हौसला बढाउन आउँछौँ भनेका थिए । जित्दिनँ होला भनेर उनीहरुलाई नआऊ भनेँ । उपाधि जितेपछि पनि मलाई विश्वास नै लागेन । अहिले पनि सपनाजस्तो लागिरहेको छ ।

अहिले नेपाल केका लागि आउनुभएको नि ?

‘मिस भूटान युएसए’को उपाधि जितेपछि ममा केही जिम्मेवारी थपिएको छ । त्यसैक्रममा सिबीएनएस ग्रुपसँग एउटा प्रोजेक्ट गर्ने कुरा भयो । त्यसैको सिलसिलामा नेपाल आएकी हुँ ।

आफूले छाडेर गएको शरणार्थी क्याम्प चार वर्षपछि फर्किँदा के फरक पाउनुभयो ?

धेरै नै फरक पाएँ । अहिले बस्ती पातलो भएको रहेछ । पहिले हामी हुँदा बाक्लो बस्ती थियो । त्यस्तै, सुहलियत पनि कटौती गरिएको रहेछ । त्यो थाहा पाउँदा दुःख लाग्यो ।

अमेरिकन नागरिक बनेपछि कस्तो महशुस गर्नुभएको छ ?

खुसी नै छु किनकि, अमेरिका नगएसम्म हामी अनागरिक थियौँ । नेपालमा मेरो आमा–बुबा २०÷२५ वर्ष बस्नुभयो । तैपनि हामीसँग नागरिकता थिएन । न हामीसँग नेपाली नागरिकता थियो, न त भूटानकै । अहिले अमेरिकाको नागरिकता पाएका छौँ । खुसी छु ।

अमेरिकन नागरिक भएपछि घरजम पनि उतै गर्ने होला नि ?

जन्मलिँदा जुन भाषा लिएर आएँ, त्यसैप्रति प्रेम छ । त्यसैले जहाँसुकैको नागरिक भएपनि म नेपाली भाषीप्रति नै गर्व गर्छु । त्यसैले नेपाली सँगै घरमज गर्ने मेरो सोच छ ।

भविष्यको लक्ष्य के लिनुभएको छ ?

एक कुसल एक्टर बन्ने र नेपाली फिल्म क्षेत्रमा केही गर्ने लक्ष्य लिएकी छु । यो अहिले मात्र नभएर सानैदेखि नेपाली फिल्मको एक्टर बन्न चाहन्थेँ ।

कस्तो फिल्म गर्न चाहनुहुन्छ ?

म यस्तो फिल्ममा काम गर्न चाहन्छु, जसले दर्शक र समाजलाई केही सन्देश देओस् । उक्त फिल्मबाट आममानिसले केही सिकोस् र देश र विकासका लागि प्रयोग गरोस् । मैल सानैमा पनि सन्देशमूलक नाटकहरु गरेकी छु । चेतना र सन्देश बोकेको फिल्ममा काम गर्दा आफूलाई पनि सन्तुष्टि मिल्छ ।

प्रतिक्रिया दिनुहोस्