Logo
Logo

दोषी कोही उम्कने छैन : गृहमन्त्री


756
Shares

गोरखा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्नेमा जोड दिएका छन् । गोरखा सदरमुकाममा आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र गोरखा जिल्ला समन्वय समितिको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार देशलाई नयाँ ढङ्गबाट अघि बढाउन भ्रष्टाचार र कमिसनको जालो तोड्ने अभियानमा लागेको बताए ।

उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको माध्यमबाट नागरिकको जीवनमा परिवर्तन ल्याउन सामाजिक न्यायसहितको समाज स्थापना गर्नुपर्छ । समृद्धिको गुणात्मक फड्को मार्न सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई कार्य सूचीअनुसार गरेको छ ।’

नक्कली शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको बताउँदे गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचारी र अपराधीलाई लुक्न, छिप्न दिइँदैन । कोही निर्दोष फस्दैन र दोषी उम्कने छैन ।’ सरकारको उद्देश्य सुशासन, समृद्धि र सामाजिक न्यायसहित समाज स्थापना गर्नु रहेको उनले स्पष्ट पारे ।

गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार गठन भएदेखि नै शुसासनको पक्षमा जोड दिँदै आएको बताए । ‘नेपाली जनतामा नयाँ आशा र विश्वास दिलाउनेतर्फ सरकार अघि बढिरहेको छ’, उनले भने, ‘त्यसैको परिणाम स्वरुप सरकार कडा रुपमा भ्रष्टाचारको विरुद्धमा उभिएको छ ।’

उनले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी दिँदै संसदमा पेश भएको विधेयक पारित भएलगत्तै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले बाँकी रहेको कामलाई पूर्णता दिने बताए ।

प्रेस सेन्टरको साधारणसभाले ११बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित एवं पूर्ण व्यावसायिक एवं जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहँदै ११बुँदे गोरखा घोषणापत्र–२०८० जारी गरिएको प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्