Logo
Logo

बेकम्मा र अर्थहीन कसम




कसम एउटा विश्वास हो । अविश्वास लागे मान्छेहरु ‘कसम’ खान्छन् । त्यसैले यहाँ विश्वास दिलाउन मान्छेहरु अनेक कसम खान्छन् । बेला–कुबेला कसम खानैपर्ने बाध्यात्मक परिस्थिति पनि आइपर्छ ।

कसमका भाका अनेक छन् । विद्या नष्ट हुने कसम । आमाको कसम । देवताको कसम । मरिजाँउ कसम । तामा तुलसी छुने कसम । घरपरिवार, साथी, प्रेमी/प्रेमीका, जीवनसाथी, गुरु, छिमेकी, साहु, मालिक, हाकिम र समाजका अनेक मान्छेसँग परिस्थितिअनुसार कसम खानुपर्छ ।

साँचो होस् या झुट, कसम नखाइ पत्याउँदैनन् ! विश्वास दिलाउनकै लागि कसम खाइन्छ । निर्वाचन जित्न नेताले विकास गर्ने कसम खान्छन् । प्रेम÷प्रेमिकाबीच जुनीसँगै बाँच्ने कसम हुन्छ । विवाह गर्दा सात फन्का लगाउँदै कसम खाने चलन छ ।

साथीलाई पक्का साथ दिन्छु भन्न, गुरुलाई राम्रो पढ्छु भन्न, साहुलाई समयमै ऋण चुक्ता गर्छु भन्न र मालिकलाई राम्रोसँग काम गर्छु भन्न अनेक उपमाहरू जोडेर कसम खाने गरिन्छ । र, विश्वास यही अडिएको छ ।

अहिले सत्ययुग होइन, कलियुगको हो । ‘जसले गर्छ पापा, उसैलाई फलिफाप’ भन्छन् ! यहाँ कसम खानेले होइन, दारु खानेले साँचो बोल्छन् रे ! कसम त विश्वास नभएकाले विश्वास नगर्नेलाई विश्वास दिलाउनका लागि गर्ने प्रतिज्ञामात्रै हो ।

कसम खानु भनेको प्रतिज्ञा, शपथ, उत्तरदायित्व लिनु, वाचा गर्नु, कर्तव्यको जिम्मेवारी लिनु हो । कतव्र्य पूरा गर्न नसके अमुक सजाय भोग्न तयार हुनु हो । राष्ट्र प्रमुख, सरकार प्रमुख, न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाइन्छ । त्यसपछि मात्रै कामको जिम्मेवारी दिइन्छ ।

विभिन्न धार्मिक किताबमा कसम खाने प्रसंगहरू भेटिन्छन् । जहाँ धर्मको खिलाफमा जानु हुँदैन भन्ने मान्यता छ । त्यसबेला खाएको कसम जसरी पनि पूरा गर्नैपर्छ भन्ने मान्यता थियो । कसम पूरा नगरे पाप लाग्थ्यो ! भष्म हुन्थ्यो !

इसाई पूर्व ११ जून ३२३ मा मेसिडोनिया (ग्रिक)मा जन्मिएका सिकन्दर २० वर्षमै राजा बने । युवा अवस्थामै राजा बनेका उनी आफ्नो पिताले पूरा गर्न नसकेको लक्ष्य लिएर लिएर सैन्यसहित निस्किए । उनलाई एसिया जित्नु थियो ।

त्यसअघि उनी डायोजेनिजसमक्ष पुगे । उनले आफू विश्व विजयी यात्रामा जान बिदा माग्न आएको बताए । डायोजेनिजले सोध– विजयीपछि के गर्छौ ? उनले भने– ‘यो मेरो अन्तिम यात्रा हुनेछ । यसपछि विश्रान्ति लिने इच्छा छ । फर्केपछि अवश्य विश्राम लिनेछु ।’

उसको वचनलाई डायोजेनिजले मूर्खता ठाने । डायोजेनिजले भने- ‘वाचा, कसम सबै व्यर्थ छन्, यस्तो बेकारको कुरा नगर । आजसम्म कसैले आफ्नो यात्रालाई टुंगोमा पुर्याएको थाहा छैन । सबैको यात्रा बीच बाटोमा टुंगिन्छ ।’

आकांक्षाहरू दुष्कर हुन्छन् भन्ने नबुझेका सिकन्दरले यात्रा सुरु गरे । छोटै समयमा इरान, सिरिया, टर्की, अफगानिस्तान र भारतको पंजाबसम्म कब्जा गरे । जब उनी, सिन्धु नदी छेउको तक्षशिला पुगे । त्यस क्षेत्रका राजा पोरसले रोकिदिए । उनी, पराजित भए । त्यसपछि सिकन्दर इराकको बेलीलोन फर्के । त्यहाँ उनलाई ज्वरोले सतायो । ११ दिन बिमारी परेपछि ३३ वर्षको अल्पायुमै उनको मृत्यु भयो ।

कसम निकै बलियो र अर्थपूर्ण कुरा हो । तर, आजकाल यो आफैँसँग लज्जित बनेको छ । बिहान खाएको कसम बेलुका तोडिन्छ । बेलुका खाएको कसम बिहान । आकाशको जुनतारा झारिदिन्छु भनेर कसम खानेहरूले बंगारा झरिदिन्छन् ! आकाशको फूल टिपेर ल्याइदिन्छु भन्नेले तोरीको फूल देखाइदिन्छन् । पानीमा दूध मिसाएर खाटी दूध भएको कमस खान्छन् ।

अहिले सत्ययुग होइन, कलियुगको हो । ‘जसले गर्छ पापा, उसैलाई फलिफाप’ भन्छन् ! यहाँ कसम खानेले होइन, दारु खानेले साँचो बोल्छन् ! कसम त विश्वास नभएकाले विश्वास नगर्नेलाई विश्वास दिलाउनका लागि गर्ने प्रतिज्ञामात्रै हो ।

जसले बढी कसम खान्छ, उसले त्यति नै ढाँटीरहेका हुन्छन् । हाम्रा नेताहरूलाई हेरे पुग्छ ! यसको एक उदाहरण हुन्, कमल थापा । गीता छोएर पार्टी नफुटाउने कसम खाएका उनले एक वर्ष नबित्दै फुटाए । न, उनलाई पाप लाग्यो न त श्राप !

अहिले ‘महालक्ष्मीदेवी’ अर्थात आरजु राणाको कसमको चर्चा छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि उनले छोरा जयवीरको कसम खाए । जसको चर्चा व्यापक छ । उनले झुटा कुरालाई विश्वास दिलाउन कसम खाएका हुन् या साँचोलाई । त्यो प्रहरीको अनुसन्धानले बताउला । तर, प्रहरीले नै अनुसन्धान नै नगरे दैव जानुन !

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कसमले चर्चा पाएको थियो । मन्त्री बन्न रास्वाप सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजिक भएपछि उनलाई कारबाही गर्न रविले बलिको कसम खाएका थिए ।

कसम खाएर पूरा नगर्नेहरूको लाम पनि चित्र गुप्तको ढोकासम्मै पुगेको होला । यो लाइनमा थपिने क्रम निरन्तर छ । पशुपतिनाथ अगाडि उभिएर यो गर्छु र त्यो गर्दिनँ भनेर मनमनै कसम खानेहरूले चाबहिलमा मःमको डल्लासँग निलिदिन्छन् ।

यहाँ, कसमका दोकान बग्रेल्ती छन् । व्यापार फस्टाइरहेको छ, किस्ता किस्तामा होलसेल र खुद्रामा बिक्री भइरहन्छ । र, बन्द कहिल्यै हुँदैन । विश्वास मिसाएको कसमभन्दा अविश्वास मिसाएको कसम महँगो छ । त्यस्ता मिसावटी कसमको भाउ आकासिएको छ । सुनको भाउ कहिले उकालो, कहिले ओरालो लाग्छ । तर, कसमको भाउ दिन दुईगुणा रात, चारगुणा भइरहेको छ ।

यदि, सत्य कुराको मात्रै कसम खाने भए न्यायलय किन चाहियो ? प्रहरी प्रशासन किन चाहियो ? सबै असलमात्रै भए भ्रष्टाचार र अपराध भन्ने के हो ? कस्तो हुन्छ ? थाहै हुँदैन थियो ।

खाएको कसम पूरा नगर्दा भष्म हुनेभए पृथ्वीलोकमा मान्छे भन्ने जिव नै हुँदैन थियो । वास्तवमा कसम भनेको पानीमाथि गरिएको हस्ताक्षर हो, जसको कुनै मूल्य हुँदैन । यस्तो मूल्यहीन कसमले महत्व पाउनु अनौठो हो । यस्ता बेकम्मा र अर्थहीन कसम खाएर लज्जित नबनाऔँ । सकभर कसैको विश्वास टुटाउने कामै नगरौँ ।

प्रतिक्रिया दिनुहोस्