Logo
Logo

प्रहरीको बोली, वचन र व्यवहार परिष्कृत हुँदै गएको छः प्रहरी महानिरीक्षक खनाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ मंसिर
प्रहरी महानिरीक्षक खनालले विगतको भन्दा प्रहरीको बोली, वचन र व्यवहार परिस्कृत हुँदै गएको बताएका छन् । यसबाट प्रहरी सेवा आगामी दिन अझ राम्रो हुने उनको भनाई छ ।


आइतबार त्रिभुवन विश्वबिद्यालयमा आयोजित कार्यक्रममा उनले समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत उपस्थित विश्वबिद्यालयका विद्यार्थीहरुलाई आग्रह गरे । सुरक्षा जहाँ हुन्छ त्यहाँ विकासका गतिविधि चलायमान हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले भयरहित समाज निर्माण तथा विकासका गतिविधिलाई अगाडि लैजान सबै समुदायबीच मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले शान्ति सुरक्षा, प्रहरीको कार्य, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विविध जिज्ञासा राखेका थिए ।

खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गरेका थिए ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए ।

सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय(प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा फरक रुपमा समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बिषयहरु तय गरी कार्यक्रम संचालन गरिएको बताए ।

सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भने ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवा लगायत विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

यसरी विश्वबिद्यालयका बिद्यार्थीसँग प्रहरी महानिरीक्षकले अन्र्तक्रिया गरेको पहिलोपटक हो । समुदाय र प्रहरीबीचको ‘ग्याप’ हटाउने र प्रहरीप्रतिको विश्वास बढाउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्