Logo

अलविदा विनय दाइ !


Published On : 3 December, 2019

  • शम्भु श्रेष्ठ

वरिष्ठ पत्रकार तथा साहित्यकार विनयकुमार कसजु मेडिसिटी अस्पतालको बेड नं. ६०३ मा उपचारार्थ भर्ना हुनुभएको थियो । उहाँ बिरामी भएर अस्पताल भर्ना हुनुभएको खबर सामाजिक सञ्जालबाट थाहा पाएको थिएँ, तर उहाँलाई भेट्न जाने फुर्सद निकाल्न सकेको थिइनँ । कसैले सुनाए उहाँलाई भेन्टिलेटरबाट वार्डमा सारियो । गयो भने भेट्न दिन्छ । तुरुन्तै म अस्पताल पुगेँ । विनय दाइको छेउमा एकैक्षण बसेँ । उहाँ मुसुक्क हाँस्नु भयो । बेडमै उहाँको एउटा फोटो खिचेँ । एक सातासम्म भेन्टिलेटरमा उपचार गरेर बेडमा फर्किएका विनय दाइलाई अब त बाँच्छु भन्ने विश्वास जागेको थियो । त्यसैले आगन्तुक देख्नासाथ उहाँको अनुहारमा चमक देखिन्थ्यो । अस्पतालबाट फर्किएपछि ‘दृष्टि’ अनलाइनमा विनय कसजूको स्वास्थ्यमा सुधार भनेर एउटा समाचार छापे । उक्त समाचारमा धेरै साथीहरुको ‘लाइक’ आयो । धेरैले ‘गेट वील सुन’ भनेर लेखे । यी शब्द लेख्नेहरु समय निकालेर अस्पताल भेट्न गए/गएनन् थाहा छैन ।

सामाजिक सञ्जालको भीडमा मानवता हराएको छ । मानिसलाई सामाजिक सञ्जालले सूचना त अपडेट गरेको छ । तर, साथसाथै संवेदनाहीन पनि बनाएको छ । सामाजिक सञ्जालका कारण विस्तारै हामी संस्कृतिविहीन पनि बन्दै गएका छौँ । यसमा सामाजिक सञ्जालको दोष होइन, मानवताविहीन हाम्रो चेतना दोषी छ । विनय दाइ बिरामी भएर अस्पताल भर्ना हुँदा ‘गेट वील सुन’ लेख्नेहरुले उहाँको निधनपछि फेसबुक वालमा ‘रिप’ शब्द लेखेर आफ्नो दायित्व पूरा भएको ठाने होलान् । यो हाम्रो संस्कृतिप्रतिको विचलन हो । कोही बिरामी हुँदा अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गर्ने र कोही दिवंगत हुँदा घाटमा पुगेर श्रद्धाञ्जलि दिने हाम्रो परम्परालाई हामीले सामाजिक सञ्जालमा सीमित गरेका छौँ । यो मानवताविहीन सभ्यता हो । जसले हामीलाई संस्कारविहीन बनाइरहेको छ ।

निमोनियाबाट ग्रस्त विनय दाइलाई सात दिन ‘भेन्टिलेटर’मा राखेपछि परिवारले बाँच्ने आशा कमै राखेका थिए । डाक्टरको सल्लाहमा हतार हतार छोराहरुलाई अमेरिकाबाट बाबुको मुख हेर्न बोलाइयो । छोरा अभिनव र श्रीमती गंगा म्याडम दुई जनाले विनय दाइको रेखदेख गर्दै आएका थिए । सात दिनपछि भेन्टिलेटरबाट बेडमा सारेपछि गंगा म्याडम र छोराहरुको अनुहारमा पनि चमक आयो । छोराहरु ढुक्क भएर अमेरिका फर्किए । त्यसको केही दिनपछि निमोनियाले च्याप्यो र उहाँलाई फेरि भेन्टिलेटरमै लगियो । जहाँबाट उहाँ कहिले नफर्कने गरी हामीबाट सदाको लागि बिदा हुनुभयो ।

अहिले मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । नेकपा जुन जगमा उभिएको छ, त्यो जगको एउटा इँटा हुनुहुन्थ्यो विनय दाइ । ०३५÷३६को विद्यार्थी आन्दोलनमा उहाँले ठूलो योगदान पु¥याउनुभयो । पाल्पाबाट ‘पाहुर’, ‘श्रीनगर’, ‘सत्य’ र देउराली पत्रिकाको उहाँले नेतृत्व गर्नुभयो । त्यतिबेला कुनै कार्यक्रम गर्नुप¥यो भने स्थानीय कम्युनिष्टहरुले उहाँसँग सल्लाह लिने गर्थे । कम्युनिष्ट पार्टी भूमिगत थियो । तै पनि गोप्यरुपमा पर्चा पम्प्लेट उहाँले छाप्नु हुन्थ्यो । प्रगतिशील लेख, कविता उहाँको पत्रिकामा छापिन्थ्यो । जहिले पनि उहाँ स्थानीय प्रशासनको तारो बन्नु हुन्थ्यो । कतिपय बेला प्रजिअले फोन गरेर उहाँलाई धम्क्याउँथ्यो पनि । तर, उहाँ आफ्नो आस्थाबाट कहिले पछाडि फर्कनु भएन । त्यसै क्रममा २०४० सालतिर उहाँ जेल पर्नुभयो । मनमोहन अधिकारीका प्रिय थिए, विनय दाइ ।

कम बोल्ने, धेरै सोच्ने र प्रायः ठाडो गल्लीको उहाँको प्रेसमा उहाँ लेखेर बसिरहनुहुन्थ्यो । त्यतिबेला म पनि ‘मायालु’ मनोरञ्जन पत्रिका र पाल्पाली साहित्यिक पत्रिकामा आवद्ध थिए । कहिलेकाहीँ सुझाव लिन म उहाँकहाँ पुग्थे । त्यतिबेलाका युवा हामी । हामीलाई जहिले पनि उहाँले हौसला दिनुहुन्थ्यो । त्यो दिनको झल्को अहिले पनि मेरो मन मस्तिष्कमा आइरहन्छ ।

अन्त्यमा, विनय दाइप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । अलविदा विनय दाइ !

प्रतिक्रिया दिनुहोस्